PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

एन्फा डे विवाद प्रकरण: काँक्रो लिग कमिटी भनेको के हो? देखि 'चोरहरुको श्रीगणेश'सम्म



मुकुन्द घिमिरे

एन्फा डे विवाद प्रकरण: काँक्रो लिग कमिटी भनेको के हो? देखि 'चोरहरुको श्रीगणेश'सम्म

काठमाडौं : बैशाख २२ गते। अर्थात कर्माछिरिङ शेर्पा नेतृत्वमा आएको दिन। अघिल्लो वर्षबाट मात्र एन्फाले यो दिनलाई 'एन्फा डे' का रुपमा मनाउन थालेको हो। एकलौटी रुपमा आफू नेतृत्वमा आएको दिनलाई एन्फा डे घोषणा गरेको भन्दै नेतृत्वको चर्कै आलोचना भयो। अझ एन्फा पूर्वअध्यक्ष गणेश थापाले त यसलाई 'कालो दिन' भन्दै आएका छन्।

यसपटकको एन्फा डे फरक रह्यो। कोभिड १९ को प्रकोप र सरकारले लागू गरेको लकडाउनका कारण एन्फाले कुनै औपचारिक कार्यक्रम राखेन। कार्यक्रम नभए पनि विवाद चाहीँ भएरै छाड्यो।

विवाद थियो एन्फाका ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापाले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई लक्षित गर्दै लेखेको म्यासेज। ए, बी र सी डिभिजन क्लब भन्ने भाइबर ग्रुपमा एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले एन्फा दिवसको शुभकामना यसरी दिए - आज वैशाख २२ गते 'एन्फा दिवस' सम्पूर्ण फुटबल परिवारमा हार्दिक शुभकामना। सचेत रहौं। सुरक्षित बसौं। जय नेपाली फुटबल।'

त्यसपछि केही पदाधिकारीले सामान्य रेस्पोन्स गरे पनि थापाले भने आक्रामक रेस्पोन्स गरे।

'आज एन्फा डे होइन चोरहरुको श्रीगणेश डे हो,' उनले रिप्लाई गरेका थिए।

एन्फा नेतृत्वसँग भ्रस्टाचारको आरोप लगाउनेदेखि विभिन्न प्रकरणहरुमा गम्भीर असहमति जनाउँदै आएका उनलाई  एन्फाले स्पस्टीकरण नै सोध्ने अवस्था आयो।

एन्फाले वैशाख २४ गते उनलाई पत्र पठाउँदै स्पस्टीरण नै सोध्यो। ४८ घन्टाभित्र उनले लेखेको आपत्तिजनक टिप्पणीबारे स्पस्टीकरण दिन भन्दै पत्र पठायो। एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको उक्त पत्रमा वैशाख २६ गते साँझ ५ बजेसम्ममा स्पस्टीकरण दिइसक्न भनेको छ।

यही प्रकरणलाई लिएर एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफू नेतृत्वमा हुँदा कार्यसमितिका पदाधिकारीले यस्तै क्रियाकलापहरु गरेको भन्दै पुरुषोत्तम थापालाई लिइएको स्पस्टीकरणप्रति नै आपत्ति जनाए।

'व्यक्तिगत सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकोमा ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापालाई २४ घण्टे समय दिएर किन कारवाही नगर्ने भनेर अखिल नेपाल फुटबल संघले स्पष्टीकरण सोधेकोमा आश्चर्यचकित भएको छु,' थापाले फेसबुकमा लेखेका छन्, 'हिजोका दिनमा तत्कालीन उपाध्यक्ष हाल वर्तमान अध्यक्षले एन्फा र मप्रति गरेका सार्वजनिक अभिव्यक्तिहरू पुन एकपटक हेर्नको निमित हार्दिक अनुरोध गर्न चाहन्छु। जुन ढंगले एन्फा निरंकुशतर्फ अगाडि बढिरहेको छ। यसको म घोर भर्त्सना गर्न चाहन्छु।'

यो प्रकरण यतिमै रोकिएन। पुरुषोत्तम थापाले स्पस्टीकरणमा प्रश्नमाथि प्रतिप्रश्न गर्दै स्पस्टीकरण बुझाए।

यसमा उनले आफू एन्फाको सदस्य भएको र एन्फाले आफ्नो भावना माथि खेलवाड गरेको आरोप लगाएका छन्।

'म एन्फाको सदस्य हो कि होइन? के मैले एन्फा डे मनाउन नपाउने? अनि हाम्रो भावनासँग एन्फाले खेलबाड गर्न पाउने?' प्रश्नमाथि प्रश्न तेर्साउँदै उनी लेख्छन, 'एन्फा डे भनेर खुशी भएर मनाउँदा हामी दुखी भएर बस्नु पर्ने?अनि हाम्रा सन्ततिले एन्फा डे किन मनाएको वैशाख २२ गते भन्दा हामीले के जवाफ दिने? चुनाव हारेको दिन भन्ने?'

यस्तै प्रश्नमाथि प्रश्नहरु छन् उनको स्पस्टीकरणमा। १७ जनाको कार्यसमितिको मात्र एन्फा डे हुनु नहुने बताउँदै सबैले छाती फुलाएर एन्फा डे मनाउने अधिकारको एन्फा नेतृत्वले हनन गरेको दाबी गरेका छन्।

'एन्फा डे १७ कार्यसमिति सदस्यको मात्र हो? अनि हामीले छाती फुलाएर एन्फा डे भन्न नपाउने? हाम्रो कुनै अधिकार छैन? योगदान छैन?' स्पस्टीकरणमा उनले लेखेका छन्।

एन्फाले सोधेको स्पस्टीकरणअनुसार प्रतिशोधको कारण र कसैलाई इङकित नगरेको बताएका छन्।

'तमाम प्रश्नहरु मनमा उब्जेकाले मैले प्रतिशोधले त्यो शब्द प्रयोग गरेका होइन। र कसैलाई मैले इङकित गरेको पनि होइन,' उनले लेखेका छन्, 'यदि कसैलाई चोट या हानी पुगेको भए क्षमा या सरी भन्दै आगामी दिनमा यस्तो शब्द प्रयोग गर्ने छैन'

साथै फिफा या एएफसीसँग आबद्द भएको दिन या दक्षिण एसियाली गेमको सुरुवात पनि नेपालबाटै भएकाले त्यसदिनलाई एन्फा डे का रुपमा मनाउन पनि सुझाव दिएका छन्।

त्यस्तै थापाले वर्तमान एन्फाका मानार्थ सदस्य रुपेश अधिकारीले विराट संघ्रिला भन्ने ग्रुपमा एन्फा प्रदेश लिग कमिटीलाई 'काँक्रो लिग कमिटी' भनेको स्क्रिनसट सेयर गर्दै आफूलाई स्पस्टीकरण लिएको प्रति ब्यंग्यसमेत गरेका छन्।

'एक नम्बर प्रदेश लिग कमिटिलाई कांक्रो लिग कमिटीभन्दा  के पढ्यौ एन्फा? के गर्यौ? के भन्यौ? के बुझ्यौ? कांक्रो लिग कमिटी पनि छ र एन्फा?  के हो कांक्रोको  अर्थ?  सिंगो एन्फालाई प्रश्नसहित अर्थ भन्न र फरक छुट्याउन अनुरोध गर्दछु।' सामाजिक सन्जालमा स्क्रिनसट सेयर गर्दै उनले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell