नयाँ दिल्ली : भारत बुधवारबाट कोरोना संक्रमितको मुलुकको १२ औं सूचीमा उक्लिएको छ। भारतमा संक्रमितको संख्या ७५ हजारभन्दा माथि पुगेको छ। संक्रमितमध्ये एक तिहाई महाराष्ट्रको खातामा छ।
बुधवार भारतमा ३ हजार ७ सय ८३ नयाँ संक्रमितहरु थपिए। गएको आइतवार ४ हजार ३ सय ८ जनामा संक्रमण देखिएपछिको यो धेरै संख्या हो। महाराष्ट्रमा मात्रै १ हजार ४ सय ९५ जनामा संक्रमण देखियो एकै दिन। तामिल नाडूमा ५ सय ९ र गुजरातमा ३ सय ६४ नयाँ संक्रमित थपिँदा दिल्लीमा ३ सय ५९ र राजस्थानमा २ सय २ नयाँ संक्रमित थपिए।
बुधवारमात्रै १ सय ४० जनाको मृत्यु भयो जुन दोस्रो उच्च संख्या हो। दिल्लीमा मात्रै मर्नेको संख्या सय पार भएको छ, बुधवार यहाँ २० जनाले ज्यान गुमाए। महाराष्ट्रमा यस दिन ५४ जनाको ज्यान गयो।
भारतमा बुधवारसम्म देखिएका संक्रमितको संख्या ७८ हजार १ सय ११ पुगेको छ। भारतमा कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा २५ हजार ९ सय २२ पोजेटिभ केस देखिएको छ। यहाँ मर्नेको संख्या हजार पुग्नै लागेको छ। पछिल्ला आठ दिनमा महाराष्ट्रमा दैनिक १ हजारभन्दा बढी संक्रमित थपिएका छन्। पछिल्ला आठ दिनमा १० हजार ३ सय ९७ जना संक्रमित देखिएका छन् भने ३ सय ५८ जनाको मृत्यु भएको छ।