PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कालापानीभन्दा १२ किलोमिटर वर नै बस्दै सशस्त्रको बिओपी जहाँ पहिल्यैदेखि छ प्रहरी



कमलराज भट्ट

कालापानीभन्दा १२ किलोमिटर वर नै बस्दै सशस्त्रको बिओपी जहाँ पहिल्यैदेखि छ प्रहरी

काठमाडौं : 'छाङरुमा सशस्त्र उपस्थिति सकारात्मक छ। तर, त्यसैलाई कालापानी नसम्झौं। नलेखौं। त्यहाँबाट कालापानी कति टाढा छ? हेक्का राखौं। भुगोल चिनौं।'

कञ्चनपुरका पत्रकार राजेन्द्र नाथले सोमवार साँझ फेसबुकमा लेखेका छन्।

सरकारले छाङरुमा सशस्त्रको बीओपी स्थापना र बुधवार सेनाको हेलिकोप्टरबाट टोली खटाउने तयारी गरिरहँदा धेरैले कालापानीमै सुरक्षाकर्मी पठाउन लागेको बुझेका छन्। त्यसैलाई जवाफ दिँदै कालापानीमा २०६० सालमा भारतीय सेनाको क्याम्पमै कुटाई खाएर फर्किएका पत्रकार नाथले प्रष्टिकरण दिएका हुन्। उनले फेसबुकमा लामो स्टाटस समेत राखेका छन् यसबारे।

तत्कालीन माओवादी कार्यकर्ता तल छाङरुमा बसेर तस्करहरुबाट पैसा असुलिरहेका थिए चीनतर्फ बाघको हड्डि र यार्चा सुरक्षित...

Posted by Rajendra Nath on Sunday, May 10, 2020

सशस्त्र र नेपाल प्रहरी सेनाको हेलिकप्टरबाट जाने

यसैबीच सरकारले नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी र बन्दोबस्तीका सामान छाङरु पठाउने भएको छ। यसका लागि गृह मन्त्रालयले सेनालाई हेलिकोप्टर उपलब्ध गराउन भनेको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हेलिकोप्टर बुधवार दार्चुला जाँदैछ।

यता दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले आइतवार सुरक्षा समितिबाट निर्णय गरेर हेलिकोप्टरका लागि केन्द्रमा मागपत्र पठाइएको बताए।

‘दुई/चार दिनमा उपलब्ध होला। दुई वटा प्रहरी चौकीका जवान र सशस्त्र प्रहरी तथा बन्दोवस्ती सामान पठाउन हेलिकोप्टर आवश्यक छ। दुई/तीन खेपमा पुर्‍याउँछ होला,' उनले भने।

छाङरुमा सशस्त्रको नाइट डेस्क क्याम्प बनाइने र सधै बस्ने सहायक सिडिओ कुँवरले जानकारी दिए।

'३५ जनाको टिम तयार छ। सबै बन्दोबस्तीका सामग्री किनेको छ। पैसा पनि आएको छ। हतियारहरु पनि रेडी नै छ,' उनले भने, 'मौसमका कारण जान ढिलाई भयो। गर्मी लागिसक्नुपर्ने। अहिलेसम्म हिउँ परेको पर्‍यै छ। पानी परेको पर्‍यै छ। बाटो नभएकाले हेलिकोप्टरबाट जनशक्ति र सामग्री जान्छ।'

उनले हेलिकोप्टरमा सशस्त्रको ३५ जना र नेपाल प्रहरीको दुईटा चौकीका जनशक्ति जाने र तीन/चार खेपमा सबै पुर्‍याउने बताए। उनले कालापानी र लिपुलेकबारे पछिल्लो जानकारी नभएको र त्यहाँ हिउँ परिरहेको बताए।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी प्रविन कुमार श्रेष्ठले छाङरुमा टोली पठाउने तयारी अन्तिम चरणमा पुगेको बताए।

'बन्दोवस्ती हातहतियार र जनशक्तिको तयारी गर्दैछौं। कसको कमाण्डमा कति जना पठाउने भन्ने अप्रेशन विभागले हेरिरहेको छ,' उनले भने, 'कति हतियार पठाउने, कति अरु इक्वेपमेन्टस् पठाउने भन्ने तयारीमा छौं। केन्द्रबाट पनि जान्छ। जिल्लाबाट पनि जान्छ। हामी बीओपी स्थापनाका लागि अन्तिम तयारीमा छौं।'

आफूहरु छिटोभन्दा छिटो पठाउनेमै लागिरहेको भन्दै उनले यसका लागि गृह मन्त्रालयसँग र जिल्लामा समन्वय भइरहेको बताए।

सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक डम्बरबहादुर बिष्टले छाङरुमा बीओपी स्थापनाको सबै तयारी पूरा भएको बताए। बन्दोबस्तीका सामान, हातहतियार, मेडिकल सामाग्री र ६ महिनाका लागि पुग्ने रासनलगायतको तयारी गरिएको उनले जानकारी दिए।

छैन सहज

पत्रकार नाथले भनेजस्तै काठमाडौंमा कालापानी र लिपुलेक प्रकरणले राजनीति तातिएको छ। चारैतिरबाट दबाबमा परेको सरकारले दार्चुलाको व्यास गाउँपालिकाको छाङरु गागाबगरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना नहुँदै सुरक्षाकर्मीको टोली पठाउँदैछ। गागाबगरमा नेपाल प्रहरीको चौकी छ। चौकी भएकै क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको हो।

यहाँ बीओपीका लागि स्थानीयले जमिन उपलब्ध गराएका छन्। अत्याधिक चिसो (वर्षा र हिउँले) यहाँ प्रहरी वर्षायाममा वैशाखदेखि असोजसम्म ६ महिनामात्रै बस्छ। यसवर्ष वैशाखसम्मै हिउँ र वर्षा भइरहेकाले अझै प्रहरी जान सकेको छैन। हिउँले घरहरु पुरै ढाक्छ। खानेपानीको समेत समस्या छ।

अब स्थापना हुने सशस्त्र प्रहरी बीओपीमा भने सशस्त्रका जवानहरु बाह्रै महिना बस्ने र उनीहरु बस्ने बीओपी जाडो मौसममा बस्न मिल्ने गरी निर्माण गरिने दावी गरिएको छ।

गागाबगरमा नेपाल प्रहरीसँगै भन्सार र सीमा प्रशासन पनि ६ महिना बस्छ। हिउँद सुरु भएपछि शौका समुदायको बाहुल्यता रहेको छाङरुमा स्थानीयसमेत सदरमुकाम खलंगातिर झर्छन्। स्थानीय ६ महिना छाङरु र ६ महिना खंलगा बस्छन्। यहाँका स्थानीय तिब्बतसँग व्यापार, जडिबुटी (यार्सा) संकलन तथा इष्टकूल देवताको पुजापाठका पुर्ख्यौली थलो छाङरुमा ६ महिना बस्छन्। छाङरु र तिंकरमा गरी १ सय ५० परिवार बस्छन्।

कालापानीमा दुई पटक र छाङरुमा पटकपटक पुगेका पत्रकार विक्रम गिरीले दिएको जानकारीअनुसार हिउँदयाममा छाङरुबाट प्रहरीहरु ४२ किलोमिटर तल व्यास गाउँपालिका (साविका राप्ला गाविस) दुम्लिङ आएर बस्छन्। यो बीचमा मानव बस्ती छैन।

छाङरुदेखि कालापानी करिब १० देखि १२ किलोमिटरसम्म दक्षिणमा पर्छ। छाङरुबाट तिंकर १४ किलोमिटर उत्तरमा पर्छ। तिंकरबाट तिब्बत सीमा पुग्न हिँडेर ५/६ घण्टा लाग्छ।

बाह्रै महिना सशस्त्र बस्न चुनौती

छाङरु र तिब्बततिरको तिंकरमा ६ महिना मानव बस्न कठिन छ। हिउँले पूरै घर ठाक्छ। बाहिर निस्किन मिल्दैन। भित्र पिउने पानीसमेत पाउन गाह्रो हुन्छ। यस्तोमा कुनै विशेष सुविधाविना छाङरुमा सुरक्षाकर्मी बस्न सम्भव नरहेको बताउँछन्।

'कालापानीमा भारतीय फौज हिउँदमा अण्डरग्राउण्ड भएर बस्छ। हेलिकप्टरबाट निरन्तर मौसमबाट बच्ने बन्दोबस्तका सामान ल्याएर मौज्दात गरिन्छ। कोइला पोलेर मौसमलाई आफू अनुकूल तातो बनाएर बस्छन्। सुटबुटदेखि स्वास्थ्य उपचारसम्म सबै व्यवस्था हुन्छ। धेरै लगानी छ,' उनले भने, 'नेपालतिर सामान्य स्थितिमा सुरक्षाकर्मी बस्ने भन्ने असम्भव जस्तै हो।'

यद्यपि, अर्धसैन्य बल कालापानी नजिकै आउनु सकारात्मक सुरुवात भएको उनी बताउँछन्। बाह्रै महिना राख्न आवश्यक सबै प्रबन्ध मिलाउनुपर्ने उनको सुझाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell