PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

चलचित्र प्राविधिकलाई पल शाहको सहयोग, २ चरणमा बाँडे ५ लाख बराबरको राहत  



पहिलोपोस्ट

चलचित्र प्राविधिकलाई पल शाहको सहयोग, २ चरणमा बाँडे ५ लाख बराबरको राहत  

कलाकार पूर्णविक्रम शाह (पल)ले नेपाली चलचित्र क्षेत्रका पर्दा पछाडिको हिरोहरुलाई सहयोग गरेका छन्। उनले लकडाउन प्रभावित विपन्न प्राविधिक, नृत्यकर्मी एवं द्वन्द्वको दृश्यमा देखिने सहायक कलाकारहरुलाई खाद्यान्न सहयोग गरेका हुन्।  

कोरोना भाइरस एवं लकडाउनका कारण चलचित्र क्षेत्र ठप्प छ। फिल्मको छायाँकनदेखि प्रदर्शनसम्मका सबै कार्य रोकिएका छन्। जसका कारण प्रत्यक्ष असर परेको छ फिल्मको पर्दामा नदेखिने ज्यालादारी मजदूर वर्गमा। निम्न आय भएका उनीहरुलाई बढ्‍दो संक्रमण र थपिँदो लकडाउनका कारण परेको समस्याहरु बारे खबर सार्वजनिक भएपछि पल शाहले सहयोग घोषणा गरेका थिए।

आइतबार उनले भक्तपुरबाट, कोटेश्वर, सातदोबाटो, सितापाइला, नागपोखरी, सेतोपुल, पुरानो बानेश्वर लगायत ठाउँमा बस्ने प्राविधिक, नृत्यकर्मी एवं सहायक कलाकारहरुसम्म पुगे। आफ्नै हातले खाद्यान्न सहयोग गरे। खाद्यान्न प्याकेजमा चामल, दाल, तेल, बिस्कुट, आँटा लगायत सामाग्री रहेको थियो।

यसअघि वैशाख १ गते उनी स्वयं समस्यामा परेका प्राविधिकहरुलाई भेट्दै सहयोग हस्तान्तरण गरेका थिए।

दुई चरणमा गरिएको राहत वितरण ५ लाख २ हजार बराबरको भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले पुष्टि गरे। भने,'उहाँको यस सेवा भावले २ सय ५० चलचित्र प्राविधिक, नृत्यकर्मी लगायत लाभान्वित हुनुभएको छ। उनी राम्रो कलाकार त हुन् नै साथै यस विपद्को घडीमा उहाँले एक असल मानिस हुनुको कर्म निभाएका छन्।'

भिडियो सम्पादक, म्युजिक भिडियोको मोडल हुँदै अभिनेता बनेका हुन् पल शाह। आफूले प्राविधिक हुँदाको अप्ठ्याराहरु महसुस गरेकै कारण सहयोग पुर्‍याएको बताए। भने,'सीमित बजेटमा चल्नु पर्छ। खानको लागि पनि हिसाब गर्नु पर्छ। अहिले मेरो त्यो स्थिति छैन। त्यसैले जसलाई आवश्यक छ त्यो वर्गलाई सहयोग गरेको हुँ।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell