
पछिल्लो तथ्यांक अनुसार लकडाउन खुकुलो पारिएको केही दिनमै जर्मनीमा कोरोना भाइरस (कोभिड १९)को नयाँ संक्रमणको दर बढेको छ।
जर्मनीमा संक्रमण फैलिने दर १ भन्दा माथि पुगेको रोबर्ट कोच इन्स्टीच्युट (आरकेआई)ले बताएको बीबीसीले उल्लेख गरेको छ। यसको अर्थ एक जना संक्रमितले अन्य एक भन्दा बढी मानिसलाई संक्रमित बनाउन सक्छन्।
शनिवार हजारौँ मानिसहरु भेला भएर लकडाउन पूर्ण रुपमा हटाउनु पर्ने माग गरेसँगै यस्तो रिपोर्ट आएको हो। जर्मन चान्सलर एन्जेला मर्केलले १६ राज्य (प्रान्त)का प्रमुखहरुसँग छलफल गरेर बुधवार लकडाउनलाई व्यापक रुपमा खुकुलो पारेकी थिइन्।
लकडाउन खुलेसँगै सबै प्रकारका पसल तथा विद्यालयहरु खोल्ने अनुमति दिइएको थियो। त्यतिमात्रै नभई जर्मनीको मुख्य फुटबल लिग बुन्देसलिगा पनि अर्को हप्ताबाट सञ्चालन हुनेछ।
लकडाउन छिट्टै खुकुलो पार्नुपर्ने माग भइरहँदा देशभर विरोध प्रदर्शन पनि भएको थियो।
संक्रमितको संख्यालाई हेर्दा जर्मनी विश्वकै सातौँ नम्बरमा छ। शनिवार आरकेआईले सार्वजनिक गरेको तथ्यांक अनुसार जर्मनीमा १ लाख ६९ हजार २१८ संक्रमितमध्ये ७ हजार ३९५ जनाको मृत्यु भएको छ।
आउटब्रेक नियन्त्रण गर्न जर्मनीले चालेको कदमको प्रशंसा गरिएको थियो। व्यापक परीक्षण र प्रभावकारी लकडाउनको मद्यतले अन्य युरोपेली मुलुकको तुलनामा मृत्यु हुनेको संख्या कम गर्न जर्मनी निकै सफल भएको थियो।