
सन् २०२० मा बलिउड फिल्म निर्माण कम्पनी यशराज फिल्म्सको ५० औं वर्ष पूरा हुन्छ। त्यसै खुशीमा कम्पनीले भव्य कार्यक्रमको योजना बनाएको थियो। तर लकडाउनका कारण वार्षिक उत्सव समारोह नहुने भएको छ।
कार्यक्रममा हालसम्म यशराज ब्यानरबाट बनेका स्टार कलाकार अभिनित फिल्महरु एउटै 'स्लाइड'मा देखाउने बताइएको थियो। 'प्रोजेक्ट ५०' नाम दिएर शाहरुख खान, सलमान खान, रणवीर सिंह, दीपिका पाडुकोण, कट्रिना कैफ, ऋतिक रोशन लगायतको ५० फरक फिल्महरु एकै साथ फिचर हुँदै थियो। त्यस्तै आमिर खानले यश चोपडासँग काम गर्दाको अनुभवहरु बारे बोल्दै थिए।
बलिउड हंगामाले जनाए अनुसार कार्यक्रममा नयाँ फिल्महरु समेत घोषणा गर्ने तयारी भएको थियो। कार्यक्रमकै लागि स्टुडियोमा चर्चित कलाकारहरुले सन्देश रेकर्ड गराउँदै थिए। सम्पूर्ण तयारीसँगै कार्यक्रम पनि स्थगित भएको छ।
स्रोतलाई उल्लेख गर्दै लेखिएको छ – कार्यक्रम यसै वर्षको जुन वा जुलाइमा आयोजना गर्ने तयारी छ। तर तत्काल केही घोषणा गरिहाल्ने अवस्था भने छैन।