
टर्कीका क्रान्तिकारी संगीतकर्मी इब्राहिम गोसेकको मृत शरीर विवादमा रह्यो। पार्थिव शरीरलाई गृह नगर केसेरी पुर्याउने र त्यही दफन गर्ने बताइएको थियो। तर, टर्कीको फासिस्ट समूहले केसेरीमा उनलाई दफन गर्न नदिने चेतावनी दिएका थिए।
कारण, उनी संलग्न सांगीतिक ब्यान्ड 'ग्रुप योरम' राज्य विरोधी भएको आरोप लाग्नु। सरकारले उनीहरुविरुद्ध विभिन्न कारवाही गर्नु, सदस्य पक्राउ पर्नु, सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाइनुका कारण इब्राहिम अनशन बसेका थिए।
स्वास्थ्यमा खराबी देखिएपछि ३२३ औं दिनमा अनशन तोडेका थिए। भनेका थिए,'ब्यान्ड, परिवार र आम स्रोताको माग पूरा गर्न अनशन तोडेको हुँ। तर, यो लडाई जारी रहन्छ। किनकि हाम्रो आवाज अब दूनियाँले सुनिसकेको छ।'
तर, अनशन तोडेको भोलिपल्टै अर्थात् मे ८ मा उनको निधन भयो। आइसियूमा उपचाररत् उनको मृत्युको खबर एक दिन पछि मात्र सार्वजनिक गरियो किनकि उनको शव दफन बारे विवाद भइरहेको थियो।
फासिस्ट समूहले केसेरीमा शरीर दफन गरिएपनि पछि चिहानबाट शरीर निकाल्ने धम्की दिएको थियो। विवादबिच उनको आइतबार मात्र अन्तिम संस्कार पूरा भयो। तर, उनको शरीर दफन गरिएको केही घण्टामै उनको चिहानमाथि चढाइएको फूलहरु गायब भए।
ग्रुप योरमको आधिकारिक इन्स्टाग्राममार्फत् फूल चोरी भएको जानकारी गराइएको छ। लेखिएको छ,'अन्त्येष्टीको समेत आदर नगर्नेहरूले चिहानमा राखिएको फूल।'
ब्यान्डले फासिज्ममा नैतिकता नहुने आरोप समेत लगाएको छ।
प्रतिक्रियामा मानिसहरुले लेखेका छन् – 'उनीहरुमा साँच्चै मानवता छैन।' केहीले उक्त फूल बेच्न चोरिएको आरोप समेत लगाएका छन्।
गोको नाम गरेका एक प्रयोगकर्ताले लेखेका छन् – 'तपाईंहरु आफ्नो शिर नझुकाउनुस्। ठाडो उभिनुस्। किनकि यो तपाईंको होइन देशको लाजको विषय हो।'
मृतक ४१ वर्षीय इब्राहिम गोसेक ब्यान्डका गितारिस्ट थिए। 'सत्यको पक्षमा गाउने अधिकार'का लागि लडेका उनको सम्मान स्वरुप मानिसहरु सामाजिक सञ्जालमा सक्रिय छन्। त्यस्तै फासिस्ट समूहको विरोध गर्दै शनिबार राती टर्किस स्रोताहरुले आ-आफ्नो घरको छतमा उक्लिएर भाडा बजाएका थिए।