
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता तथा राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले कालापानीमा आवश्यक परे नेपालीले रगत बगाउने बताएका छन्।
भट्टराइले भारतलाई चेतावनी दिँदै नेपालीले कालापानीका लागि रगत चढाउन तयार भएको बताए। उनले कालापानीमा सेनाको ब्यारेक राख्नुपर्ने र सीमामा पर्खाल लाउनुपर्ने प्रस्ताव गरेका छन्। भारतको हेपाह प्रवृत्तिले अहिलेको अवस्था सिर्जना गरेको भट्टराइको तर्क छ।
'भारतको बल मिचाइ जारी छ। के नेपालीले आफ्नो जमिनका लागि रगत बगाउनु पर्ने हो? के नेपालीले फेरि खुकुरी नचाउनु पर्ने हो? प्रश्न जन्मिएको छ। वीर बलभद्रका सन्तान नेपाली फेरि रगत बगाउन तयार छन्। तर माटो बगाउन तयार छैनन्,' उनले भने।
भट्टराईले भारतसँगको सीमामा पर्खाल लगाउनुपर्ने र कालापानी क्षेत्रमा सेनाको ब्यारेक राख्नुपर्ने बताए।
'कुटनीतिक राजनीतिक पहल जारी राख्नुपर्छ,लिपुलेक कालापानी क्षेत्रमा सेनाको ब्यारेक राख्नुपर्छ। दार्चुला सदरमुकामदेखि लिम्पियाधुरासम्म सडक बनाउनुपर्छ, सीमामा पर्खाल लगाउनुपर्छ र सीमामा रहेका ग्रामिण सडकलाई ब्यवस्थित गर्नुपर्छ,' उनले भने।
संसदको विशेष समयमा बोलेका उनले सरकारले कोरोना रोकथामका लागि उल्लेख्य काम गरेको भन्दै प्रशंसा गरेका थिए।