PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

स्वास्थ्यकर्मीमाथि ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकी बन्द



रासस

स्वास्थ्यकर्मीमाथि ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकी बन्द

बाँके : खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्य चौकीमा ताला लगाइएको छ। स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकी बन्द गरिएको हो। स्वास्थ्य चौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि यसअघि स्वास्थ्यकर्मी र कर्मचारीले प्रहरीसँग सुरक्षा माग गरेका थिए।

उनीहरुले कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्ने धम्की दिएको र कार्यालयमा आई कर्मचारीमाथि अभद्र व्यवहार गरेको स्वास्थ्य चौकी इञ्चार्ज सुदीप पौडेलले बताए। कार्यालय परिसरमै आएर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ज्यान मार्ने धम्की दिएपछि मंगलवारदेखि स्वास्थ्य चौकी बन्द गरिएको छ।

धम्की दिएका कारण काम गर्ने वातावरण नभएकाले सुरक्षाको प्रत्याभूति दिलाउन धम्की दिनेमाथि कानुनी कारबाही गर्न यसअघि इलाका प्रहरी कार्यालय धनौलीमा लिखित निवेदन दिइएको थियो। चौकी इञ्चार्ज पौडेलका अनुसार स्वास्थ्य चौकीमा नजन्मेको शिशुलाई स्वास्थ्य चौकीमै जन्मेको प्रमाणीकरण गरिदिन दबाब दिएपछि उक्त दबाब आफूले अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएको बताए।

वैशाख २६ गते स्वास्थ्य चौकीमा प्रसूति गराउन आएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्य चौकीका कर्मचारीले सुत्केरी व्यथा नलागेको भन्दै घर फर्काएका थिए। घरमै सुत्केरी भए पनि स्वास्थ्य चौकीमै शिशु जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएको थियो।

कोरोना भाइरसको संक्रमणका आशंकामा स्वास्थ्यकर्मीले धमाधम स्वाब संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ। इप्रका धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक प्रहरी पोषणराज थपलियाले घटनाबारे अनुसन्धान भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell