PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जानकी मन्दिर प्रकरणमा महन्थको यू-टर्न, भने, ‘आवेगमा आएर रामरोशनलाई गलत आरोप लगाएँ’



सुमित मिश्र

जानकी मन्दिर प्रकरणमा महन्थको यू-टर्न, भने, ‘आवेगमा आएर रामरोशनलाई गलत आरोप लगाएँ’

जनकपुरधाम : जनकपुरधाम प्रसिद्ध जानकी मन्दिर भित्रको विवादले पूरै तातिएको छ। मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले स्वघोषित रुपमा रामरोशन दास वैष्णवले आफूलाई उत्तराधिकारी महन्थ भन्दै आएको एक सञ्चारमाध्यमलाई अभिव्यक्ति दिएपछि यो विवादले उग्र रुप लिएको थियो।

यद्यपि, सो विवाद शुरु भएको केही दिन नबित्दै महन्थ राम तपेश्वर दास वैष्णवले आफ्नो अभिव्यक्ति फेरेका छन्। महन्थ दासले आफू आवेगमा आएर यस्तो अभिव्यक्ति दिएको बताए।

उनले भने, ‘रामरोशनलाई मैले नै सबै थोक सम्हाल्न जिम्मेवारी दिएको छु, उसले नै अहिले मन्दिरको सबै उत्सव, पूजा लगायतको कार्य सम्हाल्दै आएको छ।’

केही दिन अगाडि एक सञ्चारमाध्यममा आफूले आवेगमा आएर रोसनले आर्थिक अपचलन गरेको आरोप लगाएको र त्यो गलत भएको बताए। मन्दिरको सबै हरहिसाब पारदर्शी रहेको तपेश्वरदासको भनाइ। उनले रामरोशनले जानकी मन्दिरको विभिन्न उत्सवहरु जस्तै विवाहपञ्चमी, रामनवमी, जानकी नवमी लगायतको उत्सवहरुलाई बृहत बनाएकोमा प्रशंसा समेत गरे।

उनले भने, ‘मैले विवाहपञ्चमी तथा जानकी नवमीलाई ७ दिवसीय मनाउने परम्पराको शुरुवात गरे तर उसले जसरी यी उत्सवहरुलाई भव्यता प्रदान गरेको छ, यसले अन्तर्राष्ट्रिय स्तरमा समेत यी उत्सवहरुको चर्चा हुन थालेको छ।’

जानकी मन्दिरको उत्सवहरुमा आर्थिक रुपमा सहयोग गर्ने महन्थकै एक चेला पवन चौधरीले रामरोशनमा साधु सन्तको कुुनै पनि किसिमको गुण नरहेको तथा भोग विलासमा मात्रै लिप्त रहने गरेको आरोपलाई महन्थ दासले ठाडै अस्वीकार गरे। उनले रामरोशनको चरित्रमा रत्तिभर शंका नरहेको तथा दैनिक पूजा आरती र मन्दिरको उत्सवलाई भव्य बनाउने कार्यमा लिप्त रहने गरेको दावी गरे।

यी सबै विवाद जानकी नवमीमा केक काटेपछि शुरु भएको उनको भनाइ छ।

यस विषयमा चर्चा गर्दै महन्थ दासले भने, ‘केकको विषय गलत हो, त्यहाँ भक्तजनहरुले जानकीलाई केक अर्पण गरेका थिए, भक्तजनहरुको भावनालाई कदर गर्दै सो केक प्रसाद स्वरुप वितरण गरिएको मात्रै हो, यसलाई विवादित बनाउने कुनै कुरो नै छै।’

उनले मन्दिरमा आजसम्म केक नकाटिएको दावी गर्दै प्रसाद स्वरुप फलफूल मात्रै अर्पण गर्दै आएको दावी गरे।

सामाजिक सञ्जालमा मन्दिर परिसर भित्रै केटी नचाएको प्रश्न उठेपछि यस विषयमा समेत उनले खुलेर जवाफ दिए। उनले आफ्नो जानकारी बिना सोहर गान नहुने गरेको भन्दै लकडाउनको अवधिमा यस प्रकारको नाचगान भइरहेको देखेर आफूले नै प्रहरी बोलाएर खाली गराउन लगाएको जानकारी दिए।

‘मेरो अभिव्यक्तिबाट दिदीबहिनी कसैलाई आघात पुगेको छ भने म माफी समेत चाहन्छु,’ उनले भने।

यता रामरोशन दासले तपाइ यस अघि यसकुरालाइ प्रस्ट किन नगरेको भन्ने प्रश्नमा जवाफ दिँदै

‘गुरुविरुद्ध बोल्न नसक्ने भएकोले उनको क्रोध शान्त हुन्जेल चुप लागेर बसेका थियौँ’। उनले भने, ‘साधु समाजमा गुरुको स्थान सबैभन्दा माथी रहेकोले गुरुले आफूलाई राखुन यहाँ नराखुन मलाई स्वीकार छ, तर गुरु विरुद्ध म केही बोल्न सक्दिनँ।’

रामरोशनले गुरुजीकै आदेशमा आफूले मन्दिर भित्र हरेक क्रियाकलाप गर्ने गरेको दावी गर्दै जानकी नवमीको समयमा लकडाउनलाई केन्द्रित गरिएको विज्ञापन शुटिङ, मन्दिर परिसर भित्र भएको सोहर गान लगायतको विषयमा आफूले जानकारी नगराउनु भूल भएको बताए। यद्यपि, गुरुजीलाई सबै कुराको जानकारी गराएपछि उनले समेत आफ्नो कुुरा मानेका बताए।

आफूले आर्थिक अनियमितता नगरेको भन्दै रामरोशनले सबै काम पारदर्शी रुपमा गरिएको दावी गरे। लकडाउन खुलेलगत्तै विवाह पञ्चमी तथा जानकी नवमीको आयव्ययको विवरण सार्वजनिक गर्ने उनले जानकारी दिए। महन्थ दास र रोसन दास नातामा मामा भान्जा हुन्। 

मन्दिरलाई ट्रस्टमा लैजान माग 

जानकी मन्दिरमा आन्तरिक विवाद शुरु भएलगत्तै यहाँका स्थानीय युवा, व्यपारी, संघसंस्थालगायतले जानकी मन्दिरलाई ट्रस्टमा लैजान माग गरेका छन्।

जानकी मन्दिरलाई ट्रस्टमा लैजान माग गर्दै उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले भने, ‘पछिल्लो समय जानकी मन्दिरमा आर्थिक चलखेल बढेको छ, त्यसबाट जोगिन र हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरलाई बचाउन अब मन्दिरलाई ट्रस्टमा लग्नु बाहेक अरु कुनै उपाय छैन।’

त्यस्तै जनकपुर उद्योग वाणिज्य संघका महासचिब जितेन्द्र महासेठले पछिल्ला समय जानकी मन्दिरमा आर्थिक चलखेल बढेका बताए। उनले विभिन्न सञ्चारमाध्यममा  समाचारहरु हेर्दा मन्दिरको पुरातात्विक र पुराना अचल सम्पत्तिहरु बाबा तपेश्वरको नियन्त्रणमा रहेको बताए।

उनले भने, ‘जानकी नवमी, विवाह पञ्चमी लगायतका महोत्सवहरुमा हुने आम्दानी र खर्चहरु बाबा रोशनको कन्ट्रोलमा देखियो तर यि सबैै सम्पत्ति राष्ट्रिय सार्वजानिक सम्पत्ति हुन्। साधुबाबाको काम पुजापाठ आरती र भजन गर्ने हो न कि आर्थिक चलखेल। सम्पत्तिका दुवै रक्षकबीच कडा विवाद पनि स्पष्ट छ र प्रशासन तथा सम्बन्धित तिनवटा सरकारहरु मौन। अब यसको सुरक्षाका निमित्त मन्दिरलाई ट्रस्टमा लग्नु बाहेक अरु उपाय छैन।’

त्यस्तै, जनकपुर उद्योग वाणिज्य संघले जानकी मन्दिरलाई ट्रस्टमा लैजान केन्द्र र प्रदेश सरकारसँग पहलका निमित्त उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिराको संयोजकत्वमा ११ सदस्यीय समिति नै गठन गरेको छ।

सम्बन्धित समाचार :

जानकी मन्दिरमा विवाद चर्किँदै, स्वघोषित छोटा महन्थले करोडौं रुपैयाँ असुल गरेको महन्थ रामतपेश्वरको आरोप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell