नयाँ दिल्ली : कोरोनाको इपिसेन्टर मानिएको मुम्बईमा लगतार छैटौं दिन १ हजारभन्दा माथि नयाँ संक्रमित भेटिनु र तामिल नाडूमा पनि ह्वात्तै संख्या बढ्न जाँदा भारतमा संक्रमितको संख्याले ७० हजारको सीमा पार गरेको छ।
दुई दिनअघि ६० हजार पुगेको भारतमा दुई दिनको अन्तरमा नै उल्लेख्य संख्या थपिएको हो। तामिल नाडूमा एकै दिन ७ सय ९८ नयाँ संक्रमित थपिए जुन अहिलेसम्मको सबैभन्दा अधिक हो।
शनिवारमात्र ४ हजार ३ सय ८ जना संक्रमित देखिएका थिए भारतमा। सोमवार यो संख्या ३ हजार ६ सय ७ मा अडिएको छ। भारतको महाराष्ट्रमा कूल संक्रमितको एक तिहाई रहेका छन्।
भारतका चार राज्यहरु महाराष्ट्र, गुजरात, तामिल नाडू र दिल्लीमा मात्रै भारतका कूल संक्रमितको ६६ प्रतिशत रहेका छन्। भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७० हजार ७ सय ९३ पुगेको छ।
सोमवार गुजरातमा ३ सय ४७ र दिल्लीमा ३ सय १० नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा बढी महाराष्ट्रमा १ हजार २ सय ३० नयाँ संक्रमित थपिएका हुन्। कोरोनाका कारण भारतमा अहिलेसम्म २ हजार २ सय ९० जनाको मृत्यु भइसकेको छ भने २२ हजार ३ सय ८० जना ठीक भएर फर्किएका छन्।
सोमवार कोरोनाका कारण मर्नेको संख्या ८२ मा झरेको छ।
यता नेपालसँग सीमा जोडिएको भारती राज्य बिहारमा कोरोनाका थप ५३ संक्रमित भेटिएका छन्। यससहित बिहारमा संक्रमितको संख्याले ७ सयको सीमा पार गरेको छ। बिहारमा ७ सय ४९ संक्रमित छन्।