PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

काठमाडौंमा संक्रमण देखिएकी महिला सशस्त्रको पूर्व जवान, परिवारका सदस्यको स्वाब संकलन, यस्तो छ ‘ट्राभल हिस्ट्री’



कमलराज भट्ट

काठमाडौंमा संक्रमण देखिएकी महिला सशस्त्रको पूर्व जवान, परिवारका सदस्यको स्वाब संकलन, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौं : काठमाडौंमा कोरोना भाइरसको संक्रमण देखिएकी कञ्चनपुर वेदकोट घर भएकी ३३ वर्षीया महिला सशस्त्र प्रहरी बलको आवकाशप्राप्त जवान भएको खुलेको छ।

वेदकोट नगरपालिकाका मेयर अशोक चन्दका अनुसार परिवारका सदस्य र सुरक्षा निकायसँग सोधपुछका क्रममा उनी सशस्त्र प्रहरीमा केही समय जागिर खाएर छोडेको खुलेको छ। साथै उनको परिवारका ५ जनाको सेती प्रादेशिक अस्पताल धनगढीबाट आएको टोलीले स्वाब संकलन गरेको छ। उनीहरुलाई घरमै क्वारेन्टाइनमा राखिएको छ।

उनका श्रीमान पनि चन्द्रागरिस्थित सशस्त्र प्रहरी अस्पताल बलम्बुमा कार्यरत सशस्त्र प्रहरी हुन्। उनीहरुको चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा आफ्नो घर छ।

ती महिला चैत ६ गते कान्छो देवरको व्रतबन्ध गर्न देवरसहित कञ्चनपुरको वेदकोट नगरपालिका १० हरपाल गाउँस्थित घर आएकी थिइन्। डडेलधुरा भागेश्वर गाउँपालिका लामकाडामा ब्रतबन्ध गर्ने उनीहरुको तयारी थियो। तर, लकडाउन कारण वेदकोटमै रोकिए। ती महिला दुई महिना कञ्चनपुरमै बस्नुपर्‍यो।

वैशाखको अन्तिम साता सशस्त्रको गाडी मेडिकल टिम र सामग्रीसहित धनगढी आयो। त्यहीँ गाडीमा उनले काठमाडौं फर्किने प्रबन्ध मिलाइन्।

चैत २८ गते टेम्पुमा १४ बर्षको छोरी, ९ बर्षको छोरासहित बेलुका अत्तरिया पुगिन्। सशस्त्रको गाडी चढिन्। गाडीमा पहिल्यै ५ जना थिए। उनीहरु चढेपछि ८ पुग्यो।

गाडी राती १० बजेतिर कोहलपुर पुग्यो। त्यहाँ खाजा खानासहित बास बस्यो। २९ गते विहान सबेरै गाडी काठमाडौंका लागि छुट्यो। बाहिर जिल्लाबाट आउनेहरु रुटिन जाँच अन्तर्गत काठमाडौंमा शसस्त्र क्याम्पमा उनीहरु सबैको स्वाब परीक्षण गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइयो। ७ जनाको रिपोर्ट नेगेटिभ आयो भने ती महिलाको पोजेटिभ देखियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell