
काठमाडौँः पछिल्लो समय नेकपाभित्र आन्तरिक गुटको द्वन्द्व उत्कर्षमा छ। सरकार टिकाउने र गिराउनेसम्मका गुट झगडाले एक अर्का समूहबीच घोचपेच जारी छ। भारतले हालै नेपाली भूमि लिपुलेकसमेत प्रयोग गरी मानसरोवर जाने सडकको ट्रयाक विस्तार गरेपछि नेपालमा बहस जारी छ। सार्वभौम राज्यको भूगोलको विषय जोडिएको घरेलु मामिलामा पनि नेकपाका दुई प्रभावशाली नेता भीडेका छन्।
उनीहरू दुईको फरक गुटको द्वन्द्व सामाजिक सञ्जालमा छरिएको छ। नेकपाका सुदूरपश्चिम इञ्चार्ज समेत रहेका भीम रावल र प्रदेश नम्बर ५ का बहालवाला मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा एक अर्काप्रति कटाक्ष गरेका छन्। पार्टी गुटमा रावल वरिष्ठ नेता माधव नेपाल समूहसँग छन्। पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीसँग छन्।
लिपुलेक प्रकरणमा संसदीय समितिदेखि सामाजिक सञ्जालमा आक्रामक रहेका रावलको एउटा भिडियो चर्चामा छ। समिति सभापतिलाई समेत र्याखर्याख्ती पार्दै सरकारविरुद्ध कडा प्रतिवाद् गरेका रावलले सरकारले जारी गरेको वक्तव्यमा समेत प्रश्न गरे। रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा विवाद समेत भयो। रावलले हस्ताक्षर नभएको विज्ञप्ति किन भनेर गरेको प्रश्नमा मन्त्री ज्ञवालीले पनि कूटनीतिक अभ्यास बुझ्न जवाफ दिए।
मन्त्रीसँगको विवादपछि रावल सामाजिक सञ्जालमा पुनः आक्रामक भए। रावलले एकपछि अर्को आक्रमण जारी राखेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आरोप प्रत्यारोपभन्दा सार्थक पहलको बहस संसदीय समितिमा हुनुपर्ने सुझावसहित कटाक्ष गरेका छन्।
पोखरेलले भनेका छन्, ‘विगतमा गृह, रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हाल्नुभएका र सुदूरपश्चिम प्रदेशको इञ्चार्ज समेत रहनुभएका कमरेड भीम रावलजीले कालापानीलगायत नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफूले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खबर सुन्न पाएको भए खुसीको अनुभूति हुने थियो। राष्ट्रियताको विषयमा आरोप प्रत्यारोपभन्दा बलियो एकता र सार्थक पहलको खाँचो पर्दछ। संसद्का समिति र संसदभित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ। आपसी कटाक्ष र विवादले राष्ट्रको पक्ष नै कमजोर बन्न पुग्छ। सीमा अतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो।’
पोखरेललाई रावलले ट्वीटरमा लामो जवाफ लेखेका छन्। सरकारमा रहेका र प्रमको निकट ठानिने साथीहरूले आत्म निरीक्षण गर्दै अरूलाई अर्ती नदिन भन्दै रावलले कटाक्ष गरेका छन्।
उनले लेखेका छन्, ‘नेपालको संविधान, नेकपाको सिद्धान्त र नीति विपरीतका कामबारे समयमै औँल्याउनु सरकारलाई रचनात्मक सहयोग हो। गलत कामको आँखा चिम्लेर समर्थन गर्नु सरकार र पार्टीलाई गल्ती गरिरहन दिएर अन्ततः विनाशतर्फ जान दिनु हो। सबैको अनुभव र ज्ञानलाई साँच्चै नै सदुपयोग गर्ने मनसाय पार्टी र सरकारको जिम्मेवारी लिएकाहरूमा छ भने राष्ट्रिय महत्त्व र दीर्घकालीन प्रभाव राख्ने विषयमा पार्टीमा संस्थागत र विधिसम्मत छलफल गरौँ। निष्कर्षको आधारमा पार्टी र सरकार चलाऔँ। सामूहिक बल, बुद्धि लगाएर देश र जनताको हितमा समर्पित रहने असल परिपाटी कायम गरौँ। पार्टी स्थायी कमिटी बैठक तुरुन्त बोलाइयोस्। राज्यसत्ताको दुरुपयोग गरी गुटबन्दी गर्ने काम बन्द गरियोस्। अन्यथा आफ्ना गल्ती कमजोरी छोप्न अरूलाई दोष दिने आफू मनपरी गर्ने र अरूलाई अर्ती उपदेश दिने कुराको कुनै औचित्य रहन्न।’
सरकारमा रहेका र प्रमंको निकट ठानिने साथीहरूले आत्मनिरीक्षण गर्दै यतातर्फ पनि ध्यान दिनु उचित होलाः pic.twitter.com/TIRAlQWGWY
— Bhim Rawal, Ph. D (@BhimRawal179) May 10, 2020
पोखरेल र रावलको जुहारीमा पूर्वमन्त्री गोकुल बास्कोटाले भने समाधानको सूत्र खोजेका छन्।
ट्वीटरमा उनले सुझाव दिएका छन्, ‘चारदल चारतिर हैन एक ठाउँमा उभिऔँ, उत्तरपश्चिम सीमाको त्रिदेशीय विन्दु प्रमाणका आधारमा किटान गरौँ, सन्धि सम्झौता, दसी प्रमाण समावेश गरी नेपाली र अंग्रेजी भाषामा नेपालको आधिकारिक दस्ताबेज संसदबाट पास गरौँ। अनि भारत र चीनसँग छुट्टाछुट्टै वार्ता गरी सीमा विवाद हल गरौँ। २+१ हुन्न, मेरो मत।'
चारदल चारतिर हैन एकठाँऊमा उभिओै,उत्तरपश्चिम सीमाकाे त्रिदेशीय विन्दु प्रमाणका आधारमा किटान गराै,सन्धिसम्झाैता,दशीप्रमाण समावेशगरी नेपाली रअङग्रेजी भाषामा नेपालकाे आधिकारिक दस्तावेज सम्सद बाट पास गराै।अनि भारत र चीनसँग छुट्टाछुट्टै वार्ता गरी सीमा विबाद हल गराै।2+1 हुन्न,मेराे मत।
— Gokul Prasad Baskota (@GokulPBaskota) May 10, 2020