.jpg)
काठमाडौँः नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई सय जना नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवार रातिसम्म संक्रमितको संख्या २१७ पुगेको छ।
माघ १० गते काठमाडौंमा कोरोनाको पहिलो केस देखिएको थियो। त्यसको दुई महिनापछि काठमाडौंमा नै दोस्रो केस देखिएको थियो। त्यस लगत्तै भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको थियो। लकडाउनको ५० औं दिन पुग्दा संक्रमितको संख्या दुईबाट दुई सय नाघिसकेको छ।
स्वास्थ्य मन्त्रालयको वैशाख ३० गतेसम्मको तथ्यांक अनुसार नेपालभर २१७ जनामा संक्रमण देखिएको छ।
भाइरसबाट पहिलो सिकार भएको थियो वाग्मती प्रदेश। त्यसपछि यस भाइरसको प्रभाव अन्य प्रदेशहरुमा परेको थियो। हालसम्म भाइरसको संक्रमण सातमध्ये ६ प्रदेशमा देखिएको छ। २० वटा जिल्लामा भाइरसको संक्रमण फैलिएको छ। कर्णाली प्रदेशमा संक्रमण देखिएको छैन।
भाइरसको कहरबाट सबैभन्दा बढी प्रभावित भएको छ प्रदेश नम्बर २। त्यहाँ कूल ९५ जनामा संक्रमण देखिएको छ। सबैभन्दा बढी संक्रमित पर्सा जिल्ला छ। त्यहाँ ८२ जनामा संक्रमण देखिँदा बारा र रौतहटमा ३/३ जना, सर्लाही,महोत्तरी र धनुषामा २/२ जना र सप्तरीमा एकनामा संक्रमण देखिएको छ।
त्यसपछि प्रदेश ५ मा भाइरसको कहर बढ्दै गइरहेको छ। त्यहाँ ७० जनामा भाइरसको संक्रमण देखिएको छ। यस प्रदेशको तीन जिल्ला भाइरसको हटस्पट बनेको छ। कपिलवस्तुमा २९ जना, बाँकेमा २४ जना, रुपन्देहीमा १६ जनामा संक्रमण देखिँदा बर्दियामा एकजनामा कोभिड १९ पोजेटिभ देखिएको छ।
तेस्रो नम्बरमा छ प्रदेश १। यहाँ ३५ जनामा संक्रमण देखिएको छ। उदयपुरमा ३२ जनामा भाइरसको संक्रमण देखिएको छ। झापामा दुई जनामा संक्रमण देखिँदा भोजपुरमा एक जनामा संक्रमण देखिएको छ।
बाग्मती प्रदेशमा संक्रमितको संख्या १० पुगेको छ। मंगलवारमात्रै काठमाडौंमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ। भक्तपुरमा नयाँ दुई संक्रमित भेटिएका छन्। चितवनमा दुई जनामा संक्रमण देखिएको थियो।
सुदूरपश्चिम प्रदेशको कैलालीमा ४ जना र कञ्चनपुरमा १ जनामा संक्रमण देखिएको छ।
गण्डकी प्रदेशको बाग्लुङमा दुई जनामा भाइरसको संक्रमण देखिएको थियो।
संक्रमितमध्ये ३३ जना निको भएर घर फर्किएका छन्। ३३ जनामध्ये ३ जनामा भाइरसको पुनः संक्रमण देखिएको थियो।