
महेन्द्रनगर : सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी सीमा निरीक्षणमा निस्किएका छन्।
काठमाडौं प्रहरी प्रमुख एसएसपीबाट डीआईजीमा बढुवा भई वैशाख दोस्रो साता सुदूरपश्चिमको कमाण्ड सम्हाल्न आएका डीआईजी सुवेदीले सीमाबाट संक्रमण भित्रिन नदिन कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लाका नाकासमेत निरीक्षण तथा जानकारी लिएका हुन्।
नेपालमा देखिएका पछिल्ला संक्रमित अधिकांश भारतबाट आएकाहरु छन्। उनीहरु सीमा नाकाबाट लुकिछिपी आएको पाइएको छ। यस्तो बेला सुदूरपश्चिम प्रहरीले सक्रियता बढाएको हो।
सुदूरपश्चिमको कैलाली भारतको उत्तर प्रदेश राज्यसँग सीमा जोडिएको जिल्ला हो। त्यसैगरी कञ्चनपुरदेखि डडेल्धुरा, बैतडी र दार्चुलासम्म उत्तराखण्ड प्रदेशसँग सीमा जोडिएका छन्। अझ कञ्चनपुरको महाकाली पारी दोधारा चाँदनीमा त सीमाना नै छैन। अन्य ठाउँमा महाकाली नदी सीमा भए पनि पौडी खेलेर तथा ट्युब तरेर जोखिमपूर्णरुपमा नेपालीहरु भारतबाट आइरहेका छन्। साथमा कोरोना भित्र्याउने जोखिम पनि उत्तिकै छ।
भारतमा रहेका नेपालीबाट लुकिछिपी सीमा हुँदै संक्रमण भित्रिने खतरा बढेपछि प्रदेश प्रहरी प्रमुख आफैं सीमा निरीक्षणमा निस्किएका हुन्। उनले सीमामा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउने तथा लुकिछिपी हुनसक्ने प्रवेशलाई नियन्त्रणमा कसरी लिने भन्नेबारे परामर्श गरेका छन्।
‘कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सीमामा सशस्त्र पनि थपिएको छ। सीमामा खटिएका टोलीहरुलाई ब्रिफिङ गर्दै, ती ठाउँहरु हेर्दै र ग्याप भएको ठाउँमा जनशक्ति थप गर्नेगरी नाकाहरु हेरे,’ डिआईजी सुवेदीले भने, ‘सीमा नाका सुरक्षाकर्मीको नियन्त्रणमा नहुँदा देशका धेरै ठाउँबाट लुकिछिपी आउनेमा संक्रमण देखिएको छ। हामी सतर्क छौं।’
कोभिड १९ विरुद्धको तयारीमा सुदूरपश्चिम कमजोर होइन राम्रो रहेको सुवेदीले निष्कर्ष सुनाए। ‘सबै पक्ष मोटिभेटेड छन्। प्रदेश सरकार, स्थानीय सरकार जनप्रतिनिधि, सुरक्षाकर्मीहरु उच्च मनोबलका साथ कोरोनाविरुद्ध खटिएका छन्। सर्वसाधारणले सहयोग गरेका छन्,’ उनले भने।
डीआइजी सुवेदीले आफू सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला पनि गइसकेको जानकारी दिए। ‘कमाण्ड गर्नका लागि संगठन, भुगोल र नागरिकलाई बुझ्नुपर्छ। कुन फोर्स कुन ठाउँमा छ? बाटो कस्तो छ? आफ्ना स्टाफ कस्ता छन्? कसरी परिचालन गर्न सकिन्छ? मोटिभेसन के छ? भनेर हेरे,’ उनले भने, ‘सबै जिल्लामा गएर जानकारी लिँदा सबै जना मोटिभेटेड पाएँ।’
कोभिड १९ संक्रमण सकिएपछि दोस्रो चरणमा जनतामा जाने उनले सुनाए। ‘समय लगाएर, जिल्लामा दुई/तीन दिन बसेर गाउँ गाउँ गएर नागरिकलाई सचेत गराउँछौं। पिपुललाई कन्भिन्स गरायो भने ठूलो समस्या समाधान हुन्छ,’ उनले भने।