PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कोरोनाको यो 'हट स्पट' जहाँ टोलभरिका लागि एउटामात्र छ धारो : थ्रोट स्वाब दिन पनि डराए स्थानीय



राधेश्याम पटेल

कोरोनाको यो 'हट स्पट' जहाँ टोलभरिका लागि एउटामात्र छ धारो : थ्रोट स्वाब दिन पनि डराए स्थानीय

वीरगंज : फोटोमा वीरगंजका मेयर विजयकुमार सरावगी थ्रोट स्वाब सङ्कलन गराइरहेका देखिन्छन्। यो तस्बिर कोरोना सङ्क्रमणको हटस्पट बनेको वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाको मुस्लिम बस्तीको हो। मालपोत कार्यालय पर्साको ३ सय मिटर पश्चिममा पर्ने यो बस्तीमा खानेपानीको धारा पनि छ।

यही बस्तीको एकै परिवारका १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीयहरू त्रसित बनेका छन्। यतिसम्म डराएका छन् कि थ्रोट स्वाब सङ्कलन गर्न समेत मानेका थिएनन्। वीरगंजका मेयर विजयकुमार सरावगी पनि धेरै वडामा राहत बाँड्न सक्रिय भएकाले दुईवटा उद्देश्य बोकेर जोखिम क्षेत्रको रूपमा चिनिएको छपकैयामा गएका थिए। राहत दिनु र स्वाब संकलन गर्नु उनको मिसन। गत बिहीवार उनी गएर स्थानीयलाई सम्झाइबुझाइ गरे। त्यसपछिमात्रै नमुना सङ्कलन गर्न स्थानीय तयार भए।

साँघुरो बस्तीको बीचमा देखिने धारा करिब १० परिवारको सामूहिक खानेपानीको स्रोतको रूपमा प्रयोग भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। त्यस कारण कोरोना फैलाउन धारोले सघाएको हुनसक्ने स्वास्थ्यकर्मीहरुको तर्क छ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ मातहत रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले छपकैयाको समुदायमा धेरै जनामा कोरोना सङ्क्रमण बढ्नुमा एउटै धारोको प्रयोग हुनसक्ने बताए।

‘बस्तीमा जाँदा १०/१२ घरको बीचमा एउटै खानेपानीको चापाकल छ,’ उनले भने, ‘जसका कारण रोग सबै घरमा प्रवेश पाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।’

स्वास्थ्य मन्त्रालयका अनुसार वीरगंजमा शनिवार बिहान ८ बजे जारी गरिएको विज्ञप्ति अनुसार सोही बस्तीका ६२ वर्षीय पुरुषमा थप कोरोना पुष्टि भएको जनाइएको छ। शनिवार पुष्टि भएका वृद्ध सोही टोलमा किराना पसल चलाउँदै आएका थिए। यसअघि १८ जनाको सङ्क्रमित परिवारका अभिभावक ६५ वर्षीय पुरुषसँग उनको पसल सञ्चालनको क्रममा बोलचालमात्र भएन सँगै धेरै समय बिताएका थिए।

१८ जनाको परिवार मध्येका ३६ वर्षीय युवकबाट रोगको सङ्क्रमण फैलेको चिकित्सकको बुझाइ छ। उनी नेकपाका स्थानीय नेता थिए जो तीन दिन वडाको विभिन्न ठाउँमा घुमी राहत बाँड्न सक्रिय रहे। एक अर्का व्यक्ति चाहिँ वीरगंज ३ छपकैयाका बासिन्दा हुन्। ६५ वर्षीय उनी वीरगंज महानगरका सफाइ कर्मचारी हुन्। उनसहित एउटै वडाका २० जना कोरोना सङ्क्रमित भेटिएका छन्। यो बस्ती नारायणी अस्पताल भन्दा २ सय मिटर पश्चिममा पर्छ।

त्यसैगरी, वीरगंजको वडा नम्बर २ घुसुकपुर र वडा नम्बर १६ इनार्वामा १/१ गरी पर्सामा कुल २२ जना सङ्क्रमित भेटिएका हुन्। यी सबैमा भारतीय जमातीबाट रोग सरेको चिकित्सकको बुझाई छ।

भारतीय जमातीहरु भारतको दिल्ली र उत्तर प्रदेशका हुन्। उनी फागुन ३,४ र ५ गते चलेको धार्मिक सभामा सहभागी भई मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा हुँदै चैत १० गते वीरगंज आइपुगेका थिए।

उनीहरू आएको भोलिपल्ट नै लकडाउन सुरु भएपछि धेरे ठाउँमा घुम्न पाएनन्। तर, छपकैयाकै मस्जिदमा उनीहरूसँग केही मस्जिदका अगुवाहरू भेटिएका थिए। जसमध्ये वीरगंज महानगरका सफाइकर्मी पनि थिए। अब वीरगंजको नारायणी अस्पतालमा पर्साका २२, बाराका २, रौतहटका ३, सर्लाहीका १ र भारत, उत्तर प्रदेशका एक जना गरी कुल २९ जनालाई आईसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ। यीमध्ये ४ जना बाहेक सबैको अवस्था सामान्य रहेको र कोरोनाको लक्षण नदेखिएको अस्पतालले जनाएको छ। ४ जना दीर्घ रोगी भएकोले उनीहरूको औषधी उपचार अस्पतालले गम्भीरतापूर्वक गरिरहेको जनाइएको छ।

दुई दिनमा ५६६ जनाको थ्रोट स्वाब सङ्कलन

पर्सामा शुक्रवार र शनिवार गरी ५ सय ६६ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ। नारायणी अस्पतालका प्याथोलोजिस्ट डा. नीरा पाठकका अनुसार वैशाख ११ गतेदेखि थ्रोट स्वाब सङ्कलन सुरु गरिए पनि वैशाख २७ अर्थात् १७ दिनमा १ हजार भन्दा बढीको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको बताइन्।

उनले बुधवार भेटिएका एकै परिवारका १७ जनाको सम्पर्कमा आएका मानिसहरु, शनिवार पुष्टि भएका पुरुषको परिवार तथा पर्साको विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्ति, सुरक्षाकर्मी र सर्वसाधारण गरी पछिल्लो २ दिनमा ५ सय ६६ जनाको स्वाब सङ्कलन भएको हो। शुक्रवारमात्र २ सय ९७ वटा र शनिवार २ सय ६९ वटा स्वाब सङ्कलन भएको थियो। उनले दिएको जानकारी अनुसार वडा न २ र १६ (घुसुकपुर, छपकैया र इनार्वाको क्षेत्र)मा १०७, वडा नं ३ छपकैयाका ४० जना, वडा २६ सुगौली विर्ताबाट १२० गरी शनिवार मात्रै २६९ वटा नमुना सङ्कलन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell