काठमाडौं: नेपाली काँग्रेसका नेता एवं दार्चुलाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद दिलेन्द्र प्रसाद बडूले नेपालतर्फ तिङ्कर सडक समयमै निर्माण नहुँदा भारतले नेपाली भूमिमा बाटो बनाएको बताएका छन्। बाटो नहुँदा नेपाली नागरिकको पहुँच नभएको र राज्यको उपस्थिति नहुँदा भारतले मौका छोपेको उनको विश्लेषण छ।
संसदको आजको बैठकमा बोल्दै बडूले दार्चुलाको खलङ्गादेखि तिङकरसम्म सडक निर्माण नहुँदा भूमि अतिक्रमण गर्न भारतलाई सहज भएको जानकारी गराए। समयमै बन्नुपर्ने नेपाल तर्फ तिङकर जोड्ने सडक निर्माण नहुँदा त्यहाँ स्थानीय एव सुरक्षा निकायको पहुँच नभएकाले भारतले यही मौकामा नेपाली भूमिमा सडक निर्माण गरेको उनको भनाई छ।
दुई बर्षभित्रै उक्त सडक निर्माण गर्न समेत उनले आग्रह गरेका छन्। संसद बडूले दार्चुलामा उत्तरतर्फ जोड्ने उक्त सडक निर्माण सरकारी ढिलासुस्ती भएकोमा असन्तुष्टि जनाए।
‘हाम्रोतर्फ सडक निर्माण नहुँदा त्यहाँ नेपाली एवं स्थानीयको पहुँच भएन। हुँदा हुँदा भारतले धमाधम हाम्रै भूमिमा सडक बनायो,‘ बडूले भने, ‘सडक बने जनता नै देशका रक्षक बन्न सक्छन्। सडक निर्माणमा ढिलासुस्ती नगरौं।’