PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लिपुलेकबारे प्रधानमन्त्रीले उदेकलाग्दो र जग हँसाउने कुरा गरे : शेखर कोइराला



अनन्तराज न्यौपाने

लिपुलेकबारे प्रधानमन्त्रीले उदेकलाग्दो र जग हँसाउने कुरा गरे : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भारतले लिपुलेकमा सडक बनाएको आफूलाई थाहा नभएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले उदेकलाग्दो र जग हँसाउने कुरा गरेको भन्ने प्रतिक्रिया दिएका छन्।

बुधवार दिउँसो कोइराला निवासमा सञ्चारकर्मीसित कुरा गर्दै डा कोइरालाले प्रधानमन्त्री ओलीले जग हँसाउने गरी बोलेको प्रतिक्रिया दिएका हुन्।

‘एकातिर उहाँकै परराष्ट्र मन्त्रीले संसदमा उभिएर भारतले लिपुलेकमा सडक बनाएको जानकारी गराउनु भएको छ’, कोइरालाले भने, ‘अर्कातिर प्रधानमन्त्री ओली आफूलाई थाहा छैन भन्नुहुन्छ। अन्तर्राष्ट्रिय समुदायले हाम्रा प्रधानमन्त्रीको अभिव्यक्तिबारे के सोच्छ होला?’

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या नेपालले राजनीतिक स्तरमा कूटनीतिक पहल गरेर वार्ताका माध्यमबाट मात्र सुल्झाउन सक्छ भन्ने सुझाव दिँदै तर सरकार यस पक्षमा नदेखिएको टिप्पणी गरे।

‘सुगौली सन्धि गरिँदा काली नदीबाट पूर्वतर्फ नेपाल र पश्चिममा भारत भनिएको थियो’, उनले भने, काली नदीको मुहान लिम्पियाधुरा हो। लिम्पियाधुरा पश्चिम भारत र पूर्व नेपालको भूभाग हो। यस कुरामा कुनै शंका छैन।’

नेपालले यस समस्यामा भारत मात्र नभई छिमेकी चीनलाई पनि राखेर वार्ता गर्नुपर्ने उनको सुझाव छ।

कोइराला भन्छन्, ‘यस विषयमा भारतसँगसँगै चीन पनि सहभागी छ। भारतीय प्रधानमन्त्री र चीनका राष्ट्रपतिका बीचमा मानसरोबर जाने बाटो बनाउने भन्ने सम्झौता भएको थियो। यो सम्झौता भएको लगत्तै नेपालले प्रोटेस्ट नोट पठाएको छ। यस बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो।’

उनले थपे, ‘मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि २०११–१२ सालतिर भारत र चीन बीच यस्तै सम्झौता भएको छ। व्यापारिक र धार्मिक पर्यटनको मार्ग बनाउने सम्झौता भएको छ। भारत र चीन बीच २०१८ सालमा लडाइँ भयो। त्यस बेला भारतीय सेना कालापानीमा आएर बस्यो। उस बखत राजा महेन्द्रले के गरे थाहा भएन। यसको कुनै दस्तावेज छैन। तर, २०१८ सालदेखि कालापानीमा भारतीय सेना बसेको हो।’

नेता कोइरालाले महेन्द्रका पालाको २०१८ सालको दस्तावेज कतै नभएको उल्लेख गर्दै ब्रिटिश लाइब्रेरीबाट खोजेर भए पनि उक्त दस्ताबेज ल्याउनुपर्ने माग गरे।

उनले संघीय संसदमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले अलगअलग संकल्प प्रस्ताव पेश गर्नु उचित नभएको धारणा प्रकट गरे।

‘यो राष्ट्रिय महत्वको साझा सवाल हो’, उनको आग्रह थियो, ‘त्यसैले संकल्प प्रस्ताव पनि साझा आउनु पर्छ। एउटै संकल्प प्रस्ताव हुनुपर्छ।’

उनले कोरोना भाइरसको रोकथामका लागि सरकार चुकेको आरोप लगाए।

‘लकडाउन सँगसँगै सरकारले द्रुत गतिमा पीसीआर परीक्षण गर्नुपर्थ्यो तर सरकार आरडीटीतिर केन्द्रित भयो’, कोइरालाको भनाइ छ, ‘जबकी आरडीटीको कुनै उपयोगिता नै छैन। लकडाउनसँगै कम्तीमा ३०–४० हजार पीसीआर परीक्षण गर्नुपर्थ्यो। त्यस्तै कन्ट्याक्ट ट्रेसिङमा पनि सरकार चुकेको छ।’

उनले सरकारले भारतसँगको सीमा सिल गरे पनि नेपालीहरू चोर बाटो प्रयोग गरेर भित्रिएको चर्चा गर्दै त्यस्ता नेपालीलाई सरकारले क्वारेन्टाइनमा राख्न नसकेको भन्दै असन्तुष्टि जनाए।

कोइरालाले भारतमा भएका नेपाली भारतमै बस्नुपर्ने र तिनको आधारभूत आवश्यकताको पूर्तिका लागि नेपाल सरकारले यसका लागि भारत सरकारसित पहल गर्नुपर्ने सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell