काठमाडौं : अहिले कोरोना भाइरसको हटस्पटको रुपमा प्रदेश ५ देखिएको छ। भारतसँग सीमा जोडिएका प्रदेश ५ का जिल्लाहरुमा कोरोना भाइरसका संक्रमित दैनिक थपिँदै गएका छन्।
सोमवार साँझमात्र रुपन्देही जिल्लामा पुष्टि भएका छ जना संक्रमितहरु पछिल्लो साता मात्र भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका हुन्।
सोमवार साँझ रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। यिनिहरु सबै मुम्बईबाट आएको गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले जानकारी दिए।
'संक्रमितमध्ये वडा नं १ का दुई जना र वडा नं ४ का दुई जना छन्। उनीहरु दुई दुई जना सँगै आएका थिए,' उनले भने, 'जसमध्ये तीन जनालाई सिधै क्वारेन्टाइनमा राखिएको थियो। एक जना भने घरमा पुगेर खाना खाएको स्थानीयले बताएका छन्। हामी बुझ्दै छौं।'
भारतसँग १४ किलोमिटर खुला सीमानाले जोडिएको सम्मरीमाई गाउँपालिकामा सहजै प्रवेश गर्न सकिने हुँदा मानिसहरु दैनिक आइरहेको उनले जानकारी दिए।
'तीन दिन अगाडिसम्म हाम्रो क्वारेन्टाइनमा ७५ जना थिए। तीन दिनभित्र दुई सयको हाराहारीमा पुगेका छन्,' अध्यक्ष शुक्लाले भने, 'अझै आउने क्रम जारी छ।'
संक्रमण पुष्टि भएका चारै जनाको अवस्था सामान्य रहेको र उनीहरुलाई सोमवार नै बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा पुर्याइएको जानकारी उनले दिए।
यता सोमवार देखिएका संक्रमितमध्ये दुई जना लुम्विनी सांस्कृतिक नगरपालिकाका हुन्। उनीहरु दुवै २४ गते भारतबाट नेपाल आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए। उनीहरुलाई पनि सोमवार नै कोरोना अस्पताल पठाइएको छ।
नगरपालिका भित्रको क्वारेन्टाइनमा रहेका ६२ जनाको थ्रोड स्वाब संकलन गरी कोरोना परीक्षणका लागि काठमाडौं पठाइएकोमा १२ जनाको रिपोर्ट आएको र त्यसमध्ये दुई जना संक्रमित भएको रेग्मीले जानकारी दिए।
नगरपालिकाको क्वारेन्टाइनमा हाल २ सय ५० जना भारतबाट आएकाहरुलाई राखिएको उनले जानकारी दिए।
यो नगरपालिका पनि भारतसँग सीमा जोडिएको नगरपालिका हो।
'तीन दिन अगाडिमात्र भारतको कक्रहवा नाकामा नेपालीहरु भेला भएका थिए। हामीले उनीहरुलाई सुनौली वा कृष्णनगर नाकाबाट आउन भनेर पठाएका थियौं। त्यतिबेला उनीहरु त्यहाँबाट तितरबितर भए। पछि कहाँबाट छिरे थाहा भएन,' उनले भने, 'कपिलबस्तुमा नदी र जंगल छ त्यहीबाट आएका हुन भनेर हामीलाई प्रहरीले भनेका छन्।'
सीमामा बीओपीका कारण दिनमा नियन्त्रण भए पनि रातमा नियन्त्रण गर्न गाह्रो भएको उनीहरुले बताउँछन्।
कपिलबस्तुको सीमावर्ती मायादेवी गाउँपालिकासँग जोडिएको छ। मायादेवी गाउँपालिकामा पनि कोरोनाका पाँच संक्रमित फेला परेका छन्। उनीहरु पनि भारतबाटै नेपाल आएका हुन्। त्यस्तै सोमवार कपिलबस्तुका यशोधरणा नगरपालिका र बुद्धभूमि गाउँपालिकामा १६ जना संक्रमित फेला परेका छन्। उनीहरुको कनेक्सन पनि भारतसँग छ।