बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन खोल्नका लागि 'चरणवद्ध योजना' सार्वजनिक गरेका छन्। आइतवार राष्ट्रको नाममा सम्बोधन गर्दै बुधवारदेखि लागू हुने ५ विविध चरणका योजना बारे जानकारी दिएका हुन्।
पहिलो चरणमा विभिन्न कार्यालय, पसल र शैक्षिक संस्थाहरु खुल्नेछन्। जोनसनले घरबाट काम सम्भव नभएकाहरुलाई सार्वजनिक सवारी साधनको प्रयोग नगरी कार्यालय जान निर्देशन दिएका छन्। यसै चरणमा पसलहरु पनि खुल्ने सम्भावना रहेको बताए। त्यस्तै जुन १ देखि निम्न माध्यमिक तहका विद्यार्थीहरु विद्यालय जान पाउने बताएका छन्।
दोस्रो चरणमा भने सेवामूलक व्यवसाय र अन्य सार्वजनिक स्थलहरु पुन: सञ्चालनमा ल्याउने योजना छ। जुलाइ १ भन्दा अघि यो योजना लागू हुने छैन।
'देशलाई पूरानै अवस्थामा फर्काउने रोड म्यापको पहिलो खाका हो यो', प्रधानमन्त्रीले भने,'यो लकडाउन खोल्ने उचित समय होइन। त्यसैले हामीले तरिका बदल्न चालेको पहिलो कदम भने पक्कै हो।'
उनले लकडाउनको नियम उलङ्घन गर्नेलाई जरिवाना हुने समेत बताए।
अन्य योजना सोमवार प्रकाशित हुनसक्ने बीबीसीले जनाएको छ। एक सरकारी अधिकारीले दिएको जानकारी उल्लेख गर्दै लेखिएको छ,'नयाँ योजनामा दुई मिटरको दूरी कायम गर्दै पार्कहरुमा भेटघाट गर्न सकिने बताइनेछ।'
मानिसहरु सामाजिक दूरी कायम गर्दै पार्क र समुद्री तटमा जान पाउने छन्। तर, क्वारेन्टाइनमा रहन भनिएकाहरुमा यी नियम लागू हुने छैन। उनीहरु कम्तिमा पनि १२ साता घरमै रहनु पर्नेछ।
जोनसनले आम मानिसलाई सकेसम्म घरमै रहन, घरबाटै काम गर्न र सार्वजनिक सवारी साधनको प्रयोग नगर्न आग्रह गरेका छन्। बुधवारदेखि बेलायतीहरुले बाहिर निस्किएर शारीरिक व्यायम गर्न भने पाउने छन्। पार्क र सार्वजनिक स्थलहरुमा अनिवार्य दुई मिटरको दूरी कायम राखी समय बिताउन पाइने बताइएको छ।
बोरिसले भनेका थिए,'अबको केही महिना हामीलाई आशा र आर्थिक आवश्यकताले डोहोर्याउने छैन। हामी त विज्ञान, तथ्याङ्क र जनस्वास्थ्यको हिसाबमा अघि बढ्ने छौं।'