काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको अपडेटमा आज रुपन्देहीमा ९ जना नयाँ संक्रमित पुष्टि भएका छन्। आज मात्र रुपन्देहीमा संक्रमण पुष्टि भएका सबै संक्रमित भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका व्यक्ति हुन्।
९ जना संक्रमित जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाका रहेको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका प्रवक्ता रेसमलाल चौधरीले जानकारी दिए।
संक्रमितलाई अहिले बुटवल स्थित धागो कारखानामा तयार गरिएको कोरोना विशेष अस्पतालमा पठाउने तयारी भइरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए।
योसँगै नगरपालिकामा संक्रमितको संख्या ११ पुगेको छ। आज संक्रमण पुष्टि भएकाहरु सबै वैशाख २७ गते मात्र नेपाल प्रवेश गरेको उनले जानकारी दिए।
यसअघि संक्रमण पुष्टि भएका दुईजना पनि भारतबाटै नेपाल प्रवेश गरेका हुन्। संक्रमणको खतरा बढिरहेको र लकडाउनबीच खुला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्नेको संख्या बढिरहेको उनले जानकारी दिए।
नगरपालिका भित्रको क्वारेन्टाइनमा रहेका ६२ जनाको थ्रोड स्वाब संकलन गरी कोरोना परीक्षणका लागि काठमाडौं पठाइएकोमा सोमवार १२ जनाको रिपोर्ट आएको थियो। त्यसमध्ये दुई जनामा संक्रमण पुष्टि भएको थियो। 'आज ९ जना मा संक्रमण पुष्टि भएको छ। तर कति जनाको रिपोर्ट आएको हो भन्ने अझै एकीन भएको छैन,' रेग्मीले भने।
नगरपालिकाको क्वारेन्टाइनमा हाल २ सय ५० जना भारतबाट आएकाहरुलाई राखिएको उनले जानकारी दिए। नगरपालिकाले लुम्बिन बौद्ध विश्वविद्यालय र श्रीलंकन होटेलमा क्वारेन्टाइन बनाएर भारतबाट आएकालाई राखेको थियो। यी दुई क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब संकलन गरिएको थियो।
भारतबाट लुकिछिपी आउने क्रम बढेसँगै नगरपालिकाले विभिन्न विद्यालयमा क्वारेन्टाइन तयार गरेर भारतबाट फर्किएकाहरुलाई राख्न थालेको छ।
'तीन दिन अगाडिमात्र भारतको कक्रहवा नाकामा नेपालीहरु भेला भएका थिए। हामीले उनीहरुलाई सुनौली वा कृष्णनगर नाकाबाट आउन भनेर पठाएका थियौं। त्यतिबेला उनीहरु त्यहाँबाट तितरबितर भए। पछि कहाँबाट छिरे थाहा भएन,' उनले भने, 'कपिलबस्तुमा नदी र जंगल छ त्यहीबाट आएका हुन भनेर हामीलाई प्रहरीले भनेका छन्।'
सीमामा बीओपीका कारण दिनमा नेपाल आउनेको संख्या नियन्त्रण गर्न सकिएपनि रातमा नियन्त्रण गर्न गाह्रो भएको उनी बताउँछन्।
सोमवार साँझमात्र रुपन्देही जिल्लामा पुष्टि भएका थप चार जना रुपन्देहीकै सम्मरीमाई गाउँपालिकाका हुन्। उनीहरु पनि १० दिन अगाडि भारतबाटै नेपाल प्रवेश गरेका थिए। भारतसँग १४ किलोमिटर खुला सीमानाले जोडिएको सम्मरीमाई गाउँपालिकामा सहजै प्रवेश गर्न सकिने हुँदा मानिसहरु दैनिक आइरहेको गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले बताए।
सो गाउँपालिकामा करिब दुई सय जनालाई क्वारेन्टाइनमा राखिएको र भारतबाट आउनेक्रम जारी रहेका कारण यो संख्या बढ्ने उनले बताए।
यसअघि रुपन्देहीमा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका एक जना युवा पनि वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए।