
ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या बढेको छ। मंगलबार त्यहाँको दैनिक मृत्युदर हालसम्मकै उच्च देखिएको हो।
एकदिनमै ८ सय ८१ जनाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। हालसम्म त्यहाँ संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय पुगेको छ।
मृत्युदरको हिसाबमा ब्राजिल छैटौं प्रभावित देश हो।
ब्राजिलमा परीक्षण अभावका कारण संक्रमित र संक्रमणकै कारण मर्नेहरु संख्या दर्ता गरिएभन्दा ज्यादा हुनसक्ने विज्ञहरुको अनुमान छ।
'ब्राजिलमा अस्पताल पुग्नेहरुको मात्र परीक्षण भइरहेको छ। त्यसैले उपलब्ध तथ्याङ्कका आधारमा संख्या यकिन गर्न सकिन्न', युनिभर्सिटी अफ साव पाउलो मेडिकल स्कूलका डोमिङ्गो एल्भस्ले एएफपी न्यूजसँग भने। उनी संक्रमितको तथ्याङ्क संकलनमा सक्रिय छन्।
ब्राजिलमा हालसम्म १ लाख ७७ हजार ५ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ। मंगलवार मात्रै ९ हजार संक्रमित थपिए।