PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

लकडाउनको ५० औं दिन : ट्राफिक प्रहरीलाई ८३ हजार कल



पहिलोपोस्ट

लकडाउनको ५० औं दिन : ट्राफिक प्रहरीलाई ८३ हजार कल

काठमाडौं : लकडाउनको आज ५० औँ दिन। आइतवारबाट काठमाडौंमा उपत्यकाभित्र हिँड्डुल गर्न केही सहज भएको छ। सर्तसहित केही व्यवसाय,संस्था लगायत खुल्दा मानिसले केही राहत अनुभूति गरेका छन्। तर, यसअघि भने मानिसलाई आवश्यक काममा पनि कसरी निस्कने भन्ने समस्या थियो।

सडकमा सवारी लिएर निस्किए प्रहरीले समात्थ्यो। त्यसैले धेरै मानिसले अत्यावश्यक कामको लागि सवारी साधन लिएर निस्कनुपर्ने भए ट्राफिक प्रहरीलाई फोन गर्थे। त्यति मात्र होइन लकडाउनको बारे जानकारी लिन समेत प्रहरीलाई फोन गर्थे।

ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर आवश्यकता देखिए प्रहरीले नै सवारी लिएर हिँड्ने व्यवस्था मिलाएको थियो।

'अत्यावश्यक कामका लागि निस्कनुपर्ने भए हामीले नै फोन गर्न भनेका थियौँ। त्यस्ता धेरै फोन आए पनि,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि हालसम्म ट्राफिक प्रहरीमा ८३ हजार ८ सय ३ वटा कल आएको देखिएको छ। अधिकांश कलहरू लकडाउनको विषयमा नै भएको प्रहरीले जानकारी दिएको छ। केही कल अन्य दुर्घटना सम्बन्धी पनि छन्।

'सुरुको दिनमा लकडाउनबारे जानकारी लिन पनि कल भएको देखिन्छ। तर, पछि आवश्यक काममा जानका लागि पनि कल आएको छ,' एसएसपी ढकालले भने।

लकडाउनको समयमा पास तथा अनुमति नलिई सवारी चलाएका २५ हजार ६ सय ३३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। जसमध्ये २५ हजार ५ सय ९३ वटा सवारी सम्बन्धित सवारी धनीलाई बुझाइसकेको छ भने ४० वटा सवारी प्रहरीको होल्डमा नै छ।

त्यस्तै, पासको दूरुपयोग गरेर सवारी कुदाउने २३ सय ११ वटा पास प्रहरीले जफत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell