काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै बाल कविता सुनाएका छन्।
उनले प्रतिनिधिसभाको शून्य समयमा 'म त भाग्यमानी'शीर्षकको कविता सुनाएका हुन्।
गगन थापाले कवितमा लिपुलेकदेखि ओम्नीसम्मको कुरा समेटेका छन्।
उनले प्रधानमन्त्री ओलीलाई आशु कवि भन्दै कटाक्ष पनि गरेका छन्। राहत माग्न आउनेलाई कविता गीत सुनाउला भन्दै व्यङ्ग्य गरेका हुन्।
थापाले वाचन गरेको कविता:
म त भाग्यमानी
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको!
यस्तो सबल सरकार छ सीमा कसले मिच्नी?
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी!!
सयौं कोश हिँड्दा पनि श्रमिक छैनन आहत
गरिबलाई सम्मान छ, सरकारबाट राहत!
विदेशमा कोही पनि अलपत्र छैनन्
दु:ख पीडा सुनाउने ति नेपाली नै हैनन्!!
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने!
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन्, ओम्नी र यति
सरकार यस्तो इमान्दार यस्तो स्वाभिमानी
आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानी
सवैतिर वाह! वाहै! यस्तो विकास देख्दा
पत्रकार नि दंग छन्, यी समाचार लेख्दा!!
कोमल हृदयका प्रधानमन्त्री, आशु कवि हाम्रा
दिन नविराई सृजना छ, आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत-कविता भट्याउँदै कालापानी जाउँला!!
सारा नेपाल हाँसेको छ, मेची-काली गाउँछ
आँसु आए बरु त्यहीँ कविताले आउँछ
यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो! हामी नेपाली त सारै भाग्यमानी!!
अहो! सारै भाग्यमानी
म त भाग्यमानी