PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

दिल्लीबाट पाँच दिन साइकल चलाएर तीन जना आए पर्सा, काठमाडौँबाट विहार जार्ने क्रम पनि उस्तै



राधेश्याम पटेल

दिल्लीबाट पाँच दिन साइकल चलाएर तीन जना आए पर्सा, काठमाडौँबाट विहार जार्ने क्रम पनि उस्तै

वीरगंजः नेपाल र भारत दुवैतर्फ लकडाउन रहे पनि आगन्तुक भारतबाट नेपाल र नेपालबाट भारत भित्रिने क्रम रोकिएको छैन। सीमावर्ती क्षेत्रमा खटिएका दुवै देशका सुरक्षाकर्मीकै लापारवाहीका कारण दुवै देशबाट रातिको समयमा एक देशबाट अर्कोमा प्रवेश गर्ने क्रम जारी रहेको छ।

छुट्टाछुट्टै नाका भएर एकै दिन तीनजना नेपाली घर आइपुगेका छन्। एक जना भारतीय  महिला माइतीघर आएकी छन्। रोजगारको क्रममा भारतको दिल्लीमा रहेका उनीहरू पाँच दिनको साइकल यात्रा गरेर पर्साको निचुटा आइपुगेका हुन्। सीमावर्ती भारतीय गाउँ इनर्वा आएपछि जानकी टोल र पाँडेपुर छुट्टाछुट्टै नाका भएर शुक्रवार साँझ तीनजना घर आइपुगेका थिए।

पर्सा, पटेर्वा सुगौली गाउँपालिकाको निचुटा माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनमा हाल उनीहरूलाई राखिएको पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य संयोजक जगन्नाथ साह कानुले बताए।

क्वारेन्टाइनमा रहेका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। क्वारेन्टाइनमा हरेक व्यक्तिका लागि छुट्टै शय्या, शौचालय र खानपिनको व्यवस्था गाउँपालिकाले गरेको छ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडाइ गरेको दाबी गरे तापनि ग्रामीण नाका भएर आउने–जाने क्रम नरोकिएको स्थानीयहरूको भनाई छ।

एक साताअघि पनि भिस्वा, जानकीटोल र भिखमपुर भएर भारतको गोरखपुरबाट ६ जना नेपाली पटेर्वा सुगौलीमा आएका थिए। उनीहरूलाई पनि क्वारेन्टाइनमा राखिएको छ।

चिउरा चाउचाउ खाँदै तीन दिनमा वीरगंज

लकडाउनको ४७ दिन बितिसक्दा पनि काठमाडौँ उपत्यकामा दैनिक ज्यालादारी गरी गुजारा गर्दै आएका भारतीय कामदार पैदल घर फर्किने क्रम जारी छ। आइतबार भारत, विहार, रामगढवाका दश जनाको टोली काठमाडौँबाट घर फर्किँदै गरेको अवस्थामा परवानीपुर ड्राइपोर्ट चोक पुगेका छन्।

काठमाडौँमा तरकारी बेच्ने र केही कारखानामा काम गर्ने मजदूर रहेको उनीहरूले बताए। डेढ महिनादेखि काम बन्द हुँदा समस्यामा परेको उनीहरूको भनाई छ। च्युरा र चाउचाउ खाँदै तीन दिनमा उनीहरू वीरगंज आइपुगेका हुन्।

ड्राइपोर्ट हुँदै उनीहरू प्रसौनीभाठा र धोरे नाकाबाट विहार प्रवेश गर्ने योजना उनीहरूको छ। उनीहरूमध्ये रामप्रवेश साहले भने, ‘बुबाले फोन गरेर जसरी पनि आइज भनेर बोलाउनुभयो र बाटो देखाएपछि सोही अनुरूप हामी पैदल हिँडेरै घर फर्किँदैछौँ। तीन दिनदेखि राम्ररी सुत्न पाएका छैनौँ। हिँड्दाहिँड्दै चप्पल पनि खिइसकेको छ। घर पुगेपछि मात्र राहत पाइन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell