
काठमाडौं : आजबाट लकडाउनलाई थप कडा गर्न नयाँ नियम लागू भएको छ। मंगलवार गृह मन्त्रालयले गरेको निर्णय अनुसार आजदेखि पुरानो पास लिएर एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ। लकडाउनको समयमा विभिन्न जिल्लाले एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि जारी गरेको पास तथा ई-पास समेत खारेज गरेको हो।
अत्यावश्यक रुपमा काठमाडौं उपत्यकाबाट अर्को जिल्ला जानुपर्ने भए सम्बन्धित जिल्लाले पुग्नु पर्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर जारी गर्न पाउने छ। त्यस्तै बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र आउनु पर्ने भए गृह मन्त्रालयसँग समन्वय गरेर पास जारी गर्न सकिने छ।
काठमाडौं उपत्यकाभित्र भने एउटै जिल्लाबाट जारी भएको पासले तीन जिल्लामा जान पाइने छ। त्यस्तै अहिले सरकारले ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामग्री बोकेका सवारीलाई रोक लगाइएको छ। मालवाहक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रवेश पाउने छन्।
त्यस्तै, सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।