सन् २०२१ को 'गोल्डेन ग्लोब्स' अवार्डका लागि फिल्म चयन प्रक्रियाका केही नियम फेरबदल भएका छन्। आयोजक हलिउड फरेन प्रेस एसोसियसनले विदेशी भाषी फिल्महरु सिनेमा हलमा सार्वजनिक हुन नपर्ने घोषणा गरेको हो।
कोरोना भाइरस संक्रमणका कारण जारी लकडाउने सिनेमा क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै आवश्यक परिवर्तन गरिएको फस्टपोस्टले जनाएको छ।
यसअघि विदेशी फिल्महरु सम्बन्धित देशमा अक्टोबर १ अघिसम्ममा सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने नियम थियो।
अब सन् २०२० को मार्च १५ देखि प्रदर्शन मिति तय गरेको फिल्महरुले पनि सहभागिता जनाउन पाउने छन्। सबै देशको सिनेमाघरहरु नखुलेका कारण अन्य कुनै पनि देशमा प्रदर्शन गरिएका वा कुनै पनि प्ल्याटफर्ममार्फत् प्रदर्शन गरिएका फिल्महरु सहभागी हुन पाउने छन्।
टिभी, डिजिटल स्ट्रिमिङ, 'पे पर भ्यू', केबल च्यानल सब्सक्रिप्सन वा अन्य माध्यमको प्रयोगमार्फत् प्रदर्शन भएका फिल्मलाई योग्य मानिने जनाइएको छ।
अवार्डको निर्णायक टोलीले पनि फिल्म एकसाथ बसेर ठूलो पर्दामा हेर्ने छैनन्। हलिउड फरेन प्रेसले स्क्रिनिङ लिंक वा डिभिडी कपी उपलब्ध गराउने छ र निर्णायक एवं अन्य सदस्यले घरमै बसेर हेर्ने व्यवस्था मिलाइने छ।
गोल्डेन ग्लोब्स अवार्डको ९३ औं संस्करण टिना फे र एमी पोएह्लरले संचालन गर्नेछन्। अवार्ड समारोहको मिति भने तोकिएको छैन।