काठमाडौं: राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले अर्थमन्त्री युवराज खतिवडालाई श्रमिको जीवन चल्ने बजेट ल्याउन सुझाव दिएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा भाग लिँदै विडारीले विहान सबेरै उठ्ने र बेलुका अबेर सुत्नेका लागि बजेट चाहिएको बताए। श्रमिकको जीवन कसरी सहज बनाउने भन्ने aजेट अहिलेको आवश्यकता भएको विडारीको तर्क छ।
उनले स्वादिष्ट खाना खाएर पचाउनेहरुका निम्ति अहिलेको बजेटको काम नभएको टिप्पणी गरे। विडारीले १४ देखि ६० वर्ष सम्मका हरेकलाई वर्षमा एक दिन श्रमदान गर्ने नीति ल्याउन सरकारलाई सुझाएका छन्।
लकडाउन तथा कोरोनाले ल्याएको विपत्तिलाई सरकारले अवसरका रुपमा उपयोग गर्नुपर्ने बिडारीको तर्क छ। 'राहतका असहायलाई चाहियो। लकडाउनका समयमा पनि रोजगारी हुन्छ नी। विदेशबाट आएका नेपालीलाई कसरी काममा लगाउने?' उनले प्रश्न गरे। साना उद्योगलाई सहायता प्रदान गर्नुपर्ने र नेपाली उत्पादनलाई प्रवद्धन गर्नुपर्ने विडारीको भनाई छ।
उनले बजेटको दुरुपयोग भएको तथा भ्रष्टाचार भएको भन्दै सरकारले रोक्नुपर्ने माग गरे।
'विलासिताका सामानमा ट्याक्क रोक्ने। सम्पतिलाई कतिले लुकाएर राखेका छन्। नयाँ योजना बनाउने। धेरै बजेट एक पटकका लागि मात्रै दिने। ऐन बनाएरमात्रै बजेट दिने, निर्देशिका बनाएर नदिने। सरकारी मोटर यो वर्ष नकिन्ने। सरकारी काममा मात्रै ति मोटरको प्रयोग गर्ने। कस्तो मज्जा गरिदियो कोरोनाले, ' सरकारलाई सुझाव दिँदै विडारीले भने।
विडारीले संसद विकास कोष खारेज गर्न पनि माग गरेका छन्। विकासका लागि स्थानीय तह भएको भन्दै बजेट सांसदलाई बजेट दिएर अपमान गरेको उनको आरोप छ। सांसदलाई पैसा दिएर बजेटको दुरुपयोग नगर्न विडारीले सुझाव दिएका छन्।