PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर ज्ञवालीलाई नियम मिचेरै प्रत्यारोपण केन्द्रको जिम्मेवारी



कमलराज भट्ट

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर ज्ञवालीलाई नियम मिचेरै प्रत्यारोपण केन्द्रको जिम्मेवारी

काठमाडौं : आफ्नो उपचारमा संलग्न चिकित्सकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियम विपरीत नियुक्ति दिएका छन्।

प्रधानमन्त्री ओलीको गत महिना गरिएको दोस्रोपटकको मिर्गौला प्रत्यारोपणमा संलग्न प्रत्यारोपण सर्जन डा. प्रेम ज्ञवालीलाई स्वास्थ्य सेवा ऐनको भावना विपरीत भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक नियुक्त गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा बुधवार बसेको मन्त्रिपरिषद्ले डा. ज्ञवालीलाई चार वर्षका लागि केन्द्रको निर्देशक नियुक्त गरेको हो।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत सञ्चालित सरकारी केन्द्रीय अस्पताल हो। यहाँ स्वास्थ्य सेवा अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका चिकित्सक मात्र निर्देशक बन्ने प्रष्ट नियम विपरीत प्रधानमन्त्री ओलीको निर्देशनमा शिक्षा मन्त्रालय मातहतको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागमा कार्यरत डाक्टर ज्ञवालीलाई केन्द्रको निर्देशक नियुक्त गरिएको स्रोतको दावी छ।

मानव अंग प्रत्यारोपण विकास समितिको गठन आदेश २०६९ को नियम ६ को उपनियम २ अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक हुन नेपाल सरकारले मानव अंग प्रत्यारोपण सम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाको चिकित्सकहरु मध्येबाट कार्यकारी निर्देशकको नियुक्ति हुने व्यवस्था छ। तर, गठन आदेशको नियम विपरीत स्वास्थ्य सेवाका चिकित्सक निर्देशक हुनुपर्ने केन्द्रमा शिक्षा मन्त्रालय मातहतको शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई निर्देशक बनाउनु नियमको ठाडो उल्लंघन भएको  पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र बताउँछन्।

‘स्वास्थ्य मन्त्रालय मातहत सञ्चालित केन्द्रीय अस्पतालमा त्रिभुवन विश्वविद्यालय मातहत सञ्चालित शिक्षण अस्पतालको चिकित्सक ल्याउनु स्वास्थ्य सेवा ऐन र त्यसको स्पिरिटका आधारमा बनाइएको गठन आदेशको विरुद्ध हो। यसो गर्न पाइँदैन,’ उनले भने।   

शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई मनपरि तरिकाले स्वास्थ्य मन्त्रालय मातहतको सरकारी केन्द्रीय अस्पतालको निर्देशक बनाएको यो पहिलो घटना भएकाले तत्काल खारेज गर्नु पर्ने डा. मिश्र बताउँछन्। व्यक्तिका लागि कानून परिवर्तन गर्नु अर्को अपराध भएको बताउँदै डा. मिश्रले प्रश्न गरे, ‘शिक्षा मन्त्रालय मातहतको कर्मचारीलाई स्वास्थ्य मन्त्रालय मातहतको अस्पतालको निर्देशक बनाएपछि उसले गरेका अनियमितता सम्बन्धी कामको विभागीय कारवाही शिक्षाले गर्छ कि स्वास्थ्यले?’

वीर अस्पताल वा केन्द्रकै वरिष्ठ चिकित्सकमध्ये निर्देशक बनाउनु पर्दथ्यो तर नियम मिचेर शिक्षण अस्पतालको चिकित्सकलाई स्वास्थ्य मन्त्रालय मातहतको सरकारी अस्पतालको निर्देशक बनाउनुले स्वास्थ्य सेवामा कार्यरत चिकित्सकको मनोबल खस्केको नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले बताए। उनले भने, ‘स्वास्थ्य मन्त्रालय मातहतको अस्पतालमा स्वास्थ्यकै चिकित्सक निर्देशक हुनु पर्छ।’  अस्पतालको निर्देशक कुनै राजनीतिक नियुक्ति नभएकाले कुनै व्यक्ति विशेषका लागि रातारात कानून परिवर्तन गर्नु उपयुक्त र कानूनसम्मत नभएको महासचिव रिजालको भनाई छ।

वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसूति गृहजस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पनि स्वास्थ्य मन्त्रालय मातहत संचालित केन्द्रीय अस्पताल हो। मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशक बन्न वीर अस्पतालमा योग्य चिकित्सक हुँदाहुँदै पनि स्वास्थ्य मन्त्री ढकालले नियम विपरीत निर्णय गराएको स्रोतको दावी छ। केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल गत हप्ता सकिए पछि सरकारले नयाँ निर्देशक बनाएको हो।

मिर्गौला, कलेजो, मुटु लगायतका मानव अंग प्रत्यारोपण गर्ने उद्देश्यका साथ सरकारले २०६९ सालमा भक्तपुरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना गरेको थियो। २०७० देखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यो केन्द्रले अहिलेसम्म ६७५ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ। नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेर आफूलाई अब्बल अस्पतालको रुपमा केन्द्रले उभ्याएको छ। सयौं व्यक्तिले नि:शुल्क डायलासिस सेवा पाइहेका छन्।

नेपालमा पहिलो पटक ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला जिवित व्यक्तिमा प्रत्यारोपण गरेर यो कार्यक्रमलाई अगाडि बढाइरहेको केन्द्रमा यसरी नियम विपरित निर्देशक नियुक्त गरिएपछि यसको भविश्यमाथि नै संकट पैदा हुने त होइन भन्ने शंका व्यक्त गरिएको छ।

डा. ज्ञवालीको नियुक्तिविरुद्ध वीरका केही चिकित्सकले अदालत जाने तयारी गरेका छन्। सरकारी चिकित्सक संघले पनि विरोध गरेको छ।

यस विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारी आफूहरु कोरोना भाइरसको काम व्यस्त रहेको भन्दै बोल्न मानेनन्। स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले पनि आफूलाई यसबारे जानकारी नभएको बताए। ‘नियुक्तिमा प्रश्न उठेपछि होला कि?’ अनभिज्ञता प्रकट गर्दै उनले भने, ‘मलाई जानकारी छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell