PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

काठमाडौंमा प्रदर्शन चर्किँदा कालापानी क्षेत्रका बासिन्दालाई बाटोको पिरलोः सिडिओ कार्यालय धर्नामा पुगेका भन्छन्, कहिलेसम्म भारतको बाटो हिड्ने?



कमलराज भट्ट

काठमाडौंमा प्रदर्शन चर्किँदा कालापानी क्षेत्रका बासिन्दालाई बाटोको पिरलोः सिडिओ कार्यालय धर्नामा पुगेका भन्छन्, कहिलेसम्म भारतको बाटो हिड्ने?
फोटो/भिडियो : भोजराज जोशी

काठमाडौं: भारतद्वारा अतिक्रमित भूमि कालापानी र लिपुलेक छेउका नेपाली गाउँका बासिन्दाले नेपालतिरैबाट आफ्नो गाउँ जाने बाटो बनाइदिन माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको गेटमा मंगलवार धर्ना बसेका कालापानी र लिपुलेक क्षेत्रको छाङरु, तिंकरका स्थानीय बासिन्दाले बाटो माग्दै नाराबाजी गरेका हुन्।

उनीहरु दार्चुलाको विकट उत्तरी व्यास गाउँपालिका १ स्थित छाङरू र तिंकरमा ६ महिना बस्छन् भने ६ महिना सदरमुकाम खलंगा। हिउँद लागेपछि सदरमुकाम आउँछन् भने बर्खा लागेपछि माथि उक्लिन्छन्। यसपालि बर्खा लाग्दा जान एक महिना ढिलो भइसक्यो। विगतमा भारतीय बाटो प्रयोग गरेर आफ्नो थातथलो उक्लिने उनीहरु यसपाली लकडाउनले रोकिएका छन्।

लकडाउनले भारतीय बाटोमा प्रवेशका लागि अनुमति नपाउँदा खेतपातीको समेत मौसम प्रतिकूल बनेको छ। लकडाउनले भारतीय बाटो प्रयोग गर्न नपाएको र नेपाली घोरेटो बाटो नहुँदा सदरमुकाममै रोकिन बाध्य भएपछि छाङरु र तिंकरका स्थानीय सिडिओ कार्यालय अगाडि धर्ना बसेका हुन्। यहाँ शौका समुदायको बाहुल्यता छ।

छाङरुबाट कालापानी नजिक छ भने तिंकरबाट तिब्बत सीमा नजिक पर्छ।

धर्ना कार्यक्रममा शौका समुदायका अगुवा छाङरु निवासी धनराज सिंह ऐतवालले कहिलेसम्म भारतको बाटो जाने सधैंभरि भनेर प्रश्न गरे।

‘यसपाली लकडाउनले भारततर्फको बाटो बन्द छ। हाम्रा पशु-चौपाया चिसो ठाउँमा बस्ने हो। चौपायाका लागि सबैभन्दा मुस्किल समय छ। तत्कालै माथि लैजान सकेनौँ भने जनावर मरेर हाम्रो विजोग हुन्छ। त्यसकारण हामी नेपाली व्यक्ति हो र नेपाल सरकारको जनता हो भने तुरुन्त व्यासको बाटो सञ्चालन गरिदेओस्,’ उनले भने।

धर्नामा बसेका व्यासका बासिन्दालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले दुबै देशमा लकडाउन हुँदा प्राविधिक हिसाबले गत वर्षजस्तै सुविधा लिएर सीमाबाट पारी जानलाई कठिनाई भएको बताए।

‘प्राथमिकताका साथ भारतीय काउन्टरपार्टसँग कुरा गरिरहेको छु। डिएम, एसडिएमले पनि आफूले कुरा गर्न नसक्ने, केन्द्र सरकारले गरेको निर्णय भएकाले माथिको निर्णय पर्खिरहेका छौँ भन्ने जानकारी दिएका छन्। आजको ५ दिनपछि १७ तारिखमा भारतको लकडाउन सकिन्छ। लकडाउनसम्म प्रतीक्षा गरिदिन उनीहरुले आग्रह गरेका छन्,’ उनले भने।  

छिमेकी देशसँग कहिले सम्बन्ध सहज हुने र कहिले सौहार्द वातावरण नहुने भन्दै आफ्नै बाटो बनाउनु दिगो समाधान भएको उनको भनाई थियो।

‘यस्तोमा दिगो उपाय भनेको आफ्नै क्षेत्रबाट बाटो बनाउने हो। यसमा प्रशासन कार्यालयको पहलमा नेपाली सेनालाई जिम्मा लगाइसकिएको छ। लकडाउनले निर्माण सुरु गर्न कठिनाई भयो। दीर्घकालिन हिसाबबाट तपाईँहरुको माग सम्बोधन भइसकेको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने।  

तत्कालको लागि खेतीपाती र पशुपंक्षी चौपाया लिएर जान पाउने विषयमा आफूले पहल गरिरहेको तथा केन्द्र र प्रदेशमा जानकारी गराएको सुनाउँदै पौडेलले थपे, ‘सम्भवत: छोटो विधिबाट बाटो निर्माण गरेर अहिलेको समस्या समाधान गर्न लागिरहेका छौँ। केही समय पर्खिनुस्।‘

भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडकको ट्रयाक उद्घाटन गरेपछि राजधानी काठमाडौंमा विरोध प्रदर्शन सुरु भएको छ। काठमाडौंमा प्रदर्शन चर्किँदा कालापानी क्षेत्रका बासिन्दालाई भने बाटो नहुँदाको समस्याले पिरोलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell