PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

बैतडीमा फेला पर्न थाले स्क्रब टाइफस र औलोका बिरामी



रासस

बैतडीमा फेला पर्न थाले स्क्रब टाइफस र औलोका बिरामी

बैतडी : सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन्। पछिल्ला केही वर्षयता बैतडी जस्ता पहाडी जिल्लामा पनि औलोका बिरामी देखिन थालेका हुन्। इनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने औलो ज्वरोका बिरामी यो वर्ष पनि देखिन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

जिल्लाको शिवनाथ गाउँपालिका–२ जोलापानीकी ६ वर्षीया अस्मिता साउदमा औलो रोग भएको पुष्टि भएको छ। केही दिनअघि ज्वरो आएकी साउँदको परीक्षण गर्दा औलो देखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र महताले बताए। साउदको अहिले उपचार भइरहेको छ। एक जनामा औलो देखिएपछि उनका घरपरिवारका अन्य सदस्यहरुको औलो परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ। पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले सुत्ने बेला झूलको प्रयोग गरेर सुत्ने, घर वरिपरिको वातावरण सफा राख्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।

यस्तै बैतडीको दशरथचन्द नगरपालिका-६ का एक ४८ वर्षीय पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ। ती पुरुषमा अत्यधिक ज्वरो आउने भएपछि धनगढीको माया मेट्रो अस्पतालमा चेकजाँच गर्दा स्क्रब टाइफस पुष्टि भएको हो। माइटका कारण सर्ने यो रोगबाट गत साल बैतडीमा ४० भन्दा बढी सङ्क्रमित भएका थिए।

खाद्यान्न वितरण 

जारी लकडाउनका कारण समस्यामा परेका नागरिकलाई मेनेजर तेजबहादुर चन्द ट्रस्टले खाद्यान्न वितरण गरेको छ। बैतडीको दशरथचन्द नगरपालिका-५ का गरीब तथा असहाय परिवारलाई ट्रस्टले खाद्यान्न वितरण गरेको ट्रस्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए। वडा नम्बर ५ का दुई सय परिवारलाई खाद्यान्नस्वरुप गहुँ वितरण गरिएको छ। परिवार संख्याका आधारमा उनीहरुलाई १५ केजी, २० केजी र २५ केजीका दरले गहुँ वितरण गरिएको हो।

समस्यामा परेका नागरिकलाई सहयोग होस् भन्ने हेतुले ट्रस्टद्वारा राहत वितरण गरिएको जनाइएको छ। दशरथचन्द नगरपालिका-५ स्थित मेनेजर तेजबहादुर चन्द ट्रस्टले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell