काठमाडौँ : बुधबार रुपन्देहीमा कोरोना पुष्टि भएका १२ जनामध्ये १० जना जिल्लाको गैँडहवा गाउँपालिका २ का स्थानीय रहेको खुलेको छ। जसमा एकै परिवारका ८ जना छन्। गाउँपालिका अध्यक्ष बछु केवट (बच्चुलाल) का अनुसार संक्रमित सबै भारतको मुम्बईबाट सात दिनअघिमात्र नेपाल प्रवेश गरेका थिए। सबैलाई गाउँपालिका २ स्थित जोगडा माविमा क्वारेन्टाइनमा राखिएको थियो।
क्वारेन्टाइनमा रहेका ४० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएकामध्ये १० जनाको पोजेटिभ आएको अध्यक्ष केवटले जानकारी दिए। बाँकी ३० जनाको नतिजा नेगेटिभ आएको उनले बताए।
अहिले गाउँपालिकाले पोजेटिभ देखिएकाहरुलाई भीम अस्पतालमा रहेको आइसोलेसनमा पठाउने तयारी गरिरहेको उनले जानकारी दिए।
संक्रमित देखिएका अन्य दुई जना भैरहवास्थित भीम अस्पतालबाट नमूना संकलन गरिएका व्यक्ति हुन्।
बुधबार १२ जना पुष्टि भएपछि रुपन्देहीमा कोरोना संक्रमित २८ जना पुगेका छन्। यसअघि १६ जनामा संक्रमण पुष्टि भएको थियो। रुपन्देहीमा अहिलेसम्म लुम्बिनी सांस्कृतिक नगरपालिकाका ९, सम्मरीमाई गाउँपालिकाका ६ र कोटहीमाई गाउँपालिकामा एक र गैँडहवा गाउँपालिकामा १० र अन्य दुई जनाको स्थान पत्ता लागेको छैन।
बुधबार नवलपरासीमा समेत एक जनामा संक्रमण देखिएको छ। संक्रमित प्रतापपुर गाउँपालिकाको रहेको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए।
उनी वैशाख २८ गते बिहान ४ बजे नेपाल खुला सीमाका कारण खेतको बाटो भई नेपाल प्रवेश गरेका थिए।
‘कामको सिलसिलामा भारतको नयाँ दिल्लीमा थिए। खुला सीमाका कारण खेतको बाटोबाट २८ गते बिहान ४ बजे नेपाल पसेका रहेछन्’, उनले भने, ‘घर जाँदै गर्दा स्थानीयले देखेर उनलाई घर प्रवेश गर्न दिएनन्। घर नजिकैको प्रतीक्षालयमा उनलाई राखेका थिए। हामीले ल्याएर क्वारेन्टाइनमा राखेका थियौँ।’
संक्रमितलाई अहिले परासीस्थित त्रिभुवनचन्द्र अस्पतालको आइसोलेसनमा पठाउने तयारी भइरहेको अध्यक्ष शर्माले जानकारी दिए। उनलाई त्रिभुवन क्याम्पस बेलाटारीको क्वारेन्टाइनमा राखिएको थियो।
त्यहाँ रहेका ३० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा बाँकी २९ जनाको नेगेटिभ आएको अध्यक्ष शर्माले जानकारी दिए।
नेगेटिभ आएकाहरुलाई एक/दुई दिनमा घर पठाउने तयारी भएको उनले बताए।
खुला सीमाका कारण दैनिक नेपाल आउनेहरुको संख्या बढिरहेको भन्दै गाउँपालिकाले दैनिक लट बनाएर छुट्टाछुट्टै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको अध्यक्ष शर्माले जानकारी दिए।
गाउँपालिकामा बुधबार पनि ८ जना भारतबाट नेपाल प्रवेश गरेका छन्। त्यस्तै दुई दिन अगाडि सीमा क्षेत्र दशगजामा अलपत्र परेका नेपालीलाई ल्याएर जनजागृति माविको क्वारेन्टाइनमा राखिएको छ। हाल त्यहाँ २८ जना भारतबाट आएका व्यक्ति रहेका छन्।
‘उहाँहरु हालै आउनुभएको हो। केहीमा संक्रमण हुनसक्ने आशंका छ। हामीले एक दुई दिनमा परीक्षणका लागि स्वाब संकलन गरेर पठाउँछौँ,‘ शर्माले भने।
बुधबार दिउँसो कपिलवस्तु र बाँकेमा एक/एक जनामा कोरोना संक्रमण देखिएको थियो।
योसँगै प्रदेश ५ मा संक्रमितको संख्या ९३ पुगेको छ। जसमध्ये कपिलवस्तुमा ३८, रुपन्देहीमा २८, बाँकेमा २५, नवलपरासी पश्चिममा एक र बर्दियामा १ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीका सबै संक्रमित भारतबाट आएका हुन। कपिलवस्तुका पनि अधिकांश भारतबाट आएका नै हुन्।
+++
यसैबीच सीमा क्षेत्र रुपन्देहीको सीमावर्ती भारतीय बजार सुनौली र नौतुनहवामा रहेका नेपालीहरुलाई नेपाल ल्याउन थालिएको छ। बुधबार पहिलो चरणमा सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले ५१० जनालाई नेपाल ल्याएका छन्। उनीहरुलाई लिन प्रमुख जिल्ला अधिकारी महादेव पन्तसहित तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका प्रमुख/उपप्रमुख बस लिएर बेलहिया पुगेका थिए।
उनीहरुलाई भैरहवा र शंकरनगरमा क्वारेन्टाइनमा राखिएको छ।
यस्तै कञ्चन गाउँपालिकाले बिहीबार सुनौलीबाट ५० स्थानीयलाई नेपाल ल्याउने तयारी गरिरहेको अध्यक्ष गोकर्ण क्षेत्रीले जानकारी दिए। गाउँपालिकाले हरेक वार्डमा भारतबाट ल्याइएकालाई राख्न क्वारेन्टाइन बनाएको छ।
सुनौली र नौतुनहवामा रहेका एक हजार ६०० नेपाली नेपाल ल्याउने तयारी रुपन्देहीले गरेको छ। उनीहरु रुपन्देहीसहित पाल्पा, अर्घाखाँची, गुल्मी र स्याङ्जाका भएको प्रजिअ पन्तले बताए।
सबैलाई रुपन्देहीमा क्वारेन्टाइनमा राख्ने र परीक्षणपछि पछि घर जान दिने तयारी छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सबै स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन दिइसकेको छ।