काठमाडौं : मंगलवार भक्तपुरमा दुई जना कोरोना संक्रमित भेटिएपछि भक्तपुरको दुई स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
संक्रमित बस्ने घरलाई पूर्णरुपमा सिल गरेर कन्ट्याक ट्रेसिङ गरिरहेको छ। दुवाकोट र मध्यपुर थिमिका एक पुरुष र महिलामा कोरोना संक्रमण देखिएको छ।
'अहिले हामी घर सिल गरिरहेका छौं। उहाँहरुसँग सम्पर्कमा को को आउनु भएको खोज्दै छौं,' महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले भने।
संक्रमित बस्ने भक्तपुरको शंखधर चोकमा भने मानिसलाई हिँड्डुल गर्न रोक लगाइएको छ। भक्तपुरमा कोरोना संक्रमण देखिएका २७ वर्षीय पुरुष पूर्व गृहमन्त्री भीम रावलका सुरक्षागार्ड भएको खुलेको छ। त्यस्तै, एक महिला भने सरकारले जारी गरेको सवारी पास लिएर सुनसरीबाट भक्तपुर आएकी थिइन्। उनी अस्पतालमा कार्यरत कर्मचारी हुन्।
त्यस्तै, काठमाडौं उपत्यकाभित्र पनि लकडाउन थप कडा गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्। 'सडकमा गुडेका सवारीको विवरण लिइएको छ,' एसएसपी बज्रचार्यले भनिन्।