
काठमाडौं : आइतवार बिहानै थप एक जनामा कोरोना संक्रमण देखिएको खबरसँगै उदयपुरको भुल्केवासी पुनः त्रासित बने। ४३ वर्षीया महिला पछिल्लो कोरोना संक्रमित हुन्। संक्रमितको सङ्ख्या थपिएसँगै नेपालमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको गाउँ बन्यो भुल्के।
उदयपुरलाई कोरोनाको हटस्पट बनाउने गाउँ यही नै हो। सुरुमा १२ जनामा संक्रमण देखिएको यहाँ क्रमश बढ्दै गयो र त्यो संख्या ३२ पुगेको छ। संक्रमित थपिँदै गएपछि भुल्केमा थप कडाइ गरिएको छ। एक घरबाट अर्को घरसम्म जान रोक लगाएको छ। पछिल्लो तीन दिनमा मात्र ४ जनामा कोरोना संक्रमण भेटिएपछि यस ठाउँमा लकडाउन केही खुकुलो पार्ने तयारी विफल भएको छ।
'केही खुकुलो पार्ने कि भन्ने थियो। तर, यसरी संक्रमित भेटिन थालेपछि कडाइ नै गर्नुपर्ने देखियो,' त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले भने।
पछिल्लो पटक कोरोना पोजेटिभ देखिएकी महिलाका श्रीमान् पनि कोरोना संक्रमित नै हुन्। श्रीमानलाई संक्रमण देखिएपछि पहिलो पटक उनको टेष्ट गर्दा नेगेटिभ आएको थियो। तर, दोस्रो पटक गर्दा पोजेटिभ आएको हो।
'हामीले लकडाउन खुकुलो पार्न पुनः पीसीआर परीक्षण गरेका थियौं। त्यसमा पोजेटिभ आएपछि लकडाउन यथावत नै राख्ने निर्णय गरेका हौं,' मेयर चौधरीले भने।
त्रियुगा नगरपालिकाले दिएको जानकारी अनुसार वर्ड न ३ को जनसंख्या ८ हजार ६ सय ३० छ। त्यसमध्ये १५ सय जनसंख्या भुल्के क्षेत्रको हो। त्यहाँका ५७ घरमा २ सय ८६ जना मुस्लिम समुदायका नागरिक बस्छन्। उनीहरु सबैको पीसीआर परीक्षण भइसकेको छ। भुल्केमा अहिलेसम्म ११ सय ५७ जनाको पीसीआर टेष्ट गरिसकिएको छ। शनिवार मात्र १ सय ४३ जनाको टेष्ट गरिएको थियो।
त्यस्तै, मुस्लिम समुदायका मानिस बस्दै आएका ५३ घर परिवारका दोस्रो चरणमा समेत पीसीआर परीक्षण गरिएको छ। त्यस्तै, पछिल्लो पटक कोरोना संक्रमण देखिएका परिवारका १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। त्रियुगा जनता बहुमखी क्यामपसमा बनाइएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको मेयर चौधरीले जानकारी दिए।