PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

ब्वाइज लकर्स रुमको ट्वीस्ट : किशोरीले फेक अकाउन्ट खोलेर बनाएकी थिइन् 'यौन अपराधको योजना'



पहिलोपोस्ट

ब्वाइज लकर्स रुमको ट्वीस्ट : किशोरीले फेक अकाउन्ट खोलेर बनाएकी थिइन् 'यौन अपराधको योजना'

भारतमा महिलाहरु विरुद्ध यौन दुर्भावनासहित सन्देश आदानप्रदान गरेको आरोप लगाइएको 'ब्वाइज लकर्स रुम'को केसमा नयाँ ट्वीस्ट आएको छ। इन्स्टाग्रामको च्याट रुमको भन्दै सार्वजनिक भएको कयौं स्क्रिनसटमध्ये 'सिद्धार्थ' नाम गरेको अकाउन्टको एक किशोरीले संचालन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

सिद्धार्थ तिनै हुन् जसले च्याटमा लेखेका थिए – 'उसलाई बोलाउ, म अरु एक दुई जना केटाहरुलाई पनि बोलउँछु र हामी सामूहिक बलात्कार गरौं।' 

प्रहरीले किशोरीले संचालन गरेको 'सिद्धार्थ' नाम गरेको अकाउन्ट इन्स्टाग्रामको ब्वाइज लकर रुमको नभइ स्न्यापच्याटको भएको बताएको द प्रिन्टले जनाएको छ।

'ब्वाइज लकर रुम' इन्स्टाग्राममा सक्रिय किशोरहरूको समूह हो। गत साता समूहमा रहेका किशोरहरूले महिलालाई लिएर गरेको कुराकानीको स्क्रिनसट सार्वजनिक भएको थियो। ग्रुपमा भएको अन्य कुराकानीको पनि स्क्रिन सट सार्वजनिक भएका थिए। तीमध्ये केही इन्स्टाग्रामको इन्बक्समा भएको कुराकानी पनि थिए। उनीहरूले प्राय महिलाको फोटो सेयर गर्ने र त्यसमाथि अभद्र टीका टिप्पणी गर्ने गरेको देखिएको थियो।

उक्त समूहविरुद्ध दिल्ली महिला आयोगले दिल्ली प्रहरीको साइबर सेल विभागमा उक्त समूह विरुद्ध उजुरी दिएको थियो। प्रहरीले अनुसन्धानपछि घटनामा संलग्न एक किशोरलाई पक्राउ गरी छानविन सुरु गरेको थियो।

एड्मिन रहेका १८ वर्षीय किशोरसहित २१ जनामाथि छानबिन भयो। त्यसैबीच सबैभन्दा बढी चर्चित बनेको स्करिनसटमा बलात्कारको योजना बनाउने पात्र भने ब्वाइज लकर रुमको नभइ एक नाबालिक किशोरी भएको खुलेको हो।

ती किशोरीले केटाको प्रोफाइल बनाएर आफैविरुद्ध 'यौन दुर्व्यवहार'को योजना बनाएकी थिइन्। प्रहरीको अनुसन्धानमा ती किशोरीले आफ्नो केटाको प्रतिक्रिया बुझ्न र 'क्यारेक्टर जज' गर्न योजनावद्ध रुपमा यौन दूराचारजन्य सन्देशहरु पठाएको जनाएको छ।

सामूहिक बलात्कारबारे कुराकानी गर्ने यी किशोरी र जवाफ फर्काउने किशोर दुवै नक्कली वा सक्कली कुनै पनि अकाउन्टबाट 'ब्वाइज लकर्स रुम'सँग सम्बन्धित नभएको समेत खुलेको छ।

'सिद्धार्थ' अकाउन्टबाट मेसेज पाएपछि किशोरले उनको प्रस्ताव अस्वीकार गरेको र सामूहिक बलात्कारको योजनापछि उनीसँग कुराकानी नै बन्द गरेका थिए।

कुराकानीमा संलग्न किशोरले उक्त मेसेजको स्क्रिनसट आफ्नो साथी र 'सिद्धार्थ' नाम गरेको अकाउन्ट संचालन गरेर केटाको परीक्षा लिइरहेको किशोरीलाई समेत पठाएका थिए। उनले किशोरीलाई सतर्क गराउन र साथीहरुलाई 'सिद्धार्थ' नामक अकाउन्टबाट भएको कुराकानीबारे सचेत गराउन स्क्रिनसट पठाएका थिए। उनले स्क्रिनसट पठाएका साथीहरु मध्ये एकजनाले स्क्रिनसट इन्स्टाग्राम स्टोरीमा सेयर गरेका थिए। जुन स्क्रिनसट ब्वाइज लकर्स रुमको अन्य स्क्रिनसटसँगै मिसिएर सार्वजनिक भयो र सबैभन्दा बढी चर्चा पनि त्यही कुराकानीले पायो।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell