PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

खेल मैदानबाट सडकमा साम्बाको ड्युटी : फुटबलमा सफल, सुरक्षाकर्मी हुनुमा गर्व



मुकुन्द घिमिरे

खेल मैदानबाट सडकमा साम्बाको ड्युटी : फुटबलमा सफल, सुरक्षाकर्मी हुनुमा गर्व

काठमाडौं : विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ। जसको कारण खेल गतिविधिहरु रोकिएका छन्। भाइरस नियन्त्रणका लागि अधिकांश देश लकडाउनमा छन्। कोरोनाको संक्रमण बढिरहँदा अझै कति समय यस्तै अवस्था रहने हो टुंगो छैन।

अभ्यास छैन। खेल छैन। प्रतियोगिता छैन। खेलकुद गतिविधि रोकिएसँगै खेलाडीहरु फुर्सदिला बनेका छन्। नेपालमा समेत कोरोनाका कारण खेल क्षेत्र प्रभावित बनेको छ।अधिकांश खेलाडी घरमै छन्। खेलाडीहरुको 'रेगुलर लाइफ' मा परिवर्तन आएको छ।

खेलाडीहरु मध्ये लकडाउनले महिला फुटबलमा नेपाललाई अब्बल साबित गर्दै आएकी 'साम्बा'को दैनिक जीवनमा समेत परिवर्तन ल्याएको छ।

साम्बा अर्थात् सावित्रा भण्डारी।

नेपाल फुटबलमा साम्बोले आफ्नो छुट्टै स्थान बनाएकी छिन्। खेलमा आफ्नो टिमलाई जिताउन गोल गरेर बलियो छाप छोड्ने उनको विशेषता नै हो। राष्ट्रिय टिमका लागि ३८ गोल गरेकी उनी नेपाली महिला फुटबलमा गर्दै सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत हुन्।

राष्ट्रियस्तरका खेलमा उनले जसरी छाप छोडेकी छिन् अन्तर्राष्ट्रिय स्तरमा पनि उनको ओज कम छैन। दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकी उनले भारतीय महिला लिगमा समेत सर्वाधिक गोलकर्ता बन्दै आफ्नो स्तर प्रमाणित गरिन्। दक्षिण एसियाली खेलकुदमा उनले आफ्नो कुल गोलसंख्या ३८ पुर्‍याउँदै नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेकी थिइन्। लगत्तै भारतको महिला लिगमा टिम गोकुलमबाट खेलेकी उनी सर्वाधिक गोलकर्ता बनिन्। टिम च्याम्पियन च्याम्पियन बन्यो। लिगमा उनले १६ गोल गरेकी थिइन्।

यसैले पनि साम्बा जब फुटबल मैदानमा हुन्छिन् देशले उनीमाथि ठूलो अपेक्षा हुने गर्छ।

लकडाउनका कारण साम्बाले मैदान प्रवेश गर्न पाएकी छैनन्। तर फुटबल खेलमा मैदानमा सधैं स्टयान्डबाइ रहने उनी देश विषम परिस्थितिमा रहँदा पनि ड्युटीमा लागि स्ट्यान्डबाइ छिन्।

+++

फुटबल मैदानमा उत्रँदासाम्बाको ड्युटी आफ्नो टिमलाई जिताउनु हुन्छ। हाल उनी छुट्टै मैदानमा छिन्। प्रहरीको रुपमा कोरोनाको महामारीबीच उनी अफ फिल्डमा ड्युटी गरिरहेकी छिन्। फुटबल मैदानमा नेपालका लागि गोल गर्ने साम्बा सशस्त्र प्रहरी बलमा सावित्री भण्डारीका रुपमा महामारीबीच फ्रन्टलाइनमा खटेर देश र जनताको सेवा गरिरहेकी छिन्।

कोरोनाको कहर बढि नै रहेको छ। देशभित्र लकडाउन लगाउने देखि विशेषगरी नेपाल भारतसीमाबाट नेपाल प्रवेश गर्न खोज्नेको संख्या पनि त्यतिकै छ। खुलासीमाका कारण यसलाई रोक्न कठिन छ। रोक्ने हो भने सुरक्षाकर्मीको संख्या धेरै चाहिन्छ। र रोक्नु बाध्यता पनि छ।

यसैबीच सशस्त्र प्रहरीले आफ्ना सबै विभागीय खेलाडीहरुलाई ड्युटीमा बोलाएको छ। खेलाडीहरुलाई बाहिर परिचालन नगरे पनि स्ट्यान्डबाइ राखेको छ। त्यसले साम्बा पनि राष्ट्रसेवामा होमिएकी छिन्।

भण्डारीको हप्तामा केही दिन ड्युटी हुनछ, पालो अनुसार। त्यसबाहेकका दिन उनी आफ्नो नियमित खेलका लागि आफैँ अभ्यास गरिरहेकी हुन्छिन्। ड्युटीमा स्ट्यान्डबाइ खटिए पनि बाहिर फिल्डमा भने ड्युटीमा भने नखटिएको साम्बाले बताइन्।

उनको बेलुकी सिफ्टमा ड्युटी पर्ने भएकाले वर्कआउट गर्नलाई समस्या भएको छैन।

'हामी अहिले सेल्फ ट्रेनिङमा छौं। तर फुटबल टिम गेम भएकाले सेल्फ ट्रेनिङले धेरै अर्थ राख्दैन। टिम गेम भएकाले अरु साथीहरु बिना तालिम गर्दा पछि गारो त पक्कै हुन्छ,' लकडाउन यताको आफ्नो दैनिकी र तालिमबारे कुरा गर्दै उनले भनिन्, 'टिमका लागि सोच्ने हो भने पछि नाजुकनै हुन्छ। तर सबैखेलाडीहरुले घरमा इन्डिभिज्वल ट्रेनिङ गर्ने हो भने टिम अभ्यासमा फर्किएपछी छिटै राम्रो हुन सक्छ।'

टिममा तालिम गरेजस्तो एक्लै तालिम गर्दा टिम गेमको स्तर खस्कन सक्ने चिन्ता देखिन्छ उनमा। तर, फुटबल मुभमेन्ट खेल भएको र एकअर्काको मुभमेन्टबारे आफुहरु जानकार रहेकाले टिम गेममा केही हप्ताको अभ्यासपछि फर्ममा आउनसकिन्छ भन्ने विश्वास साम्बालाई छ।

'फुटबल भनेको मुभमेन्टमा बुझ्ने कुरा हो। हामी टिममा धेरै खेलिसकेकाले आफ्ना मुभमेन्टहरुलाई बुझिसकेका छौं धेरै। त्यसैले टिम भेला भएपछी पनि त्यसलाई निरन्तरता दिन हप्ता दश दिन लाग्ला।' उनले भनिन्।

फुटबलर बाहेक एक सुरक्षाकर्मी हुनुमा उनलाई गर्व छ। आफ्नो दायित्व निभाउन पछि नपर्ने भन्दै उनी खेलाडीबाहेक सुरक्षाकर्मीका रुपमा पनि दायित्व निभाउन तत्पर रहेको बताउँछिन्।

'विश्वभर महामरी फैलिरहेकोबेला फ्रन्ट लाइनमा खटेर देशको सुरक्षामा खटिँदा गर्व लागेको छ। खेलाडीको रुपमा नभइ आफ्नो दायित्वमा पनि कतिसम्म जाने रहेछन् भन्ने सकारात्मक सन्देश प्रवाह हुन्छ।' उनले भनिन्।

ड्युटीबीच उनले बढ्दो जोखिमबारे पनि चिन्ता व्यक्त गरिन्, 'कोरोनाको संख्या बढ्दै गइरहेको छ। त्यस्तोमा जोखिम पनि बढ्दै गइरहेको छ। यो ब्यक्तिलाई कोरोना छ या यो व्यक्तिलाई कोरोना छैन भने अनुहार हेरेर चिन्न सकिँदैन।'

उनको तात्पर्य सुरक्षाकर्मीको जोखिमलाई लिएर हो। हुन पनि सुरक्षाकर्मीले ड्युटीका क्रममा हरेकसँग समन्वय गर्नुपर्ने हुन्छ। जति धेरैसँग समन्वय हुन्छ त्यतिनै जोखिम पनि हुन्छ।

'त्यसैले कतिपय अवस्थामा जोखिम पनि लाग्छ र कतिपय अवस्थामा फुटबलबाहेक पनि ड्युटी गरिरहेकाले सकारात्मक सन्देश गएकोमा खुशी पनि लाग्छ।' उनले भनिन्।

कोरोनाको कहर सकिएसँगै खेलमा फर्कन खेलाडीहरुलाई केही समय त पक्कै लाग्छ। अझ सावित्राले भनेजस्तो फुटबल सामुहिक खेल भएकाले 'मुभमेन्ट' बुझ्नुपर्ने हुन्छ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कोरोनाको कहर साम्य भएसँगै फुटबल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु गर्ने बताउँदै आएका छन्। त्यसो भएको खण्डमा उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता लगत्तै संचालन हुनेछ। यसले लकडाउनमा टिम अभ्यास गर्न नपाएका खेलाडीहरुलाई आफ्नो 'प्याट्रन'मा फर्कन पक्कै मद्दत पुर्‍याउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell