PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

एसईईबारे मनोमानी धारणाले अन्योलमा विद्यार्थी : प्याव्सन एकातिर एनप्याव्सन अर्कातिर, परीक्षा बोर्ड भन्छ 'कानुन अनुसार हुन्छ'



फूलमाया पुरी

एसईईबारे मनोमानी धारणाले अन्योलमा विद्यार्थी : प्याव्सन एकातिर एनप्याव्सन अर्कातिर, परीक्षा बोर्ड भन्छ 'कानुन अनुसार हुन्छ'
फाइल फोटो : रासस

काठमाडौं : कोरोना संक्रमण न्यूनीकरणका लागि जारी लकडाउनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मकै परीक्षा स्थगित छन्। विद्यार्थी परीक्षाको प्रतीक्षामा छन्। संक्रमितको संख्या बढिरहँदा लकडाउन कहिले अन्त्य हुने निश्चित छैन।

परीक्षाको मुखैमा एसईई स्थगित भयो। विश्वविद्यालय तहका कतिपय परीक्षा बीचमै रोकिए।

रोकिएका परीक्षा कहिले हुन्छन्? अहिले सबैको प्रश्न छ।

विद्यार्थीका प्रश्नसँगै एसईईबारे प्रश्न गर्नेहरु पनि थपिएका छन्। कोही परीक्षाको सट्टा आन्तरिक मूल्याङ्कनमा जोड दिइरहेका छन्। आधिकारिक निकाय परीक्षा बोर्ड अहिले पनि परीक्षाकै पक्षमा छ। तर अन्य मनोमानी बहसले विद्यार्थीमा अन्योल थपेको छ।

यतिबेला ४ लाख ८२ हजार ७०७ विद्यार्थी एसईईको तयारीमा छन्।

कसको धारणा के?

वैशाख २२ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विज्ञप्ति जारी गर्दै आन्तरिक मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिन उचित हुने जनायो। उक्त कार्यका लागि बाधा अड्चन भए सुधारेर आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणीकरण गर्न आवश्यक निर्णयका लागि पनि अनुरोध गर्‍यो।

वैशाख १६ गते गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शिक्षा ऐन आठौँ संशोधनले शिक्षामा नयाँ प्रणाली लागू भएको जनाउँदै एसईईको विकल्प खोज्न अपिल गर्‍यो। आधारभूत र विद्यालय तह गरि दुई भागमा विद्यालयस्तरलाई वर्गीकरण गरेको अवस्थामा नयाँ प्रणालीमा जानुपर्ने प्रतिष्ठानको निष्कर्ष छ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी शैक्षिक क्यालेन्डर बिग्रन नदिन आन्तरिक मूल्याङ्कनका आधारमा स्तरोन्नति गर्न सुझाउँछन्।

‘हामीले त सुझाव दिने हो। अन्तिम निर्णय र कार्यान्वनयन गर्ने सरकारले हो। त्यसैले हामीले सुझाव दियौँ। सरकारले मानेन’, पुरीले भने।

पुरी लकडाउन बढिरहँदा विद्यार्थी अन्योलमा परेको बताउँछन्। प्याव्सनले शिक्षामन्त्रीलाई राय पेस गरिसकेको छ।

गणेशमान सिंह प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशी नयाँ प्रणालीमा जानुपर्ने बताउँछन्। जोशी भन्छन्, 'यस वर्ष त प्रक्रिया निकै अघि बढिसकेको र अन्तिम समयमा आएर परीक्षा रोकिएको हो। त्यसैले परीक्षा त हुनुपर्छ। जसलाई स्कुलमै व्यवस्थापन गर्न सकिन्छ । तर, अब परीक्षा केन्द्रित भन्दा पनि विद्यार्थीको सिकाइप्रति ध्यान दिन र सिकाएका कुराको मूल्याङ्कन गरिनु आवश्यक छ।'

एनप्याब्सनको फरक धारणा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) का अध्यक्ष रितुराज सापकोटा फरक मत राख्छन्। प्याब्सन र एनप्याब्सन एउटै कम्युनिटीको भए पनि प्याब्सनले मात्र त्यसरी विज्ञप्ति जारी गरेको सापकोटाको बताउँछन्।

‘हामीले त्यसलाई काउन्टर दिने किसिमले अर्को प्रेस विज्ञप्ति निकाल्न त्यति उपयुक्त ठानेनौँ,’ उनले भने, ‘हाम्रा कुरा परीक्षा बोर्डमा राखिसकेका छौं। यसरी पब्लिक बनाउँदा परीक्षा हुन्छ भन्ने मनस्थितिमा बसेकालाई मानसिक असर पर्नसक्छ,’ उनले तर्क गरे।

हालको परिस्थितमा ठूलो परिवर्तन नआएको अवस्थामा परीक्षा हुनुपर्ने सापकोटाको भनाई छ।

हतारमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्न आवश्यक नभएको र कक्षा ११ को पढाइ सुरुअघि पनि परीक्षा गर्न सकिने सापकोटा बताउँछन्। निरन्तर मूल्याङ्कन गर्ने परिपाटी नभएकाले आन्तरिक मूल्याङ्कन उपयुक्त नहुने सापकोटाको बुझाई छ।

राष्ट्रिय परीक्षा बोर्डको सुझाव यस्तो

परीक्षा बोर्ड भने आफूखुसी वक्तव्यवाजी नगर्न शैक्षिक संस्थालाई चेतावनी दिइरहेको छ। बोर्ड उक्त कदमलाई राजनीति गर्न खोजेको बताउँछ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल सबै क्षेत्रमा अन्योलता रहेको अवस्थामा विद्यार्थीलाई थप असहज नबनाउन आग्रह गर्छन्। ‘जीवनभन्दा परीक्षा अगाडि’ नभएको भन्दै स्थिति सामान्य भएपछि परीक्षा हुने पौडेल बताउँछन्।

शिक्षा ऐनले परीक्षाको विकल्प नदिएकाले कानुनभन्दा बाहिर बोर्ड नजाने उनको भनाई छ।

‘कानुनले के भन्छ भन्ने कुरा मुख्य हुन्छ। हामीले परीक्षा स्थगित भएको सूचना निकालेका हौँ' उनले भने।

अर्को सूचना नहुन्जेलसम्म अन्य विज्ञप्तिलाई लिएर विद्यार्थी अन्योलमा नरहन र परीक्षाको तयारीमा बस्न उनको सुझाव छ।

‘यसअघि हामीले अन्तिम समयमा निर्णय गर्नुपर्ने अवस्था आएको थियो। अब त्यस्तो हुनेछैन। चाहेर कसैलाई दुख दिन खोजिएको होइन। परिस्थितिले यस्तो बनाएको हो।’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell