PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

राहतमा कुहिएको चामल पाएपछि स्थानीय आक्रोशित, छानबिन गर्न गुण नियन्त्रण कार्यालयको टोली गोदाममा



एम बम

राहतमा कुहिएको चामल पाएपछि स्थानीय आक्रोशित, छानबिन गर्न गुण नियन्त्रण कार्यालयको टोली गोदाममा

कैलाली : धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा राहतमा वितरण गरिएको चामल कुहिएको भेटिएको छ। स्थानीयलाई वितरण गरेको राहतको चामल कुहिएको पाइएको हो।

कुहिएको र चामलमा किरा पाइएपछि कतिपय स्थानीयले राहतमा पाएको चामल फिर्ता पठाएका छन्। बैतडी घर भई हाल धनगढी ४ मा डेरा गरी बस्दै आएकी सुनिता विष्टले वडा नम्बर ४ को वडा कार्यालयबाट पाइएको राहतको चामल कुहिएको पाइए पछि फिर्ता गरिएको बताइन्।

वडा नम्बर ४ को एउटा टोलभरीनै कुहिएको चामल पाइएको भन्दै स्थानीय आक्रोसित बनेका छन्। सोही टोलमा बस्दै आएकी स्थानीय सीता थापाले आफूलाई छिमेकीले कुहिएको चामल देखाएपछि यसको छनबिन हुनुपर्ने र कुहिएको चामल बेच्नेलाई कारबाही गर्नुपर्ने माग गरिन्।

उक्त टोलका बासिन्दाले चामल खान योग्य समेत नभएको गुनासो गरेका छन्। लकडाउन र कोरोनाको महामारीका बेलामा समेत राहतमा कुहिएको चामल दिएर जनताको स्वास्थ्य जस्तो विषयमा गम्भीर लापरबाही गरिएको भन्दै थापाले यसमा छिट्टै छानबिनको माग गरिन्। 

वडा कार्यालयले पनि चामल कुहिएको पाइएको स्वीकार गरेको छ। वडाध्यक्ष दीपक कुमार थापाले शुरुमा बाँड्दा राम्रै चामल पाइएपछि सबै परीक्षण नगरीएकोले अहिले कुहिएको भेटिएको बताए। कुहिएको चामलको विषयमा छानबिन हुने उनको भनाइ छ।

चामल कुहिएको पाइएपछि वडा कार्यालयले अहिले राहत वितरणको काम रोकेको छ। अब यस विषयमा छानबिन भएपछि मात्रै राहत वितरण थाल्ने वडा कार्यालयको भनाइ छ।

चामल कुहिएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोली आज गोदाममै पुगेको थियो। टोलीले चामल परीक्षण गरिने र त्यसपछि मात्रै प्रतिक्रिया दिने बतायो।

उपमहानगरपालिकाले दुई करोड ६१ लाखमा तीन हजार तीन सय क्विन्टल चामल, ८ सय क्विन्टल दाललगायतका खाद्य सामग्री खरिदको जिम्मा धनगढीकै ठाकुर ट्रेड लिंकलाई दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell