PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कोरोना प्रकोपबाट नेपाललाई पशुपतिनाथले बचाएको छ : सांसद यादव



पहिलोपोस्ट

कोरोना प्रकोपबाट नेपाललाई पशुपतिनाथले बचाएको छ : सांसद यादव

काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीतादेवी यादवले कोरोना भाइरस संक्रमणको परीक्षण पर्याप्त रुपमा हुन नसकेको भन्दै यो प्रकोपबाट पशुपतिनाथले नै बचाएको बताएकी छिन्।

आजको प्रतिनिधिसभा बैठकमा सांसद यादवले कोरोना महामारी कहिलेसम्म हुन्छ भन्ने अनिश्चित भएकाले लकडाउनलाई व्यवस्थित बनाउन पनि आग्रह गरिन्। उनले भनिन्, 'यो कोरोना प्रकोपलाई पशुपतिनाथले नै बचाइरहेको छ।'

काँग्रेसकी कोषाध्यक्षसमेत रहेकी यादवले घुम्ती सेवाबाट गाउँगाउँमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बताइन्। उनले भनिन्, 'घुम्ती सेवाबाट गाउँ गाउँमा परीक्षण गराउनुपर्छ। कोरोना भाइरस संक्रमणको गति द्रूत रुपमा बढिरहेको छ। गाउँ गाउँबाट आएका मानिसहरुको कोरोना परीक्षण अविलम्ब गर्नुपर्दछ।’

कोरोना नियन्त्रणका लागि पिसिआर प्रविधिबाट परीक्षणको दायरा बढाउनुपर्ने उनको भनाइ थियो। उपचार सामाग्री खरिद प्रकरणमा भ्रष्टाचार हुनु दु:खद भएको भन्दै दोषीमाथि कार्बाहीको माग गरिन्।

कोरोनाका कारण विदेशमा अलपत्र रहेका नेपालीलाई स्वदेश फिर्ता गराउन व्यवस्था गर्नुपर्ने उनले बताइन्। सरकारले कोरोना उपचारका लागि पुरक बजेट ल्याउनुपर्नेमा उनको जोड थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell