PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लकडाउनमा मौलायो काठ तस्करी, तस्कर भन्छन्, ‘प्रहरीलाई खाजादेखि मोबाइल खर्च दिएपछि छुट्छ सामान’



राधेश्याम पटेल

लकडाउनमा मौलायो काठ तस्करी, तस्कर भन्छन्, ‘प्रहरीलाई खाजादेखि मोबाइल खर्च दिएपछि छुट्छ सामान’

वीरगंज : लकडाउनको बेला पर्सा जिल्लाको उत्तरी भेगमा राष्ट्रिय वन क्षेत्रबाट व्यापक काठ तस्करी भइरहेको छ। पर्सा प्रहरीले हरेक दिन काठ समातिरहेको घटनाले पनि काठ तस्करीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन रक्षक टोलीले रोक्न नसकेको प्रमाणित हुन्छ।

आइतवार राति अस्थायी प्रहरी पोस्ट बडनिहारको इलाका पर्ने बकनेर्वाबाट आइरहेको ९ वटा साइकलमध्ये तीनवटा साइकलमा लोड भएको गोलिया बडनिहार प्रहरीले बरामद गरेको छ भने ६ वटा साइकलमा रहेको काठलाई छाडेको छ।

विभिन्न प्रहरी चौकीहरूको मिलोमतोमा नैं काठ तस्करी मौलाएको स्थानीयको आरोप छ। उनीहरुकाअनुसार प्रहरीले घुस खाएर तस्करका सामान छाडिदिन्छन्। छोडिएको काठ, वीरगंज–२८ इनर्वा टोलमा राखिएको स्थानीयले दाबी गरे।

तस्करहरूले विभिन्न चौकीलाई मासिक रूपमा ४ हजारसम्म र एक खेप साइकलको तीन सयदेखि पाँच सय रुपैयाँसम्म  दिने गरेका छन्। त्यसको अलावा प्रहरी चौकीका सुरक्षाकर्मीहरूलाई नियमित खाजा खर्च, मोबाइल खर्च र सवारीसाधनको पेट्रोल खर्चबापत नजराना चढाउँदै आएका छन्। तस्कर गिरोहमध्यकै एक जनाले भने, ‘हामी पढेलेखेका छैनौं, बेरोजगार छौं, त्यसैकारण गुजारा चलाउन काठतस्करीमा लागेका छौं,तर हामीलाई अपराधिक गतिविधिमा लगाउने प्रहरी नै हो,बिना उसको सेटिङमा वनजंगलको एउटा पात पनि हाल्लिदैन।’

सुरक्षा निकायको घुमुवा प्रहरी र हवल्दारको मातहतबाट सेटिङ हुन्छ। र प्रतिसाइकल तस्करीको काठ सीमा नाका कटेपछि भोलिपल्ट प्रहरी चौकीले तस्करहरूबाट रकम उठाउने गर्छन्।

मिलनचोकदेखि रंगपुर वसतपुरसम्मको क्षेत्र अर्थात् करीब ८ किलोमिटरको नाकाबाट व्यापक काठ तस्करी हुने गरेको तस्करहरूको भनाइ छ। अहिले राति ११ बजेदेखि २ बजेसम्म सो क्षेत्र भएर कम्तीमा सयभन्दा बढी साइकलमा चार फिट मोटाइ र ५–७ फिट लम्बाइको गोलिया तस्करी भइरहेको तस्करहरूले बताएका छन्।

आइतवार राति अस्थायी प्रहरी पोस्टका प्रहरी जवान सखिचन्द यादवले एकजना तस्करसँग फोन सम्पर्कमा घूस रकम खाएर ४ वटा साइकलको गोलिया छोडेको र सोमवार आएर घुस रकम दिनु भन्दै कुराकानी गरेको खुलेको छ। काठ तस्करीमा प्रहरी चौकी मिलनचोक, सशस्त्र प्रहरी सोलखपुर, अस्थायी प्रहरी पोस्ट बडनिहार, मनवा, प्रहरी चौकी परवानीपुर, इलाका प्रहरी कार्यालय सुगौली, अस्थायी प्रहरी चौकी रंगपुर, अस्थायी प्रहरी पोष्ट डोकैला बहुअरी, बागेश्वरी तित्रौना, सशस्त्रलगायत प्रहरी एकाइहरूको सुरक्षाकर्मीहरूको मिलोमतोमा यस्तो गतिविधि हुने गरेको स्थानीय बताउँछन्। इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीकै उदासिनताको कारण सो भेगका करीब आधा दर्जन प्रहरी चौकीले तस्करसँग सेटिङ गरेर काठको तस्करीमा सल्गन भएकोले वनजंगल मासिदै गएको स्थानीयले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell