काठमाडौँ : कोरोना संक्रमिति थपिएपछि जिल्ला प्रशासन कार्यालय बाराले लकडाउन थप कडाइ गर्ने निर्णय गरेको छ। आज बसेको सिएमसीको बैठकले निषेधाज्ञा जारी गरेको सूचना दिएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी भएको प्रशासनले जानकारी दिएको छ। पर्सा र बारा जिल्लामा बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमित बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै पर्सा, बिरगंजबाट बारा जिल्लामा कार्यालय तथा अन्य प्रयोजनका लागि हुने दैनिक आवात जातलाई (अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत्, सञ्चार, खानेपानी, बैङ्क, खाद्यान्न, दूध, पानी, ग्याँस, तेल, तरकारी, औषधी, एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरू (चार पाङ्ग्रे तथा मोटरसाइकल समेत) लाई पूर्ण रूपमा सञ्चालन बन्देज लगाउने निर्णय गरेको हो।
त्यस्तै उद्योग तथा प्रतिष्ठान, बैङ्क, कार्यालय, ठुला आयोजनाहरू तथा अन्य संस्थाहरू सञ्चालन गर्दा पर्सा वीरगंजमा रहने कर्मचारी तथा कामदारहरूलाई कामकाजमा नलगाउने, उद्योग प्रतिष्ठान भित्र रहेर स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड पूर्ण पालना गर्ने, कर्मचारी कामदारहरूलाई आफ्नै होस्टेल (क्वाटर) मा राखी सञ्चालन गर्ने उद्योगीहरूले मात्र उद्योग व्यवसाय सञ्चालन गर्ने, अन्य अवस्थामा सञ्चालन नगर्ने निर्णय भएको छ। छिमेकी राष्ट्र भारतसँग जोडिएका सिमानाकाहरुमा आवतजावत पूर्ण रूपमा बन्द गर्ने र अत्यावश्यक कामका बाहेक अन्य कोही पनि व्यक्तिहरू घर बाहिर निस्कन नदिने निर्णय गरेको हो।