काठमाडौं : नेपालमा सोमवार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय २० पुगेको छ। पछिल्लो पटक सोमवार बिहान मात्र कपिलबस्तु जिल्लामा १० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म ३१ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
हालसम्म उदयपुरमा सबैभन्दा बढी संक्रमित रहेका छन्। उदयपुरको भुल्केमा मात्र ३२ जनामा संक्रमण पुष्टि भएको छ।
पर्सा जिल्लामा हालसम्म २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यीमध्ये तीन जना भारतीय नागरिक हुन् भने बाँकी पर्सा जिल्लाकै हुन्।
त्यस्तै, बाँकेमा २४ जना संक्रमित फेला परेका छन्। तेस्रो स्थानमा कपिलबस्तु छ।
यहाँ संक्रमितको संख्या १५ पुगेको छ। कपिलबस्तुको यशोधरा गाउँपालिकामा ८, मायादेवी गाउँपालिकामा पाँच जना र बुद्धभूमि नगरपालिकामा दुई जना संक्रमित भएका छन्। यशोधरा र बुद्धभूमिमा आजै मात्र संक्रमण पुष्टि भएको हो।
त्यस्तै, काठमाडौंमा पाँच जना संक्रमित पुष्टि भएका छन्। सबैभन्दा पहिला काठमाडौंमा नै संक्रमण पुष्टि भएको थियो। कोभिड-१९ को आउटब्रेक इपिसेन्टर वुहानबाट आएका एक विद्यार्थीमा पहिलोपटक संक्रमण देखिएको थियो। त्यस्तै, यहाँ संक्रमण पुष्टि भएका एक व्यक्ति धादिङका पनि छन्। उनी खाडी मुलुकबाट फर्किएका उनमा लक्षण देखिएपछि धादिङ नपुगी टेकु अस्पताल पुगेका थिए। काठमाडौं जिल्लामा पुष्टि भएका सबै निको भएर फर्किएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यसरी उपचारपछि फर्किएका मध्ये एक जनामा पुन: परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पोजेटिभ आएपछि अहिले उनी पाटन अस्पतालको आइसोलेसनमा छन्।
त्यस्तै, कैलालीमा चार जनामा संक्रमण पुष्टि भएकोमा सबै उपचार पछि घर फर्किएका छन्। रौतहट जिल्लामा तीन जना संक्रमित छन्। उनीहरु सबै नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा छन्।
बाग्लुङ जिलामा पुष्टि भएका दुई जना संक्रमित पनि उपचार पछि फर्किएका छन्।
चितवन जिल्लामा दुई जनामा संक्रमण पुष्टि भएकोमा एक जना उपचारपछि फर्किएका छन् भने एक जना अझै उपचारका क्रममा भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा छन्। त्यस्तै बारा र झापामा पनि दुई/दुई जना संक्रमित पुस्टि भएका छन्।
कञ्चनपुरमा संक्रमित भएका एक जना पनि उपचार पछि घर फर्किसकेका छन्।
त्यस्तै रुपन्देही, सर्लाही र भोजपुरमा पनि एक/एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेशगत रुपमा सबै भन्दा बढी हाल प्रदेश ५ मा संक्रमण पुष्टि भएको छ। यहाँ संक्रमतिको संख्या ४० पुगेको छ। सबैजना उपचारका क्रममा छन्। त्यस्तै, प्रदेश १ मा संक्रमित ३५ जना मध्ये १४ जना उपचारपछि घर फर्किएका छन्।
प्रदेश २ मा ३१ जना संक्रमितमध्ये ४ जना उपचारपछि फर्किएका छन्। यहाँ आइसोलेसनमा रहेका संक्रमित र शंकास्पद संक्रमितहरुको संख्या ४१ छ।
वाग्मती प्रदेशमा संक्रमित सातमध्ये एक जना अझै आइसोलेसनमा छन्। त्यस्तै थप ३० जना शंकास्पद ब्यक्तिलाई पनि आइसोलेसनमा राखिएको छ।
गण्डकी प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या शून्य रहेको छ। यहाँका आइसोलेसन अहिले खाली छ।
कर्णाली प्रदेशमा हालसम्म कुनै पनि संक्रमित देखिएका छैनन्।
सुदूर पश्चिम प्रदेशमा पुष्टि भएका सबै संक्रमित उपचारपछि कोरोनामुक्त भएका छन्। यहाँ दुई जना शंकास्पद संक्रमित आइसोलेसनमा छन्।