PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

चिनियाँ मुलकी पत्रकारले प्रश्न सोधेपछि भड्किए ट्रम्प, रोकियो प्रेस मिट



पहिलोपोस्ट

चिनियाँ मुलकी पत्रकारले प्रश्न सोधेपछि भड्किए ट्रम्प, रोकियो प्रेस मिट

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा एक चिनियाँ मुलकी अमेरिकी पत्रकारले प्रश्न सोधेपछि डोनाल्ड ट्रम्प आक्रोशित भएका छन्। सीबीएस न्यूजका ह्वाइट हाउस संवाददाता वेजिया चियाङको प्रश्नपछि विवाद भयो र उनी सम्मेलनबाटै बाहिरिए।

चियाङले ट्रम्पलाई 'कोरोना भाइरस संक्रमणको परीक्षणलाई किन सधैं अरु देशको परीक्षणसँग तुलना गरेको? दैनिक हजारौं नागरिकले ज्यान गुमाइराख्दा यस विषयलाई विश्व प्रतिस्पर्धाका रुपमा हेर्नुको के अर्थ?' भन्ने प्रश्न सोधेकी थिइन्।

उनको प्रश्नको जवाफमा ट्रम्पले भने- 'विश्वको सबै कुनामा मानिसहरुले ज्यान गुमाइरहेका छन्। मलाई लाग्छ तपाईंले यो प्रश्न मलाई होइन चीनलाई सोध्नुपर्छ। चीनलाई सोध्नुस्।'

त्यसपछि ट्रम्पले उनको कुरा नसुनी छेउमा रहेकी सीएनएनकी पत्रकार कैटलान कोलिन्ससँग अन्तर्क्रिया थालेका थिए। तर, चियाङले ती पत्रकारको माइक खोसिन्। र सोधिन्,'तपाईं किन मलाई नै केन्द्रित गरी यो जवाफ दिइराख्नु भएको छ?'

'मैले कसैलाई तोकेर उक्त जवाफ दिएको हो। त्यो जवाफ सबैलाई हो जो अनावश्यक प्रश्न सोध्छन्,' ट्रम्पले जवाफमा भने।

चियाङले आफ्नो प्रश्न अनावश्यक नभएको भन्दै प्रतिवाद गरिन्। उनीहरु बीचको विवादपछि ट्रम्पले कोलिन्सको प्रश्न पनि लिएनन्। बरु सम्मेलन समाप्तीको घोषणा गर्दै बाहिरिए।

ह्वाइट हाउसको रोज गार्डेनमा अप्रिल २७ देखि नियमित पत्रकार सम्मेलन हुँदै आएको छ। त्यहाँ कोरोना भाइरस संक्रमणको परीक्षण छलफल हुन्छ। सुरुदेखि नै ट्रम्‍पले भन्दै आएका छन्, 'संक्रमण परीक्षणमा अमेरिका सबैभन्दा अगाडि छ।'

ट्रम्पले यसअघि पनि सीबीएस न्यूजकै पत्रकारको प्रश्नमा जवाफ दिन नमान्दा विवाद भएको थियो। पत्रकार पाउला रीडले उनलाई गत फेब्रुअरीदेखि कोरोना भाइरस रोक्न के गर्नुभयो? भनेर सोधेकी थिइन्। ट्रम्पले उक्त प्रश्नको जवाफ दिनै चाहेनन्। पटकपटक उनको प्रश्नको जवाफ दिन अस्वीकार गरेपछि उनले रीडलाई नै प्रतिप्रश्न गरेका थिए, 'तपाईंलाई आफू झुटो भएको त थाहा छ नि? तपाईंका समाचारहरु फर्जी हुन्छन् भन्ने थाहा छ नि?'

केहीबेर पाउला र ट्रम्पबीच भनाभन नै भएको थियो।

उनी पत्रकारप्रति सधैं रुष्ट छन्। उनले गत साता पुलित्जर पुरस्कार पाउने पत्रकारहरु चोर भएको आरोप लगाएका थिए। ट्वीटरमा पनि उनी फर्जी समाचार र मिडियाको विरुद्ध धारणा राखिरहेका हुन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell