PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

कलंकीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन, 'भारतले नेपाली आमाको छातीमा छुरा चलायो'

कलंकीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन, 'भारतले नेपाली आमाको छातीमा छुरा चलायो'

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाली भूमिमा भारतले सडक बनाएको विरोधमा जनता दरबार नामक संगठनले कलंकीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ।

आज साँझ उक्त संगठनको कार्यकर्ताले मोदीको पुत्ला दहन गर्दै नाराबाजीसमेत गरेको हो।

पुत्ला दहनअघि संगठनका अध्यक्ष एसपी शाहले भारत उक्त कदमबाट पछि नहटे राम्रो नहुने चेतावनीसमेत दिए। भने, 'हामी त्यसको घोर भर्त्सना गर्छौं। नेपाल सरकारलाई केही थाह छैन। प्रेस विज्ञप्ति निकाल्दा पनि नलायकीपन देखायो। लिपुलेकको बाटो भएर मानसरोवर जानेलाई कारवाही गर्नेछौं। जहिले पनि हेपाह प्रवृत्ति छ। नेपाल आमाको छातीमा छुरा चलाएको छ।'

संगठनले जलाएको पुत्ला केही बेरमा प्रहरीले नियन्त्रणमा लिई आगो निभाएको थियो। संगठनले नेपाल सरकार भने आफ्नो भूमि मिच्दा पनि केही थाह नपाए झैं कानमा तेल हालेर बसेको आरोप लगाए।

उनीहरुले 'नलायक सरकार मुर्दावाद,' 'बरु लडी मार्ने छौ स्वाधीनताका निम्ति लान दिन्नौ कसैलाई माटो एक चिम्टि' लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell