PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नाकामा नागरिक रोकेर, चोरबाटोबाट कोरोना! [सम्पादकीय]



पहिलोपोस्ट

नाकामा नागरिक रोकेर, चोरबाटोबाट कोरोना! [सम्पादकीय]

भारतका औद्योगिक शहरहरुबाट उत्तर प्रदेश र बिहारतिर लागिरहेका श्रमिकको कथा भारतीय मिडियामा यतिखेर छरपस्ट छ। कोरोनाको संकटबाट बच्न कामदारलाई उनीहरुको थातथलोतिर पठाउने भारतीय रणनीतिको सोझो असर नेपालमा पनि पर्न थालेको छ। कपिलबस्तुमा हिजोमात्र थपिएका ६ जना कोरोना संक्रमितहरु यसैगरी मुम्बईबाट नेपालसम्म आइपुगेका थिए। उनीहरुमात्र होइन, पछिल्लो समय जति कोरोना संक्रमित थपिएकाहरु छन् - अधिकांश भारतबाट नेपाल छिरेका हुन्। कोरोनासँगै भारतबाट नेपाल आएकाहरुको यकिन तथ्याङ्क छैन किनकि सरकारले बाटोबाट उनीहरुलाई आउन निषेध गरेको छ। त्यसको विकल्पमा मानिसहरु चोरबाटो छिरिरहेका छन्।

आन्तरिक राजनीतिको किचलोमा फसेका प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाको विषयमा ढुक्क छन्। भान्सामा जडीबुटी पाक्ने भएकाले कोरोना प्रतिरोधात्मक क्षमता नेपालीमा रहेको प्रवचन दिइसकेका छन् उनले। अस्पताल, डाक्टर र नर्स पनि धेरै नचाहिने भन्दै उनले नेपालीको प्रतिरोधात्मक क्षमताको प्रशंसा गरेका छन्। काठमाडौंमा सहज बनेको लकडाउनले देश संकटमा छ भन्ने प्रतीत हुन दिन्न यतिखेर। त्यसकारण पनि प्रधानमन्त्री ढुक्क छन्। किनकि सिंहदरबारको सबैभन्दा ठूलो विशेषता भनेकै के हो भने - यसले काठमाडौं उपत्यकालाई देश देख्छ, काठमाडौं सुरक्षित भयो भने देश सुरक्षित ठान्छ। प्रधानमन्त्री ओली अपवाद होइनन्।

ओली सरकारका गृह मन्त्री रामबहादुर थापा पनि निर्धक्क छन्। सीमामा सशस्त्र प्रहरी खटाइएको छ, प्रहरीले कोरोना रोक्नेछ भन्ने भ्रमबाट मुक्त हुन आवश्यक छ। प्रहरी खटाएकै भरमा गृह प्रशासन ढुक्क हुँदा कोरोनाको कहरमा फस्ने खाडल बनिरहेको छ। निषेधकै भरमा कोरोनासँग लड्छु भन्ने सरकारको दृष्टिकोण हो भने त्यो सबैभन्दा ठूलो भ्रम हुँदैछ। सरकारले बुझ्न आवश्यक छ - कोरोनासँगै रहेर अबको लडाई लड्नुपर्छ। बैध बाटो बन्दमात्र गरिँदा अबैध बाटोहरु राजमार्गका रुपमा रुपान्तरित हुनेछ। मानिसहरु त्यही राजमार्गबाट हिँड्नेछन्। लुकीछिपी आएका मानिसहरुमाथि गरिएको परीक्षण यतिखेरका लागि 'टिप अफ आइसबर्ग'मात्र हो, पानीमुनिको हिउँको चट्टान कति ठूलो छ टुप्पोकै भरमा अनुमान गर्न सकिन्न। कोरोना संक्रमितको संख्या अहिले त्यही हिउँ पहाडको टुप्पोमात्र हुनसक्छ।

भारतको बिहारका लागि छुटेका केहीमात्र रेल पटनासम्म आएका छन्। आजबाट आशिंक रेल सेवा सुरु भएको छ। गोवादेखि बिहार र उत्तर प्रदेशसम्म रेल सेवा जोडिँदैछ - श्रमिकहरुलाई बोकेर। कोरोना संक्रमणबाट जोगिनका लागि आप्रवासी कामदारलाई उनीहरुको ठाउँमा फिर्ता पठाउनुलाई सबैभन्दा सहज उपाय ठानिरहेका छन्, भारतका राज्य सरकारहरुले। उनीहरुले चलाएको श्रमिक रेलका डिब्बाहरुमा भारतीयमात्र होइन, नेपाली श्रमिकहरु पनि आउने निश्चित छ। बिहार र उत्तर प्रदेश हुँदै नेपाली सीमासम्म उनीहरु आइपुग्नेछन्। उत्तर प्रदेशका मुख्यमन्त्रीले त नेपालीहरुलाई सीमासम्म पुग्ने व्यवस्था मिलाउन नै निर्देशन दिइसकेका छन्।

त्यसपछिको विकल्प के? यसरी सीमासम्म आइपुगेका नेपालीले के गर्ने? आफैँ अनिर्णयको बन्दी बनिरहेको सरकारले बैध बाटोबाट आएकालाई रोक्ने बाहेक अबैध बाटो बन्द गर्न सकेको छैन। हिजो थपिएका अधिकांश कोरोना संक्रमितहरु चोरबाटोबाट भित्रिएका थिए। लुकीछिपी भारतबाट भित्रिनेका कारण सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा मानिसहरुको संख्या दिन दुगुना, रात चौगुना बढिरहेको छ। जहाँ स्थानीय निकाय सक्रिय भएको छ, त्यहाँ यसरी भित्रिएका मानिसलाई क्वारेन्टाइनमा राखिएको छ। तर, सबैठाउँमा स्थानीय निकायको उपस्थित देखिन्न। मानिसहरु राति सीमाबाट लुकेर भित्रिएका छन् र आफ्नो घर पुगेका छन्।

सीमामा संक्रमितको संख्या जसरी बढिरहेको छ, त्यसलाई नियन्त्रणमा लिने हो भने सरकार अहिलेजस्तो सुतेर त सम्भव नै छैन। नाकाबाट व्यवस्थित तरिकाले मानिसहरु भित्रिएका हुन्थे भने तथ्याङ्कहरु पनि सही मिल्न सक्थ्यो, क्वारेन्टाइन व्यवस्थित हुनसक्थ्यो। उनीहरुको परीक्षण पनि व्यवस्थित हुनसक्थ्यो। तर, नामको लकडाउन, नाममात्रकै सीमा बन्दले आवतजावत रोक्न सकेको छैन।

त्यसैले व्यवस्थित रुपमा नेपालीलाई देश भित्र्याउनु, लामो समय क्वारेन्टाइनमा राख्नु र पर्याप्त परीक्षण गर्नुको विकल्प छैन। स्थानीयले कहिलेसम्म गौडागौडा कुरेर आएकाहरुलाई क्वारेन्टाइनमा पुर्‍याइरहन सक्छन्? त्यसकारण भारतबाट अनियन्त्रित रुपमा भिडका भिड अबैध बाटो हुँदै नेपाल छिर्नुअघि नै सरकारले उनीहरुलाई व्यवस्थित भित्र्याउने रणनीति बनाइहाल्न आवश्यक छ। स्थानीयलाई गौडा कुरिरहनुपर्ने अवस्था अन्त्य होस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell