PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सधैभरी विवाद गर्नुभन्दा भारतसँगको सिमानामा काँडेतार लगाऔं : नेता नेपाल



पहिलोपोस्ट

सधैभरी विवाद गर्नुभन्दा भारतसँगको सिमानामा काँडेतार लगाऔं : नेता नेपाल

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सधैभरी विवाद गर्नुभन्दा भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सोमवार नेता नेपालले भारतले नेपालको लिम्पियाधुरा कालापानी क्षेत्रमा सडक बनाएको प्रसंगमा सो कुरा बताएका हुन्।

भारतले विभिन्न ठाउँमा सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षा फौज तैनाथ गर्ने एवं सडक बनाउने काम गरिरहने भएकाले त्यसलाई रोक्न छलफल गर्नुभन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनुपर्ने उनको भनाइ छ।

‘जहाँ पनि समस्या पाइराखेको छ। सीमा मिच्ने काम भइराखेको छ। पिलर भत्काउने अनि सार्ने काम भइराखेको छ। बाँध बाँध्ने दसगजा क्षेत्रमा यस्तो काम भइराखेको छ हुँदाहुँदा त सुरक्षा फौजको तैनाथी र बाटो निर्माण गर्ने काम सम्म पनि भयो,' उनले भने, ‘यदि विवादै सधैंभरी गर्नु छ भने त्यो भन्दा राम्रो त त्यसलाई कन्ट्रोल गर्ने उपाय के हुन सक्दछ। यसको निम्ति काँडे तार लगाएर हुन्छ कि पर्खाल खडा गरेर हुन्छ कि सधैभरी विवाद गर्नु भन्दा त क्लियर गरिदिनु राम्रो हो।’

नेता नेपालले सरकारले नेपालको नक्सा छिट्टै प्रकाशित गर्नुपर्ने समेत बताए। आफ्नो भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्नुपर्ने उनको भनाइ छ।

‘हाम्रो आफ्नो सम्पूर्ण भूभागसहितको आधिकारिक नक्सा प्रकाशित गर्ने कुरामा ढिलाई गर्न भएन् र आफ्नो भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्ने र सीमाको नियमित रुपमा नियमन गर्नुपर्यो र विकट सीमा क्षेत्रहरुमा कार्यगत सुरक्षा कर्मीहरुको लागि उचित प्रबन्ध गर्नुपर्‍यो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell