PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वृन्दावनबाट नेपाली नागरिकको प्रश्न : हामी नेपालीका लागि खोई सरकार?



पहिलोपोस्ट

वृन्दावनबाट नेपाली नागरिकको प्रश्न : हामी नेपालीका लागि खोई सरकार?

  • प्रताप सुवेदी -

कोरोना भाइरसले अहिले संसारै लकडाउनमा छ। असर सबैको दैनिकीमा परेको छ नै। त्यसैले मलाई मात्र यस्तो पर्‍यो भन्ने सोचेर यो लेख्दै छैन। कहिले काहीँ आफ्नो शब्द धेरैको आवाज बन्ने अपेक्षासहित लेख्दैछु। तिनको आवाज जो विदेशी भूमिमा छन्। जसको दु:ख आफ्नै घर भित्र, परिवारको साथमा बस्दाबस्दै थाकेकाहरु भन्दा कम छैन। न आफ्नो भूमि, न भाषा। आफन्त त हुँदैनन् नै सरकारको पनि प्राथमितामा पर्दैनन् विदेशमा अन्य देशका नागरिक।

भारतको वृन्दावनमा हामी करिव २ सय नेपाली विद्यार्थी एवं कामदार त्यस्तै चपेटामा परेका छौं। यहाँको सरकारले त सुने पनि नसुनेजस्तै गर्छ। नेपाल सरकारसँग गरेको हारगुहार पनि खोइ किन हो कसैले सुनेका छैनन्।

धादिङको धुनवेसीबाट २०७६ कार्तिक २७ गते संस्कृत सपना बोकेर हिँडेको थिएँ। काठमाडौंबाट नेपाल भारत मैत्री डिलक्स बस चढेर देश छाडेँ।

कार्तिक २८ गते हो विदेशी भूमिमा पाइला टेकेको। यमुना कटबाट साथीले दिएको ठेगाना सोध्दै वृन्दावन पानीघाटमा पुगेँ। भारतको मथुरा जिल्लामा पर्ने यस ठाउँमा पुग्दा लागेको थियो - संस्कृत पढ्ने सपना सहजै पूरा हुने भयो। श्रीमद्भागवतको कुशल अध्ययन हुने भयो। त्यहीँ पढ्ने साथीहरुको पनि कथन उस्तै थियो। त्यसैले नयाँ ठाउँमा नयाँ विषय अध्ययनका लागि उत्साहित थिएँ।

मोतिझिल निर्दोष भगवत् विद्यालय, टटियास्थान तुलशीवन भगवत् विद्यालय र चैन विहारी भगवत् विद्यालय – तीन फरक विद्यालयमा भर्ना भएँ। तालिका नजुँध्ने भएकाले समय मिलाउन गाह्रो भएन। श्रीमद्भागवतको अध्यन पूरा गर्न साँढे दुई वर्ष लाग्छ। मैले ६ महिनामै पढाइ सक्नका लागि पनि तीन ठाँउमा दैनिको तीन पटक पढ्ने आँट गरेको हुँ।

साथीभाइ बनाउने, घुमघामको फुर्सद परको कुरा, पत्रिका किन्न समेत जान भ्याउँदिन थिएँ। रुचीको विषय भएकाले पनि मैले दु:ख र मिहेनतमा मजा लिइरहेको थिएँ। परिवारसँग नियमित सम्पर्कमा छँदै थिएँ।

त्यसैबीच हो सामाजिक सञ्जालमार्फत् फाट्टफुट्ट 'कोरोना भाइरस'को चर्चा चल्न थालेको। सुरुमा त यस विषयमा खासै चासो दिएको थिइँन। तर बिस्तारै हल्ला व्यापक बनेर फैलियो। त्यसभन्दा चाँडो फैलियो कोरोना भाइरस संक्रमण।

लक्षणहरु त फ्लु वा सामान्य रुघा खोकीको जस्तै रहेछ। त्यसैले खासै आत्तिएका थिएनौं। एकाएक चीनमा मानिसहरु मर्न थालेको खबरले भने चिन्तित तुल्यायो। त्यसपछि बल्ल नियमित समाचार हेर्न थाल्यौं। त्यतिन्जेल हामीले अनुमान समेत गरेका थिएनौं – त्यो भाइरस भारतसम्म आइपुग्ला भन्ने।

तर, सोचेजस्तो कहाँ हुन्छ र? यहाँ पनि संक्रमण फैलियो।

मार्च २४ देखि त भारतमा लकडान नै लागू भयो। विद्यालयहरु पनि बन्द भए। त्यस समय हामी आत्तिनुको एउटै कारण - नेपाल भारत सीमा बन्द हुनु। किनकि न भारतमा रहनका लागि पर्याप्त सरसामानको जोहो थियो न त नेपाल फर्कने उपाय नै।

स्थानीयलाई त अप्ठ्यारा थिएन। कोरोनाले पनि तर्साएन उनीहरुलाई। मास्क समेत नलगाइ हिँड्छन् किनकि यो उनीहरुको ठाउँ हो। केही भएको खण्डमा हेर्नलाई परिवार वा आफन्त छन्, सरकार छ।

सरकार वा भगवानकै भरोसा त होला नि प्रहरीले समेत कुनै किसिमको कडाइ गर्दैन उनीहरुलाई।

तर, हामी पराई हौं। मास्क लगाउँदा समेत 'कोरोना कोरोना' भन्दै जिस्काउँछन् यहाँका स्थानीयहरु।

लकडाउन लागू भएको १०, १५ दिनसम्म जनजीवनमा खासै असर परेको थिएन। जब उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगीले लकडाउनमा कडाई गर्ने निर्देशन दिए त्यसपछि यहाँका खाद्यान्न बाहेक अन्य पसल बन्द हुन थाले।

खाद्यान्न र तरकारी पसल चाहिँ बिहान ७ देखि १० बजे र बेलुका ५ देखि ७ बजे खुला रहन्थे। खुला रहेर के गर्नु? तत्काल सबैकुराको भाउ बढ्यो।

त्यसयता म लगायत अन्य विद्यार्थीलाई कोठामा बसेर खान पनि धौधौ छ। घरबाट ल्याएको पैसा पनि घरभाडा तिरेरै सकियो। पैसा मगाउन र पठाउन कठिन छ।

पठाइ हालेको अवस्थामा बैंकसम्म पुग्न पनि सम्भव छैन।

घरमा बाआमालाई यताको सबै समस्या सुनाउन गाह्रो छ। 'ठिकै छु' भन्नुको विकल्प छैन। हरेक पटक फोनमा कुरा हुँदा आमा बुबा रुन थाल्नु हुन्‍छ। म सुन्न सक्दिँन। फोन काटिदिन्छु।

घरमा भए त भोकै भएनी आमाबुबासँग बस्न पाइन्थ्यो। अहिले यहाँको अवस्था उहाँहरुलाई पत्तो छैन, उहाँहरुको यथार्थ खबर मलाई पत्तो छैन। साह्रै चिन्ता लाग्छ। घरकाले धेरै पीर गर्दा मन भक्कानिन्छ। हिँडेरै फर्किउँजस्तो लाग्छ। तर, हिँड्न पनि कहाँ पाउनु? पहरेदार बनेर तैनाथ छन् प्रहरी।

यहाँ संक्रमितको संख्या बढ्दै गएकाले आफूलाई पनि निस्कनु उचित होजस्तो लाग्दैन।

करिव २ सय नेपालीको अवस्था मेरोभन्दा फरक छैन यहाँ। धेरैलाई जन्डिस, एलर्जीले सताएको छ अहिले। अस्पताल जाँदा पनि औषधी लेखेर परैबाट लखेटिदिन्छन्।

नेपाल सरकारलाई यो व्यथा कसले सुनाइदेला? हामीले बोलेको पनि कसैले सुन्दैन। सरकार परको कुरा नेता र संस्था समेत देखिएनन्।

महामारीमा ज्यान प्यारो। त्योभन्दा बढी आफन्त र देश प्यारो हुँदा रहेछन्।

त्यसैले पनि फर्कन चाहन्छौं। यदी हामी संक्रमितै रहेछौं भने पनि आवश्यक सुरक्षा नीति अपनाउँछौं। क्वारेन्टाइनमा बस्छौं। मर्नै परे आफ्नै देशमा मर्छौं।

हाम्रो दूतावाससँग सम्पर्कको प्रयास गरेको हुँ। ‍ह्वाट्सएपमा दुतावासका कर्मचारीलाई नेपाली विद्यार्थीलाई परेको अप्ठ्यारोका बारेमा सुनाएँ।

त्यहाँका एक कर्मचारी देव ढकालले केही गर्न नसक्ने बताए। उनको ठाडो जवाफ थियो - सरकारको निर्णय कुर्नुस्।

अहिलेसम्म पर्खिरहेका छौं। सरकारले कहिल्यै निर्णय गरेन।

कहिलेसम्म हो पर्खनु पर्ने?

के दूतावासको कर्तव्य यति नै हो?

जण्डिस र अन्य रोग पीडित साथीहरु मरे को जिम्मेवार? हाम्रो खबर घरसम्म पुर्‍याउन समेत कोही छैनन्। के विदेशमा रहेका नेपालीको लागि सरकार पनि नभएकै हो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell