PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

लकडाउनले मजदुरलाई बनायो व्यवसायी, साइकलमा राखेर घरघरमा पुर्‍याउन थाले तरकारी र फलफूल



रासस

लकडाउनले मजदुरलाई बनायो व्यवसायी, साइकलमा राखेर घरघरमा पुर्‍याउन थाले तरकारी र फलफूल

  • नारायण अधिकारी-

चितवन : लकडाउनका कारण कतिपय मजदुरलाई दैनिक गुजारा गर्न समस्या परेको भएपनि यहाँका मजदुर भने व्यवसायी बनेका छन्। लकडाउन अघि मजदुरीमा लागेका अहिले तरकारी, फलफूल र हरियो मकै जस्ता वस्तुको बिक्री गर्ने व्यवसायमा लागेका छन्। मजदुरले आफैँ ठेला, रिक्सा, साइकल किनेर त्यसमार्फत घरघरमा सामान पुर्‍याउन थालेका हुन्।

साइकलमा तीन सय रुपैयाँको टोकरी (क्रेट) राखेपछि उनीहरुको व्यवसाय शुरु हुने गरेको छ। कालिका नगरपालिका–४ का सोम थापामगर टिप्परका चालक थिए। लकडाउनसँगै टिप्पर चल्न छोडेपछि आजभोलि उनी तरकारी व्यवसायी बनेका छन्।

पदमपुर क्षेत्रमा उत्पादित तरकारी खरीद गरेर भरतपुर क्षेत्रमा बिक्री गर्नु उनको अहिले दैनिकी बनेको छ। त्यसबाट दैनिक सात/आठ सय रुपैयाँ बचाउन सकिने उनको भनाइ छ। जुन तरकारी बिक्री हुन्छ, त्यही तरकारी किनेर ल्याउने गरेको उनले बताए। बिहान दुई/तीन घण्टा समय दिएपछि त्यति कमाई हुने थापामगरको भनाइ छ।

पदमपुरका सोम थापामगरको घरमा रहेको सानो किराना पसल सामानको अभावले चल्न पाएको छैन तर उनले आजभोलि तरकारीको व्यापार गर्न थालेका छन्। किराना पसलमा नगदमा सामान ल्याएर उधारोमा बाँड्नुभन्दा बिहानको समयमा तरकारी बिक्री गर्दा त्यसले बढी फाइदा हुने गरेको उनले बताए।

भरतपुर क्षेत्रमा ई–रिक्सा चलाउँदै आएका विष्णु कार्की यतिबेला हरियो मकै बिक्री गर्न व्यस्त छन्। ई–रिक्सा नचलेपछि बिहानै पश्चिम चितवन र गैँडाकोट पुगेर बारीबाटै मकै ल्याएर बिक्री गर्ने गरेको उनले बताए। राम्रो मिहिनेत गरे एकै दिन आठ/नौ सय रुपैयाँ कमाई गर्न सकिने उनले बताए। बिहान दुई/तीन घण्टा खट्दा यति आम्दानी हुने गरेको उनको भनाइ छ।

नारायणगढमा रहेको महानगर फलफूल तथा तरकारी बजार लकडाउनसँगै बन्द गरिएको छ। जसका कारण स्थानीय उत्पादन उपभोक्तासम्म लैजान समस्या भइरहेका बेला थपिएका यस्ता व्यापारीले घरघरमा तरकारी र फलफूल पुर्‍याउन थालेपछि उपभोक्ता लाभान्वित भएका छन् भने स्थानीय उत्पादनले बजार पाएको छ।

सो बजारका प्रबन्ध निर्देशक एवं फलफूल तरकारी थोक व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष थिरप्रसाद धिताल घरघरमा तरकारी बिक्री गर्नेको संख्या बढेको बताउँछन्। उनका अनुसार कागती, आलु, प्याज, खरबुजा जस्ता केही भारतीय उत्पादन उनीहरुले बेचेको भए पनि अन्य स्थानीय उत्पादनलाई घरघरमा पुर्‍याउन थालेका हुन्। मजदुरी गर्नेहरुले व्यवसाय गर्न थालेको उनले बताए।

बजार बन्द रहेका बेला उनीहरुका कारण उपभोक्ताले आवश्यक तरकारी, फलफूल किन्न पाएको धितालले बताए। कतिपयले ठेलामा तरकारी, फलफूल बिक्री गर्ने गरेका छन्। ठेला नहुनेले साइकल पछाडि क्रेट बाँधेर वा डोको झुण्ड्याएर पनि व्यवसाय गरिरहेका छन्। 

अण्डा र जिउँदो कुखुरा घरघरमा पुर्‍याउनेको संख्या पनि बढ्दो छ। जिल्लामा एक चरणको राहत वितरणपछि पुनः राहत वितरण गरिएको छैन। लकडाउनको समयमा राहतको पर्खाइमा भन्दा गुजारा टार्न व्यवसायमा लाग्नेहरु बढ्दै गएका छन्।

जिल्लाको कालिका नगरपालिका क्षेत्रमा केरासँगै तरकारी पाइन्छ भने पश्चिम चितवन तरकारीको पकेट क्षेत्र हो। पूर्वी चितवनका विभिन्न क्षेत्रमा पनि तरकारी पाइन्छ। यद्यपि यहाँ बिक्री गर्नेहरुले कालिका नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका उत्पादनलाई बजारमा ल्याउने गरेका छन्। हरियो मकै भने गैँडाकोटबाट पनि ल्याउने गरिएको छ। लकडाउनको सदुपयोग गर्न सकेमा जीविकोपार्जन गर्न गाह्रो छैन भन्ने सन्देश यहाँका मजदुरहरुले दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell