काठमाडौं : १४ दिनदेखि ११ वर्षीया बालिकाको बास राजापुर नगरपालिका वडा नम्बर ५ मा रहेको किसान माध्यमिक विद्यालयमा बनाएको क्वराइन्टाइन बनेको छ। उनको साथमा छिन्, उनकी हजुरआमा।
आइतवार बर्दियाको राजपुर नगरपालिकाबाट स्वाब संकलन गरेर काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाइयो। रिजल्ट पोजेटिभ कि नेगेटिभ भन्ने डरले उनीहरुलाई सताइरहेको थियो। सोमवार दिउँसो रिपोर्ट आयो। जे नसोचेको त्यही भयो। नातिनीमा कोरोनाको संक्रमण देखियो।
वैशाख १६ गते उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो। उनीहरुसँग विदेशको कुनै ट्राभल हिस्ट्री छैन। तर, नातिनी र हजुरआमा भने कैलालीसम्म पुगेर फर्किएका थिए। हजुरआमाको माइती र त्यसपछि भजनीमा रहेको छोरीका घरमा ३ दिन बसेका थिए। त्यसपछि राजपुर फर्किएकाले त्यसैका आधारमा उनीहरुलाई जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए।
'उहाँहरु कैलाली पुगेर आएको जानकारी पाएपछि क्वारेन्टाइनमा राखेका थियौं,' राजापुर नगरपालिकाका मेयर शिवकुमार चौधरीले भने।
उनीहरु कैलालीबाट फर्किँदा त्यहाँ कोरोना संक्रमित भेटिसकेका थिए। त्यसैलाई आधार बनाएर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो। चैत ५ गते उनीहरु आफन्तका घरमा गएका थिए। सरकारले चैत १० गते साँझ लकडाउन घोषणा गर्यो। त्यसपछि उनीहरु आफन्तको घरमा नै थुनिए।
वैशाख १६ गते भने आफन्तले नै उनीहरुलाई बाइकमा राखेर घर पुर्याए। तर, घरमा बस्न रोक लगाइयो र पठाइयो क्वारेन्टाइनमा। 'आफन्तको बाइकमा चढेर आउनु भएको थियो। त्यहीँबाट हामीले क्वारेन्टाइनमा लगेका थियौं,' मेयर चौधरीले भने।
सँगै रहेकी हजुरआमाको भने कोरोना नेगेटिभ आएको छ। ११ वर्षीय बालिकामा कोरोना कसरी सर्यो? उनले कैलालीबाट नै कोरोना ल्याएकी थिइन्? उनी जुन घरमा पाहुना लाग्न गइन् के त्यही घरमा कोरोना संक्रमित थिए? यतिखेर खोजको विषय बनेको छ।