कोरोना भाइरस विरुद्ध संसार लडिरहेको छ अहिले। विश्वका अधिकांश देशहरुमा अहिले लकडाउन चलिरहेको छ। लकडाउनको अवस्थामा व्यवसाय देखि शैक्षिक संस्थाहरु प्रभावित भएका छन्।
शैक्षिक संस्थाहरु प्रभावित हुँदा अहिले चर्चामा छ अनलाइन कक्षा। सामाजिक सञ्जालमा रुखको टुप्पोमा एउटा हातले झुण्डिएर अर्को हातमा मोबाइल लिएर अनलाइन कक्षा लिएको भन्दै तस्विरहरु भाइरल हुँदै छन्। अनलाइन कक्षा लिँदा लुक्दै रक्सी खाइरहेका भिडियो ट्रोल पनि देखिँदै छ।
शिक्षा मन्त्रालयले नयाँ भर्ना नलिन भन्दै निर्देशन पठाइसकेको छ। अर्कोतर्फ मुलुकको ठूलो विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न निर्देशिका जारी गर्दै फर्मल ड्रेस कोड र शिक्षकहरुलाई आधार गर्नुपर्ने भनेको छ। त्रिविले निर्देशिका जारी गर्दै अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको अवस्थामा यसको प्रभावकारिताको प्रश्न उठेका छन्। के साँच्चिकै अनलाइन कक्षा प्रभावकारी छैन त?
आफ्नै अनुभव
कोरोना भाइरसले नरोकेको हुन्थ्यो भने म फेब्रुअरी १९ मै चीन पुगिसकेको हुने थिएँ। अहिले विश्वविद्यालयको लाइब्रेरीमा अध्ययन गरिरहेको हुन्थेँ। जिमेल फेसबुक चलाउनका लागि भिपिएन अन गरिरहेको हुन्थेँ। फेब्रुअरी २४ बाट नियमित कक्षाकोठामा पुगेको हुन्थेँ।
कोरोना भाइरसले मार्चसम्म चीनमा जान रोक्यो। चीनमा संक्रमण नियन्त्रणमा आयो बाँकी विश्वमा कोरोना भाइरस फैलियो। नेपालमा लकडाउन भयो। नेपालको लकडाउनले फेरी रोक्यो। यसबीच मैले विश्वविद्यालयको पूरा एक सेमेस्टरको कोर्स पूरा गरिसकेको छु (एउटा विषयको अन्तिम कक्षा मात्र बाँकी छ)।
नेपालमै बसेर सातामा पाँच दिन दैनिक फरक फरक विषय अध्ययन गरेँ। नियमित कक्षा कोठामा गएर अगाडिको डिस्प्लेमा देखिने पावरप्वाइन्ट यसपटक ल्यापटपको स्कृनमा हेरेँ। यसबीच अध्यापन गराउने प्रध्यापकको अनुहार देख्न पाइन। प्रध्यापकहरुसँग साक्षात्कार हुन पाइन। तर पनि यसबीच मेरो आवाज सुन्नासाथ ढकाल भनेर चिन्ने भइसके। मैले प्रध्यापकको आवाज चिन्ने भइसकेँ।
अनलाइन कक्षा सुरु भएको १३ साता भइसकेछ। यो १३ सातामा गनेर ल्याउँदा मैले अनलाइनबाटै व्यक्तिगत र समूहगत रुपमा १३ भन्दा बढी प्रस्तुती दिएँ पावरप्वाइन्ट डिस्प्ले मेरै ल्यापटपबाट बाँकी सहपाठीहरुलाई देखाउँदै। यसरी प्रस्तुती दिँदा सुरुवात, गुडमर्निङ, गुड आप्टरनुन, गुड इभिनिङ र गुड नाइटले एकसाथ साथीहरुलाई सम्बोधन गरेँ। अन्तर्राष्ट्रिय विद्यार्थीहरु अहिले आफ्नो आफ्नो देशमा छन्। टाइमजोन फरक फरक। यता विहान हुँदा विश्वको अर्को कुनामा मध्यरात। नेपाली समय अनुसार विहान ६ बजे सुरु हुने कक्षाका लागि रातको १२ बजे अफ्रिकाका साथीहर कुरिरहेका हुन्थे। म नेपालमा विहानको खाना खाँदै ल्यापटपको स्क्रिनमा नजर डुलाइरहँदा अफ्रिकी मुलका साथीहरु ‘चाओ साङ हाव’ (सबेरै विहान हामीले शुभप्रभाव भन्ने सम्बोधन विहान १२ बजेसम्मलाई गर्छौं चीनमा विहानीमा पनि दुई भागमा बाडिँन्छ। एक सवेरै- चाओ साङ हाव) भन्दै विहान २ बजे चिया प्युँदै कक्षा लिन उपस्थित हुन्थेँ। सबैको आफ्ना आफ्नै अनुभव रह्यो यसबीच।
कक्षा सकिएका छन्। परीक्षाको पद्धतीको बारेमा अझै निर्णय लिइसकेको छैन विश्वविद्यालयले। त्यसैको पर्खाइमा छु।
लकडाउन चर्किँदै गर्दा हतारहतारमा अनलाइन कक्षाका विभिन्न प्लेटफर्महरु तयार भए। चीनको प्राविधिक कम्पनी टेनसेन्टले विच्याट र क्युक्युमा त्यस्ता प्लेटफर्मलाई जोडिदियो। अन्य मोबाइल एपहरु तयार भए। रातारात सबै विद्यार्थीहरुका छुट्टाछुट्टै अकाउन्टहरु क्रियट भए। एकाउन्ड आइडी र पासवर्ड विद्यार्थीहरुलाई बाँडियो।
भर्चुअल कक्षाहरु सुरु भए। कहिले सिरकभित्र छिरेर पढियो। कहिले कार्यालयमा एउटा कम्प्युटरमा समाचार लेख्दै अर्को ल्यापटपको स्कृन हेर्दै कानमा हेडसेट राखेर पढियो। कहिले विहानमा विस्तारामै आँखा मिच्दै पल्टिएरै क्लासमा प्रिजेन्टेसन दिइयो। कक्षामा भएको भए बेन्चमा बसेर विच्याटमा च्याट गरिन्थ्यो होला यहाँ व्याग्राउन्डमा फेसबुकमा च्याट गरियो।
माइक म्युट गरेर कानमा हेडसेट लगाएर युटुबमा गीत सुन्दै पढियो। कक्षामा हुँदा बीचमा हुने पाँच मिनेटको ब्रेकमा ट्वाइलेट गइन्थ्यो। भर्चुअल कक्षामा हुँदा जहिले मनलाग्यो गइयो। फरक यत्ति हो तर पढाइ उस्तै प्राध्यापकको प्रिजेन्टेसन्। विद्यार्थीको प्रिजेन्टेसन। सामाग्री उही। पढ्ने विद्यार्थी र पढाउने प्राध्यापक उही सिकाइ उही तर तरिका फरक। प्रोफेसरहरुले अध्ययन गराएका पावरप्वाइन्टहरु भिडियोहरु सेयर हिजो पनि यिनै प्लेटफर्ममा बनाइएका विषयगत समूहमा राखिदिन्थे, हामीले त्यहीँबाट डाउनलोड गरेर पढ्थ्यौं। अहिले पनि त्यही छ। भर्चुअल कक्षामा बस्ने कुर्सीमात्र फेरिएको अनुभव भयो। अरु सबै उस्तै।
अब नेपालको कुरा
लकडाउन लम्विँदै जाँदा अनलाइन कक्षाको चर्चा चलिरहेको छ। कतिपयले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत पढाइ सुरु गरिरहेका छन्।
मेरी बहिनी त्रिवि केन्द्रीय क्याम्पसमा आइसिटी विषयको स्नातकोत्तर तहको चौथो सेमेस्टरको विद्यार्थी। सरकारले लामो दुरीका सवारी साधन बन्द गर्ने घोषणा गरेको अर्को दिन हतार हतारमा केही पुस्तक र कपडा बोकेर घर गएकी। ल्यापटप त यहीँ छ उसले अनलाइन कक्षामा कसरी उपस्थित हुने?
मलाई पनि लकडाउनमा काठमाडौंमा एक्लै बसेर विहान बेलुका एक्लो ज्यानलाई भात पकाएर भाँडा माझ्ने जाँगर त कहाँ थियो र तर अनलाइन कक्षा चलिरहेको थियो। गाउँघरतिर इन्टरनेटको सुविधा नहुने हुँदा काठमाडौंमा बसेँ।
नेपालमा अनलाइन कक्षाको सञ्चालनका लागि भने पूर्वाधारको अभाव देखिन्छ।
नेपालमा कति जनसंख्या र क्षेत्रफलमा इन्टरनेटको सुविधाको पहुँच पुगेको छ? प्रश्न यहीँबाट सुरु गरौं। म घरमा जाँदा मेरो कोठामा मोबाइलको इन्टरनेट राम्रोसँग चल्न त के फोन समेत राम्रोसँग टिप्दैन। यस्तोमा म घरमा गएर अनलाइन कक्षा लिन सम्भव थिएन र घर गइन्। अब मेरी बहिनीले अनलाइन कक्षा कसरी लिने?
दोस्रो प्रश्न विद्युतको पनि छ। लोडसेडिङ नभए पनि लामो फिडरका कारण अलिकति जोडले हावा चल्यो भने लाइन छिनछिनमा जान्छ। त्यतिमात्र होइन अन्य समयमा पनि लाइन छिनकोछिन जान्छ। घरमा वाइफाइको कनेक्सन त छ तर, राउटर चल्न विद्युत आपूर्ति आवश्यक पर्छ। पढ्दापढ्दै बीचैमा लाइन गयो भने के?
यो त मेरो घर अलि सुगम ठाउँ भएर तथ्यांकमा मेरो घर इन्टरनेटको पहुँचमा रहेको देखिन्छ- यसको स्पिड जति होस। तर, काठमाडौंमा अध्ययन गर्न आउने कर्णालीको विकट जिल्लाका विद्यार्थीहरुले कसरी अनलाइन कक्षा लिने? इन्टरनेटको सुविधा छैन। इन्टरनेट मात्र होइन् अध्ययनका लागि ल्यापटप सबैसँग छ त? स्मार्टफोन सबैसँग छ त?
चीनमा अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरेसँगै विश्वविद्यालयहरुले आपतकालीन कोष खडा गर्दै विपन्न विद्यार्थीहरुको अध्ययनका लागि आवश्यक इन्टरनेटको सुविधाका लागि अनुदान दिए। ल्यापटप र राम्रो स्मार्टफोन नभएका विपन्न विद्यार्थीलाई अनलाइनबाटै हात हातमा ल्यापटप वा स्मार्ट फोन पुर्याए। नेपालमा यस्तो अपेक्षा गर्न सकिँदैन।
अनलाइन प्लेटफर्म
अब अनलाइन कक्षाका प्लेटफर्म तर्फ जाँउ। अहिले चर्चा जुमको छ। जुममा गरिएको अध्यापन कतिको प्रभावकारी छ, मापन गर्न अहिले अनुसन्धान भइसकेको नहोला तर सामान्यरुपमा पढाइ भनेको भिडियो कलमा कुराकानी गरेजस्तो पक्कै होइन। यसरी प्रभावकारिताको मापन कसरी गर्ने त्यो आफ्नो ठाउँमा होला।
एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई युट्यु मार्फत् कक्षा चलाइएका छन्। यी भर्चुल कक्षा अन्तर्गत पर्दै पर्दैनन्। युटुवमा विद्यार्थीहरुसँग प्रत्यक्ष साक्षात्कार हुनै सक्दैन। यसले खाली गेसपेपर र गाइडको काम गर्ला तर कक्षाकोठालाई प्रतिस्थापन गर्नै सक्दैन। अहिले प्रयोग गर्ने भनिएको जुम बिजनेस मिटिङ र साना समूहगत छलफलका लागि प्रभावकारी हुन सक्छ तर भर्चुअल कक्षाका लागि प्रभावकारी हुन सक्दैन। किनकि यी प्लेटफर्महरु भर्चुअल कक्षाका लागि भनेर तयार भएका होइनन्। त्यसका लागि नेपाली शैक्षिक संस्थाहरुले त्यस्ता प्लेटफर्मको तयारी गर्नुपर्छ।
कोर्स डिजाइन
नेपालमा अर्को समस्या भनेको कोर्स डिजाइन हो। तयार पारिएका कोर्सहरु अनलाइनमैत्री छन् कि छैनन् भन्ने हो।
नेपालमा स्नातकोत्तरसम्म अध्ययन गरेको मेरो अनुभवले भन्छ कोर्स डिजाइन अनलाइन मैत्री छैन। स्नातकोत्तरसम्म प्रोजेक्टरमा पढाइ भएको थाहा पाइएन। शिक्षकहरुले व्ल्याकबोर्ड (पछि ह्वाइटबोर्ड भए)मा चक (पछि वोर्ड मार्कर)ले लेखेरै पढाए। अब अनलाइनमा कक्षाकोठामा पुगेर भिडियो खिचेर पढाउन कति सम्भव होला? अनी शिक्षकले पढाउँदै गर्दा विद्यार्थीले बुझेनन् भने कसरी जिज्ञासा राख्ने?
अध्ययन सामाग्री
अझै पनि नेपालमा अध्ययनका लागि डिजिटल सामाग्रीको प्रयोग कम नै छ। भए पनि विकिपेडियाका सामाग्री कपी हुन्छन्। स्नातोकत्तर तहमा पढ्दा शिक्षकहरु नै विकिपेडियाको सामाग्री कपी गरेर दिएको थाहा छ। अब त्यस्ता सामाग्रीको उपादेयता कति भन्ने प्रश्न अर्को छ। हामीले अध्ययन गर्ने सामाग्री कागजकै पन्ना हुन्। अनलाइनमा उपलब्ध हुने शैक्षिक सामाग्रीमा विद्यार्थीहरुको पहुँच कति छ? प्रश्न यो पनि गम्भीर हो।
नेपालमा अनलाइन अध्ययन गराउने भन्दै निर्देशिका जारी गरेको त्रिभुवन विश्वविद्यालयकै कुरा गरौं। त्रिभुवन विश्वविद्यालयको पुस्तकालय नेपालकै सबैभन्दा ठूलो मानिन्छ। अब त्रिविसँग कति डिजिटल अध्ययन सामाग्री छन्? त्रिविको इ-लाइब्रेरी व्यवस्थापन कस्तो छ? प्रश्न यो पनि हो।
मेरी बहिनी इन्फरमेसन कम्युनिकेसन एन्ड टेक्नोलोजिको विद्यार्थी त्रिविको इलाइब्रेरीको प्रयोग अझै जान्दिनन्। विद्यार्थीहरुले आफ्नै ल्यापटपमा गएर आफ्नो विद्यार्थी परिचयपत्र हेरेर त्रिविको डाटाबेसमा पहुँच राख्न सक्दैनन। त्यहीको सीमित युजर अकाउन्ट प्रयोग गर्नुपर्ने बाध्यता छ। अब यस्तोमा गाउँगाउँमा रहेका विद्यार्थीहरुले डाटावेसमा कसरी पहुँच पाउलान्? मलाई याद छ बहिनीको विषयसँग सम्बन्धित सामाग्रीहरु अनलाइनमा नि:शुल्क उपलब्ध नहुँदा मैले चीनबाट जर्नल पेपरहरु डाउनलोड गरी पठाएको छु मेरो विश्वविद्यालयको डाटाबेस प्रयोग गरेर। अनि यो अवस्थापमा पुस्तकबाट टाढा, डाटाबेसबाट पर रहेर विद्यार्थीले कसरी अध्ययन पूरा गर्न सक्लान्?
म काठमाडौंमा बसेर चीनमा रहेको मेरो विश्वविद्यालयको पुस्तकालयको डाटाबेस प्रयोग गर्न पाउँछु। राजधानी काठमाडौंमा रहेको त्रिविको पुस्तकालयको डाटावेस कर्णालीमा रहेका विद्यार्थीले प्रयोग गर्न पाउने वातावरण बन्न सक्छ? हरेक विद्यार्थीका लागि डाटाबेसको अकाउन्ट क्रियट गरी युजर आइडी र पाससर्वर्ड दिन तत्काल नेपालमा सम्भव छ?
मसँग मेरो लाइब्रेरीको डाटाबेसमा पहुँच राख्ने मेरो खाता विश्वविद्यालयले पहिले नै दिएको थियो। त्यसको प्रयोग विश्वविद्यालयको सर्भर प्रयोग गरेर कुने पनि सामाग्री अध्ययन गर्न सक्थेँ। विश्विविद्यालयमा हुँदा लाइब्रेरीमा पुस्तक पढिरहेका विद्यार्थीहरु मैले कमै देख्थेँ सबै आफ्नो ल्यापटमा डाटाबेसबाट डिजिटल पुस्तकहरु पढिरहेका हुन्थे।
अहिले मलाई विश्वविद्यालयको पुस्तकालयको लाइब्रेरीको डाटाबेसमा पहुँचका लागि छुट्टै भिपिएन दिएको छ। भिपिएनको युजर मेरो स्टुडेन्ट आइडी नम्बर र पासवर्ड मेरो राहदानी नम्बर हो। भिपिएनमा हरेक विद्यार्थीको युजर नेम स्टुडेन्ट आइडी नम्बर र पासवर्ड राहदानी नम्बर राखेर सबै विद्यार्थीलाई उपलब्ध गरायो। सोही भिपिएन प्रयोग गरी मैले लाइब्रेरीमा पहुँच राख्छु। आवश्यक सामाग्री अध्ययन गर्छु। नेपालमा यो अहिले नै सम्भव छ?
अहिले मेरी बहिनीको अवस्था भनेको पुस्तकालयमा भएका पुस्तकमा पहुँच हो। त्यो पनि सीमित पुस्तक अगाडि गएका विद्यार्थीले त्यो पुस्तक उठाए भने उनले नफर्काउँदासम्म बहिनीले कुर्नुपर्छ। अहिले लकडाउनले बहिनीका लागि यो विकल्प पनि बन्द गरिदिएको छ। यस्तोमा अनलाइन कक्षाबाट मेरी बहिनीले कोर्स कसरी पूरा गर्न सक्छिन् भन्ने मेरो चिन्ता हो।
अन्त्यमा…
अनलाइन कक्षा चलाउने भनेर निर्देशिका जारी गरेको त्रिभुवन विश्वविद्यालयले भर्चुअल कक्षा सञ्चालनका लागि पूर्वाधारको तयारी कति गरेको छ? लकडाउनले शैक्षिकसत्र धकेलिएका छन्। विद्यार्थीको स्तरोन्नती प्रभावित भएको छ। अनलाइन कक्षा लिएर पढाइ सक्ने र परीक्षा लिएर विद्यार्थी उत्तीर्ण गराउने अवस्था आयो भने यही अवस्थामा मेरी बहिनी उत्तीर्ण हुन सक्लिन् त? मलाई शंका छ। अनलाइन कक्षाको नाममा विद्यार्थीलाई दबाबमा पार्दा उनीहरुको मानसितमा कस्तो असर पर्ला? भोलि आउने नतिजामा कस्तो असर पर्ला यसतर्फ विश्वविद्यालय तथा अनलाइन कक्षा चलाउने संस्थाहरुले ध्यान दिन जरुरी छ।
कक्षाकोठामा नियमित उपस्थित भइ अध्ययन गरी अब्बल नतिजा ल्याउने एउटा विकट गाउँको युवा, पूर्वाधार नहुँदा अनलाइन कक्षामा उपस्थित हुन नसक्ला, हाजिरी नपुगेको भन्दै परीक्षामा सामेल हुन नपाउला, परीक्षामा सामेल नभए पनि अनलाइनमा अध्ययन सामाग्री नपाइ तयारी राम्रोसँग नपुग्दा परीक्षामा अनुत्तीर्ण होला अनि यसले पार्ने प्रभाव कस्तो हुन्छ सरोकारवाला पक्षले ध्यान दिन जरुरी छ।
अहिलेको अवस्थामा अनलाइन कक्षा गेसपेपर र गाइडको रुपमा काम गर्ला, पैसा हुनेका लागि ट्युसन सेन्टरको रुपमा काम गर्ला तर, कक्षा कोठालाई प्रतिस्थापन गर्न सक्दैन्। अहिलेको भवितव्यमा विद्यार्थीहरुमाथि मानसिक दबाब नदिउँ।
अब हामीले गर्न सक्ने भनेको अर्को पान्डेमिकका लागि तयारी हो। अहिलेको अवस्थाबाट सिक्दै भविष्यमा आउने यस्तै अवस्थामा अनलाइन कक्षा चलाउनका लागि पूर्वाधारको तयारी गरौँ। भविष्यको पान्डेमिकमा अनलाइनबाट पढाउँला पढौंला यसपटक अनलाइन कक्षाका नाममा विद्यार्थीमाथि मानसिक शोषण नगरौं।